2026 August 22/ 01:50: 11am

दिपावलीमा शुभकामना आदान प्रदान
    बनेपा/ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाले शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा विशिष्ठ ब्यक्तिहरुलाई सम्मान गरेको छ । बनेपा केन्द्रमा आयोजित कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बनेपाकी संचालिका ब्रम्हकुमारी राजयोगिनी लक्ष्मी दिदी र अन्य केन्द्रका दिदीहरुले सम्मान गर्नु भएको थियो । 
    नेपाल नगरपालिका संघका अध्यक्ष, नेकपा एमाले काभ्रेका अध्यक्ष, एस्पाकका अध्यक्ष, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अशोक ब्याञ्जुले मान्छे आफै भगवान भएकाले आफुले आफंैलाई चिन्नु पर्ने बताउनु भयो । ‘जीवन जिउने कला बुझ्नु पर्छ, दुःख सधै हुन्छ, बुझ्नु पर्छ झेल्नु पर्छ, भोग्नु पर्छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘जीवन विज्ञानसँगै कला भएकाले सुखका लागि मान्छे आफैले दुःख ब्यहोरिरहेका छन् । संस्कृति र रितिथिती जोगाउनु पर्छ ।’ कार्यक्रममा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितले बाहिरी सफा भन्दा मन सफा बनाउने अभियानमा सक्रिय हुनुपर्ने बताउनु भयो । ब्यक्तिले आफुलाई भन्दा समाज र समुदायलाई केन्द्रित गर्दै अघि बढ्नु पर्नेमा उहाँको सुझाव थियो । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले समाज र समुदायका लागि सकारात्मक चिन्तन आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो । 
    ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाडौ आरुबारीकी संचालिका श्रृष्टी दिदीले दिपावली समग्र अँध्यारो हटाउन जलाईएको दिप भएको बताउँदै बलेको दिपले मात्रै निभेको बत्ति जगाउन सक्ने भएकाले सधै दिप प्रज्वलन हुन ब्यक्तिको मन दिप जस्तै बलिरहनु पर्ने बताउनु भयो । कार्यक्रममा चितवन केन्द्रकी सविता दिदी, बनेपा केन्द्रकी सह संचालिका राधिका दिदी, विभिन्न क्षेत्रबाट ब्यक्तिहरुको सहभागिता रहेको थियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले हरेक चाडपर्वमा समाजमा सकारात्मक सन्देश फैलाउन विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।