धुलिखेल/विद्यालय स्तरका विद्यार्थीले नेपालमा पहिलो पटक भू–उपग्रह निर्माण शुरु गरेका छन् । काठमाडौ विश्वविद्यालय हाईस्कुलका ६, सामुदायिक विद्यालय धुलिखेलमा रहेको सञ्जीवनी नमुना मावि, बनेपाको चैतन्य र आजाद माविमा अध्ययन गर्ने एक एक जना कक्षा ११ का विद्यार्थी सम्मिलित समुहले भू–उपग्रह निर्माण गर्नेछ ।
‘पहिलो नेपाली भू–उपग्रह नेपाली अन्तरिक्षको सफलतापछि नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अन्तरिक्ष प्रतिस्ठान नेपाल र काठमाडौ युनिभर्सिटि हाइस्कुलको संयुक्त साझेदारीमा विद्यालयका विद्यार्थीबाटै दोश्रो भू–उपग्रह परियोजना आरम्भ गरिएको हो’–काठमाडौ युनिभर्सिटी हाईस्कुल धुलिखेलका प्रिन्सिपल तेजेन्द्र राजभण्डारीले भन्नुभयो–‘जहाँ विद्यार्थीहरुले मेशिनसँग खेल्न पाउँछन् त्यहाँ धेरै सिक्छन् । देशमै केहि गर्न सक्छौ भन्ने उद्देश्यले उक्त परियोजनामा सम्झौता गरेका हौ ।’ दुई वर्ष भित्र सम्पन्न हुने उक्त परियोजना थाईल्याण्डको आर्थिक विकासका लागि अन्तरिक्ष प्राविधिक संस्था मिनि बर्डसको एउटा भाग भएकाले थाईल्याण्डले ४ वटा र नेपालले एउटा भू–उपग्रहको निर्माण गर्नेछन् ।
काठमाडौ युनिभर्सिटी हाईस्कुलमा अध्ययन गर्ने श्रीया प्रधान श्रेष्ठ, समृद्धि शर्मा, सुशान्त ढकाल, रजिन रञ्जित, सिद्धार्थ कर्माचार्य र सुभेष गुरुङ्ग छन् भने चैतन्य मावीकी संगिता मैनाली, सञ्जीवनी नमुना माविबाट श्रेया तामाङ र आजाद माविका कान्छाराम स्याङ्गतान सहभागी छन् । विद्यार्थीहरुलाई प्रजन श्रेष्ठ, सिरस सैंजु, जर्नादन सिलवाल, देवराज पन्त, सागर कोईराला, विकल्प ढुंगानाले सहजिकरण र अनुगमन गरिरहनु भएको छ । हप्ताको १२ घण्टा दुई महिनाको तालिम सम्पन्न गरे पश्चात २ वर्षसम्म विद्यार्थीहरुले उक्त परियोजना सम्पन्न गर्नेछन् । ‘अध्ययन र सिकाई सँगसँगै भएकाले अवसर र मेहनत दुबै भएको छ’–विद्यार्थी सुभेष गुरुङ्गले भन्नुभयो । नेपाली विद्यार्थीहरुले पनि चाहेको अवस्थामा जस्तोसुकै काम पनि गर्न सक्छन भन्ने देखाएको विद्यार्थी सिद्धार्थ कर्माचार्यले बताउनु भयो ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रो.डा भोला थापाले परियोजनाको शुभारम्भ गर्दै विश्वविद्यालयले समुदायमा शिक्षालाई लैजाने विभिन्न परियोजनाको यो उच्चतम् अभ्यास भएको बताउनु भयो । ‘विगतमा फित्ता लिएर जमिन नाप्ने प्रविधिबाट काठमाडौ विश्वविद्यालयले आकाश र जमिन नाप्न सक्ने शिक्षा उत्पादन गरेको छ’–उपकुलपति प्रो.डा थापाले भन्नुभयो–‘विद्यार्थीले चाहेको कुरा सिक्न पाउनु पर्छ भन्ने उदाहरण काठमाडौ युनिभर्सिटि हाईस्कुलले देखाएको छ ।’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं विश्वविद्यालयका डिन प्रो.डा. राजेन्द्र कोँजुले शिक्षामा भएको ब्यवहारीक प्रयोग र विद्यार्थीहरुले सिक्ने पाउने अवसरसँगै क्षमताको विकासमा परियोजना महत्वपूर्ण रहेको बताउनु भयो ।
प्रमुख अनुसन्धानकर्ता डा. आभाष मास्केले अन्तरिक्ष भू–उपग्रह निर्माण गर्ने प्रयोगशाला काठमाडौ युनिभर्सिटी हाईस्कुल चौकोटमा रहने बताउनु भयो । यो भू–उपग्रहको निर्माण पश्चात पहिलो भू–उपग्रह नेपाली अन्तरिक्ष १ प्रक्षेपण गरेजस्तै ४ सय किमि पृथ्वीको कक्षमा परिक्रमा गराईनेछ । यो प्रयोगशालाले बनेपा उपत्यकाका लागि विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आउटरिच केन्द्रमा रुपमा काम गर्नेछ । परियोजनामा डाँफे अन्तरिक्ष लक्ष्य अन्र्तगत प्रशिक्षित विद्यार्थीहरुको समुहले आवश्यक तालिम र प्रशिक्षण प्रदान गर्नेछ । नेपाली बैज्ञानिक डा. आभाष मास्के परियोजनाका प्रमुख हुनुहुन्छ । मास्के यस अघि भू–उपग्रह निर्माण गर्न सक्छन भन्ने पुस्टी गराईसक्नु भएको छ ।
नेपालका सरकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले समेत भू–उपग्रह निर्माण गर्न सक्छन भन्ने देखाउनु परियोजनाको मुख्य उद्देश्य रहेको बैज्ञानिक डा. आभाष मास्केले बताउनु भयो । परियोजनाको लक्ष्य पूरा गर्न कुप्समा पहिलो चरणको बुट क्याम्प शुरु भएको छ भने परियोजनाको मुख्य सहयोगीका रुपमा नेपाल सरकार रहने छ भने आर्थिक सहयोग निजी संस्थाहरुबाट संकलन गरिनेछ । परियोजनालाई मुख्य सहयोग अन्तरिक्ष प्रतिष्ठान नेपालले गरेको छ भने सानिमा बैंक, हिमालयन जनरल इन्स्योरेन्स, बैंक अफ काठमाडौ र गरिमा विकास बैंकले सहयोग गरेको छ । डा. महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र लगायतले परियोजनालाई सहयोग गरेका छन् ।









