2026 August 22/ 03:51: 14pm

    नमोबुद्ध, बरबोट/नमोबुद्ध नगरपालिका वडा नम्वर ८ बरबोटमा निर्माण सम्पन्न भएको बुद्ध पञ्चरत्नको प्रतिमा अनावरण गरी प्राण प्रतिष्ठा गरिएको छ । लामा गुरु टुल्कु लोसाङ्ग नाम्ग्याल रिम्पोचेद्वारा बुद्द पञ्चरत्नको अनावरण सहित प्राण प्रतिष्ठा गरिएको हो । 
    निर्माण समितिका अध्यक्ष यज्ञबहादुर लामाका अनुसार लुम्विनीमा जन्मिएका गौतम बुद्ध शाक्य मुनी शिरमा निर्माण गरिएको छ । त्यसको तल वरपर चारवटा बुद्ध चेनरेसी, गुरु पद्मा सम्भव, मञ्जुश्री र बज्रपानीको प्रतिमा निर्माण गरिएको छ । पोखरी भित्र मुर्ति (लुमो) नागिनी दायाँबायाँ निर्माण गरिएको छ । ३ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त संरचनाका लागि १ करोड खर्च भईसकेको छ भने अझै केहि पूर्वाधार निर्माण गर्न बाँकी छ । २०७५ मसिंर देखि निर्माण कार्य शुरु भएको उक्त बुद्द पञ्चरत्नको प्रतिमा निर्माणका लागि संघीय सरकारको तर्फबाट सोहि क्षेत्रबाट निर्वाचित सांसद गंगाबहादुर दोङ्गको तर्फबाट विकास कोषको २९ लाख, प्रदेश सांसद चन्द्र लामाको विकास कोषको तर्फबाट २० लाख, वडा अध्यक्ष शेरबहादुर तामाङले हरेक वर्षको विकास बजेटबाट २६ लाख, स्थानीयहरुले नगद १० लाख र श्रमदान गरि उक्त संरचना निर्माण भएको अध्यक्ष यत्रबहादुर लामाले बताउनु भयो । नमोबुद्ध नगरपालिकाले चालु आर्थिक वर्षका लागि शौचालय निर्माणका लागि ५ लाख रकम विनियोजन गरेको छ । प्राण प्रतिष्ठा तथा प्रतिमा अनावरण कार्यक्रममा सहभागि स्थानीय राजनीतिक दलका नेता तथा समाजसेवीहरुले थप संरचना निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 
    संघीय सांसद गंगबहादुर दोङ्ग, प्रदेश सांसद तथा पुर्व मन्त्री चन्द्र लामा, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, नेपाली काँग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ्ग लामा, वडा अध्यक्ष शेरबहादुर तामाङ, स्थानीय राजनीतिक दलका नेताहरु, समाजसेवीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले आवश्यक पुर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । गुम्बाको आसपास ढुंगा छाप्ने, शौचालय निर्माण गर्ने, पार्टी तथा अर्काे थप मुर्ति निर्माण गर्न बाँकी रहेको अध्यक्ष यज्ञबहादुर लामाले बताउनु भयो । 

किन बरबोटमा पञ्चरत्न गुम्बा ? 
    नमोबुद्धमा गौतमबुद्ध पुग्नु अघि बरबोटमा बास बसेको इतिहासमा उल्लेख भएको अध्यक्ष यज्ञबहादुर लामाले बताउनु भयो । बुद्धले बास बसेको स्थानमा दुईवटा बरको बोट तर एउटैमा थियो । त्यहि शितलता लिएर उनिहरुका तीन भाई नमोबुद्ध जाने क्रममा भाईले देहत्याग गरेको र दाजुहरु दुबैले त्यहि स्थानबाट हिंसा त्याग गरेको किवदन्ति पाईन्छ । उक्त क्षेत्रमा सोहि समय देखि नै कार्तिक, चैत्र र जनै फेर्ने पुर्णिमाको अवसरमा पुजापाठ हुने गरेको थियो । सोहि स्थानमा बरको बोटसँगै ठुलो पोखरी पनि थियो । सोहि पोखरीको संरक्षण गरी त्यहि भित्र बुद्धको पञ्चरत्न निर्माण गरिएको छ । गुरु पद्मा सम्भवको जन्म दिन अथार्त कमलको फुलमा भेटिएको दिन कार्तिक पुर्णिमाको ६ दिन अघि दशमी तिथीमा सोहि गुम्बामा जात्रा शुरु गर्ने तयारी गरिएको छ । दुईवटा मानेको पनि सोहि समितिले संरक्षण गर्नेछ । 
    भगवान गौतम बुद्धले नमोबुद्धमा देह त्याग गर्नु अघि बास बसेर गएको स्थान पवित्र स्थान मानी स्थानीयहरुले संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार गर्ने उदेश्यले केहि वर्ष अघि देखि गुम्बा निर्माण शुरु गरिएको अध्यक्ष लामाले बताउनु भयो । विशेषगरी नमोबुद्द दर्शनका लागि आउने पर्यटकहरु बरबोटमा आउने गरी तयारी गरिएको छ । पर्यटकहरुको आगमनसँगै स्थानीय स्तरमा हुने आर्थिक प्रर्वद्धनलाई गुम्बा निर्माणको विशेष उदेश्य रहेको छ । पर्यटकहरुको सहजताका लागि सामुदायिक होमस्टे निर्माण, साङ्गे
 म्हाने छ्योलिङ्ग गुम्बा संरक्षण समिति गठन, नमोबुद्ध देखि बरबोटसम्म प्रचार प्रसारका लागि आवश्यक फ्लेक्स बोर्ड राख्ने लगायतका कार्यहरु गर्न शुरु गरिएको अध्यक्ष लामाले बताउनु भयो । नियमित संरक्षण, प्रर्वद्धन र प्रचार प्रसारका लागि गठन भएको गुम्बा संरक्षण समितिले तीन तहकै सरकारसँगको समन्वयमा आवश्यक कार्य गर्ने उहाँले बताउनु भयो । नमोबुद्धबाट उक्त स्थानको दुरी ८ किमी छ ।