धुलिखेल/रोशी गाउँपालिका वडा नम्वर ७ साविक कटुञ्जे गाउँ विकास समिति वडा नम्वर ५ स्थायी घर भएका देवी सिंह लामाको २०७४ कार्तिक २ गते लक्ष्मी पुजाको दिन निधन भए पछि परिवारले आमा र बुवाको नाममा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरेको चन्द्रदेव मोक्तान प्रतिष्ठानले निर्माण गरेको ‘आपा–आमा’ तामाङ भाषाको भिडियो गित सार्वजनिक गरेको छ ।
दुवै मृगौला फेल भई १५ वर्षसम्म अस्पतालमा निरन्तर उपचार गराई निधन भएका देवी सिंह राजनीतिज्ञ तथा सामाजिक ब्यक्ति हुनुहुन्थ्यो । मृगौला, क्यान्सर तथा नसर्ने गम्भीर प्रकृतिका रोगहरुबाट आम नागरिकहरुको निधन भईरहेको सन्दर्भमा त्यस्ता रोगहरु लाग्नै नदिन र रोग लागेका ब्यक्तिहरुको उपचारमा सहयोग पु¥याउने, अनाथ, असहाय तथा गरिब विद्यार्थी तथा बालबालिकाहरुलाई शिक्षा दिक्षामा सहयोग पु¥याउने, जेष्ठ नागरिक सेवा केन्द्र र सडक मानवहरुलाई सहयोग गर्ने, विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराउने लगायतका विविध उद्देश्य राखेर प्रतिष्ठान गठन गरिएको देवी सिंहका जेष्ठ सुपुत्र एवं रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले बताउनु भयो । प्रतिष्ठानको प्रमुख उद्देश्य अनुरुप आम समुदायमा जनचेतना फैलाउन तयार गरिएको गीत आपा आमाको भिडियो युटुब मार्फत सार्वजनिक गरिने उहाँले बताउनु भयो । तामाङ भाषाको उक्त भिडियो सहितको गितलाई नेपाली भाषाबाट पनि प्रस्तुत गरिने तयारी गरिएको छ । प्रतिष्ठानले रोशी गाउँपालिकाको मंगल जनविजयमा शुरु हुन लागेको इन्जिनियरिङ्ग विषयको अध्ययनका लागि दुई जना विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्न छात्रबृत्ति उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
अध्यक्ष डिबी लामाले सामाजिक कार्य गर्न प्रतिष्ठानले थप सहयोग पुग्ने उद्घोष गर्नुभयो । प्रतिष्ठानका लागि एवन विल्डर्सले १ लाख ५ हजार, नेपाल उद्योग बाणिज्य सघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले ५१ हजार, डा. राम लामा र इन्जिनियर लक्ष्मण लामाले ५१ हजार, सुर्यबहादुर तामाङले ५१ हजार, प्रकाश लामा र निमा लामाले ५५ हजार ५ सय, नाङशाल एशोसिएसनले १५ हजार, शान्ति जनआर्दश सेवा क्लवले २० हजार, कर्मचारी राम लामाले १० हजार १ सय, आसमान तामाङले १० हजार रकम प्रतिष्ठान मार्फत गरिने सामाजिक कार्यमा खर्च गर्न उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा गीतले बुबा आमाले सन्तान प्रति गर्ने माया र सन्तानसँगको अपेक्षा, सन्तानले अभिभावकलाई दिनु पर्ने माया, ममता र भावनात्मक सम्बन्धका बारेमा उल्लेख गरिएको छ । गीत देवी सिंह मोक्तानकै जेष्ठ सुपुत्र डिबी लामाले रचना गर्नु भएको हो । उहाँले बुबा आमाकै प्रेरणाले गाउँपालिकामा श्रवणकुमार कार्यक्रम शुरु गर्नु भएको छ । जसले बुबाआमाको सेवा गर्छ उसलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्ने कार्यक्रम रोशी गाउँपालिकामा शुरु भएको छ ।
प्रतिष्ठानको आपा आमा गित विमोचन आनी छोईङ्ग डोल्मा प्रतिष्ठानकी अध्यक्ष आनी छोईङ्ग डोल्माले गर्नु भएको थियो । देवीसिं मोक्तानको पाँचौ स्मृतिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आमा बुबा प्रतिको श्रद्धा जसले गर्छ उसले मात्रै समाजमा योगदान पु¥याउन सक्ने बताउनु भयो । बुबाआमालाई बृद्धाश्रममा पुग्न बाध्य बनाउने अनि समुदायमा अनुशासित, नैतिक देखिन सम्भव नभएको बताउँदै उहाँले जति बुझ्छौ त्यति कुरा ब्यवहारमै लागु गर्न सकिएको अवस्थामा मात्रै बुबा आमा र समाज प्रति श्रद्धा हुने बताउनु भयो । कार्यक्रममा प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले समाजमा जेष्ठ नागरिकहरु प्रति गरिने ब्यवहार क्रुर हुँदै गएको बताउँदै सन्तानले अभिभावकहरुलाई गरिने ब्यवहारमा परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । सन्तानले दुःख दिएका कारण अभिभावकहरु प्रहरी कार्यालयमा धाउनु पर्ने कठिन परिस्थिति शुरु भएकाले प्रतिष्ठानले समाजमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको एसपी भुपेन्द्र खत्रीले बताउनु भयो । कार्यक्रममा नेपाल तामाङ घेदुङ्ग संघका अध्यक्ष मोहन गोले तामाङ, संस्थाका सल्लाहकार शंखबुद्ध लामा, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, अध्यक्ष बद्रिराज तिमल्सिना, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन, वडा अध्यक्ष पोष्टबहादुर गौतम, देवी सिंह लामाका छोराहरु कुमार मोक्तान, गौरव मोक्तान लगायतले देवी सिंह मोक्तानले समाजमा पु¥याएको योगदान र प्रतिष्ठानको उद्देश्यका बारेमा मन्तब्य राख्नु भएको थियो ।
देवि सिंह मोक्तानको धर्मपत्नी चन्द्रकुमारी मोक्तान संरक्षक रहेको प्रतिष्ठानको अध्यक्षमा छोरा डिबी लामा हुनुहुन्छ । उहाँले प्रतिष्ठानले समाजमा परिवर्तन हुने गरी सामाजिक अभियान शुरु गर्ने बताउनु भयो ।









