बनेपा/२०७२ सालको भुकम्पले थिलथिलो पारेको जमिन बग्न थालेको छ । पानी नपरेको समयमा समेत जमिन बग्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । भुगर्भविद्हरुले भुकम्प गएको केहि वर्षसम्म जमिन बग्न सक्ने चेतावनी दिएका थिए । पछिल्लो समय बेथान्चोक गाउँपालिका वडा नम्वर १ को च्याम्ब्राङ्गबेशी र महाभारत गाउँपालिकाको वडा नम्वर ४ मा गएको पहिरोका कारण सर्वसाधारण त्रसित भएका छन् ।
‘२०७८ असोज ७ गते विहान ७ बजेको समयमा भुकम्प गएकै जस्तो आवाजमा पहिरो गयो’–स्थानीय निरबहादुर मोक्तानले भन्नुभयो–‘विद्यालय भएको जमिन धाँजाधाँजा हुने गरी फाटेर भयंकर पहिरो गएको रहेछ । पहिरोका कारण विद्यालय बन्द भएको छ । विद्यालयको एउटा भवन पहिरोमा परेको छ ।’ २०५२ सालमा स्थापना भएको साविक बुढाखानी गाविसको बुढाखानी निलकष्ठ प्रावी महाभारत ४ को विद्यालय भवन पहिरोका कारण बन्द हुन पुगेको छ । तत्कालिन समयमा निर्माण भएको भवन र ट्रष्ट मार्फत निर्माण गरिएका दुबै भवन पहिरोले भत्काएका छन् । विद्यालय रहेको जमिन नै नरहे पछि अभिभावकहरुले बालबाबिलाहरु विद्यालय पठाउने अवस्था छैन । नजिकै विद्यालय नभएकाले बालबालिकाहरुले पढ्ने अवसर समेत पाएका छैनन् । एक महिना देखि विद्यालय बन्द भएकाले स्थानीय सरकारले खुलाउने प्रयास गरे पनि सम्भव नभएको विद्यालय ब्यवस्थापन समितिका सदस्य हिराबहादुर लामाले बताउनु भयो । तिहार लगत्तै विद्यालय खुलाउने प्रयास भए पनि तत्काल सुरक्षा मापदण्ड अपनाउन सकिएन भने ठुला ठुला खाडल र पहिरोको जोखिममा बालबालिकाहरु पर्नेछन् । स्थानीयहरुले भुकम्पका कारण जमिन फाटेको र फाटेको जमिन भित्र पानी परेकाले पहिरो गएको हो ।
भुकम्पले जमिन थिलथिलो पारेकाले बस्न योग्य जमिन नभएकाले अन्यत्र बसोबास गर्नु भन्ने प्रतिवेदन तत्कालिन समयमा भुगर्भ विद्ले दिएको भए पनि बेथान्चोक १ च्याम्राङ्गबेशीमा त्यहि स्थानमा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिएका छन् । २०७८ असोज १९ गते साँझ ५ बजेबाट निरन्तर सुख्खा पहिरोका कारण ललितपुर तथा काभ्रेका विभिन्न स्थानमा जाने सडक अवरोध भएको छ । अवरुद्ध सडक खुलाउन नसके पछि बैकल्पिक मार्ग प्रयोग गर्न थालिएको छ । २ सय मिटर भन्दा धेरै लामो पहिरो गएकाले सडक बन्द हुन पुग्यो । उक्त सडक खुलाउन तत्काल नसके पछि बेथान्चोक गाउँपालिकाले अन्यत्रबाट सडक संचालन गरेको हो । । उक्त सडको ग्रेडिङ्ग नमिलेको र भरपर्दाे समेत नभएकाले जतिबेला पनि अवरोध हुन सक्ने भए पनि तत्कालका लागि सूचारु गरिएको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनु भयो । उक्त पहिरो नजिक बस्ति नभए पनि लामो पहिरोले पारेको अवरोध र हुन सक्ने सम्भावित क्षति रोक्न गाउँपालिकाले भुगर्भ विद्सँग परामर्श गरिरहेको अध्यक्ष तिमल्सिनाले बताउनु भयो । पहिरोको माथी बेथान्चोक नारायणस्थान तथा त्यहि बाटो हुँदै जाने पदमार्ग लगायतका संरचनाहरुमा समेत असर पु¥याउन सक्ने बताईएको छ । भुकम्पले थिलथिलो पारेको जमिनमा पानी प्रवेश गरी जमिन फाटेकाले सुख्खा पहिरो आएको हुन सक्ने प्राविधिकहरुले बताएका छन् ।
उक्त पहिरोको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको नेतृत्वमा जिल्लाको सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला कार्यालयहरुका प्रतिनिधिहिरुले अवलोकन गरी थप क्षति हुन नदिन सरोकारवाला निकायलाई सचेत गराउने र त्यसको रोकथामका लागि आवश्यक कार्य गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।









