जिल्ला सभापतिमा तिर्थ लामाको उम्मेदवारी घोषणा
मोतीराम तिमल्सिना
बनेपा
भोलि शुक्रबार हुने प्रदेश सभा, मंसिर ६ गते हुने प्रतिनिधि सभा र मंसिर १० गते हुने जिल्ला अधिबेशनका लागि काँग्रेस काभ्रेमा समुहगत प्रतिस्पर्धाका लागि उम्मेदवारी घोषणा भएको छ । केहिदिन अघि जिल्ला सभापति मधु आचार्य निकट मानिएका महेश खरेल, कञ्चनचन्द्र बादे लगायतको समर्थनमा जिल्ला सभापतिको उम्मेदवार घोषणाको तयारी गरेका केन्द्रिय सदस्य शिव हुमागाई निकट तीर्थ लामाले हुमागाईकै समर्थनमा जिल्ला सभापति सहितको समुह सार्वजनिक गरेका छन् ।
केन्द्रिय सदस्य शिव हुमागाईलाई पुनःकेन्द्रिय सदस्यको जिम्मेवारीमा लैजाने गरी हुमागाईको प्रस्तावमा तिर्थ सभापतिको उम्मेदवार बनेका हुन् । लामालाई आचार्य समुहका युवा नेताहरुको समर्थन रहेको छ । हुमागाई समुहबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा दिनेश लामा र क्षेत्र नम्वर २ मा सुन्दरमणी आचार्यलाई सभापति पदको उम्मेदवार घोषणा गरिएको छ । क्षेत्र नम्बर १ को क मा राम योञ्जन, ख मा चन्द्रबहादुर लामा सभापतिको उम्मेदवार रहेका छन् भने क्षेत्र नम्वर २ को क मा हेम लामा र ख मा भगवान अधिकारी सभापतिको उम्मेदवार रहेका छन् । सबै क्षेत्रमा पदाधिकारी, महाधिबेशनका लागि प्रदेश र केन्द्रिय प्रतिनिधि तथा महासमिति सदस्य समेतको उम्मेदवारी सार्वजनिक भएको छ । हिजो पञ्चकञ्या बेन्क्वेटमा एक कार्यक्रमको आयोजना गरी उक्त समुहले उम्मेदवारी घोषणा गरेको हो । हुमागाईको समुहबाट विद्यार्थी नेता माधव ढकाल र क्षेत्रिय सभापति रमेश हुमागाई सचिव पदको उम्मेदवार बन्ने सम्भावना छ ।
मंसिर ३ गते भोलि शुक्रबार हुने प्रदेश सभा निर्वाचनका लागि दुबै समुह र तेश्रो धारका नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश सभाबाट प्रदेशका लागि महाधिबेशन प्रतिनिधिका उम्मेदवारहरु पनि मैदानमा छन् । मसिंर ६ गते सोमबार प्रतिनिधि सभा क्षेत्रको निर्वाचन हुनेछ भने त्यहि दिन महाधिबेशन प्रतिनिधिका लागि निर्वाचन हुनेछ । मंसिर १० गते शुक्रबार जिल्ला अधिबेशन हुनेछ । जिल्ला सभापतिमा मधु आचार्य निकटबाट सभापति पदमा उठ्ने ब्यक्तिको खोजी भईरहेको छ । यसअघि पनि जिल्ला सभापतिमा प्रतिस्पर्धा गरिरहेका तिर्थ पसखल, उपसभापति रहेका अच्युत पौड्याल कसको समुहबाट कुन समुहमा प्रतिस्पर्धा गर्ने अन्योलमा छन् । आचार्यको समुहबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा महेश खरेलले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् भने सोहि क्षेत्रको प्रदेश क मा पाँचखालकै उपप्रमुख लक्ष्मी दनुवार र ख मा रामहरी श्रेष्ठको उम्मेदवारी घोषण भएको छ । यद्यपि दनुवारका बारेमा टुङ्गो लागिसकेको छैन । जिल्ला सभापति, प्रतिनिधि सभा र प्रदेश सभा सभापतिहरु समेत घोषणा गर्न नसकेको संस्थापन भनिएको आचार्य समुहका नेताहरु अब कसलाई कुन पदमा उठाउने भन्ने टुङ्गोमा पुग्न सकेको छैन ।
हुमागाई समुहबाट प्रतिनिधि सभा १ मा दिनेश लामाको नेतृत्वमा सचिव किशोर गिरी र विद्या सागर लामा, सहसचिव पदम ब लामा र गणेश अधिकारी रहेका छन् । त्यस्तै प्रदेश क मा सभापतिमा राम योन्जन, उप सभापति चन्द्रलाल दोङ, सचिव नवराज दहाल र दावा फेन्चु लामा, सहसचिव बसन्त तामाङ र गोकुल भुर्तेल रहेका छन् । प्रदेश सभा ख मा सभापति चन्द्र ब तामाङ, उपसभापति सुदर्शन अधिकारी र केशव बन्जरा, सचिव रुपक महत, सहसचिव विनोद तिवारी र राम बहादुर घ्यावा रहेका छन् ।
प्रतिनिधि सभा २ मा सभापति सुन्दरमणि आचार्य रहेका छन् भने सचिव राम जोशी र आनन्द सापकोटा रहेका छन् । प्रदेश सभा क मा सभापति हेम लामा, उपसभापति जीवन खड्का, सचिव उद्धव प्रसाद पौडेल र दमन अधिकारी रहेका छन् । सहसचिव रमिला बानियाँ र आशाकाजी श्रेष्ठ रहेका छन् । प्रदेश सभा (ख) मा सभापति भगवान अधिकारी, उपसभापति तारामान लामा र कुमुदा वैद्य, सचिव गिता प्रसाद दुलाल र रामहरि दहाल, सहसचिव हरि थापा र दिपक लामिछाने रहेका छन् ।
शिव हुमागाई समुहबाट
जिल्ला सभापति
तीर्थ लामा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १
सभापति उम्मेदवार – दिनेश लामा
प्रदेश सभा ‘क’– राम योञ्जन
प्रदेश सभा ‘ख’– चन्द्रबहादुर तामाङ
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २
सभापति – सुन्दरमणी आचार्य
प्रदेश सभा ‘क’– हेम लामा
प्रदेश सभा ‘ख’– भगवान अधिकारी
मधु आचार्य समुहबाट
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २
सभापति उम्मेदवार – महेश खरेल
प्रदेश सभा ‘क’– रामहरी श्रेष्ठ
प्रदेश सभा ‘ख’– लक्ष्मी दनुवार









