2026 August 21/ 09:45: 16am

नयाँ समिति चयन
    बनेपा/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा धर्मनिरपेक्षता हटाउँदै हिन्दु राज्य र राजसंस्था सहितको राष्ट्र प्रमुखको पक्षमा जनमत सिर्जना गर्ने अभियानमा लागेको बताउनु भयो । 
    राप्रपा जिल्ला कार्य समिति काभ्रेको अधिबेशनको उदघाटन सत्रमा बोल्दै अध्यक्ष पशुपति शमशेर जबराले धर्मनिरपेक्षता गलत निर्णय भएको बताउनु भयो । ‘८१ प्रतिशत हिन्दुहरु भएको मुलुकमा धर्मनिरपेक्षता गलत भयो’–अध्यक्ष जबराले भन्नुभयो–‘संविधानमा मुलुक हिन्दु राज्य भएको राख्नु पर्छ ।’ राष्ट्रप्रमुख पार्टीका सदस्य भएको ब्यक्ति हुँदा पार्टी प्रति बफादार मात्रै नभई पार्टीको पनि गुट प्रति बफादार भएकाले राजसंस्थालाई निश्पक्ष राष्ट्र संचालनको प्रमुख बनाउनु पर्ने जबराको धारणा थियो । ‘जनताले विकृति, विसंगति र भ्रष्टाचार बाहेक केहि पाएका छैनन्’–जबराले भन्नुभयो–‘नेकपा नेतृत्वको सरकारले दिने भनेको स्थायीत्व दिन सकेन । गठबन्धनको सरकारले पनि चार महिनाको बीचमा त्यसको छाँट देखाएन ।’ 
    नेकपा एमाले र नेकपा माओवादी बीचको एकता पछिको गठबन्धनले उन्नति, प्रगतिको सट्टा पुनः आफै टुक्रा–टुक्रा भएर मुलुकमा अस्थिरता शुरु भएको अध्यक्ष जबराले बताउनु भयो । चार महिनाको बीचमा गठबन्धनको सरकारले पनि जनताको पक्षमा कुनै काम नगरेकाले राप्रपा नेपालले महाधिबेशन पछि सडक आन्दोलन घोषणा गरी जनतालाई जागृत बनाउनु उहाँले बताउनु भयो । अध्यक्ष टुल्कु लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पूर्व सन्ध्यामा बनेपा नगर परिक्रमा गरी राजतन्त्र, राजसंस्था र राष्ट्रियता सहित हिन्दु धर्मको पक्षमा खबरदारी गरिएको थियो ।     अधिबेशनको उद्घाटन सत्रमा केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रिय कार्य सम्पादन समिति सदस्य डिलविकास राजभण्डारी, केन्द्रिय निर्वाचन समिति सदस्यहरु निरञ्जन थापा, भरत पाठक, कामिसिं लामा, केन्द्रिय सदस्यहरु गोविन्दप्रसाद त्रिपाठी, देवि कँडेल, उदय सिं मुस्याजु, मिना सुवेदी भण्डारी, नुवाकोट जिल्ला उपाध्यक्ष कान्छा लामा, मानार्थ काभ्रे जिल्ला अध्यक्ष विरबहादुर योञ्जन, वडा अध्यक्षहरु, पार्टी जिल्ला कमिटीका पदाधिकारीहरु, विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
    अधिबेशनको बन्द सत्रले नयाँ समिति चयन गरेको छ ।