मोतीराम तिमल्सिना
बनखु
निर्माण ब्यवसायीको लार्पवाहिका कारण महाभारत गाउँपालिका हुँदै विभिन्न स्थानमा पुग्ने सडक ८ महिना देखि अबरुद्ध भएको छ । २०७९ असार मसान्तसम्म अवधी रहेको निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन गाउँपालिकाले गरेको पहल सार्थक हुन सकेको छैन ।
‘हामीले पटक–पटक निर्माण ब्यवसायी, जिल्ला प्रशासन, सडक हेर्ने निकाय पूर्वाधार कार्यालयलाई मौखिक र लिखित जानकारी गरायौं’–महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘पटक पटकको अनुरोध र ताकेता निरर्थक भएको छ । सडक फराकिलो बनाउँदै कालोपत्रे सम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण ८ महिना देखि सडक अवरुद्ध हुँदा नागरिकहरुले सास्ति खेप्नु परेको छ ।’ गाउँपालिकाले श्रेष्ठ सक्षम जेभी कम्पनीलाई २०७८ जेठ २३ गते र कार्तिक १५ गते लिखित पत्र नै लेखेर सडक खुलाई नागरिकहरुको असहजतालाई सहज गरिदिन अनुरोध गरेको थियो साथै समयमै निर्माण कार्य सम्पन्न गरी विकास रकम फ्रिज हुन नदिन अनुरोध गरेको थियो । सोहि ब्यहोराको पत्र गाउँपालिकाले प्रशासन र पूर्वाधार कार्यालयलाई समेत बुझाएको अध्यक्ष जिम्बाले बताउनु भयो ।
डाँडापारीका नागरिकहरुको सवारी साधन चढेर गन्तब्य पुग्ने सपना निर्माण ब्यवसायीको ढिलासुस्तिका कारण तुषारापात हुन थालेको छ । २०७७ असोज २० गते भब्य तामझामका साथ बागमती प्रदेशका मन्त्री रामेश्वर फुँयालले तिनखुट्टेमा शुभारम्भ गर्नु भएको मंगलबाटर–चारकिल्ला–तिनखुट्टे–बनखु सडक ८ महिना देखि निरन्तर अवरुद्ध छ । सडक सम्पर्क नै नभएर विकट मानिदै आएको महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ५० करोड रकम विनियोजन भएको थियो । ४९ करोड मध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयाँ खर्च गर्ने गरी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो । सोहि सडकको शिल्यान्यास २०७७ असोज २० गरिएको थियो । महाभारत गाउँपालिकाले विकटतालाई सुगमतामा परिणत गर्न सडक सञ्जालको प्रमुख योजनाका लागि बागमती प्रदेश सरकारसँग पटक पटक अनुरोध गरेको थियो । बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिगंथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तिनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक निर्माणका लागि बहुबर्षिय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो । उक्त रकमबाट आवश्यक इस्टमेट अनुसार बोलपत्र आब्हान भए सँगै निर्माण कम्पनीले ३७ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो । कन्टिजेन्सी समेत ४० करोड रकम महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डका लागि खर्च हुने छ ।
‘महाभारतका नागरिकहरुको सडक सञ्जाल जोड्ने र नियमित रुपमा आवतजावत गर्ने सपना पुरा हुने भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘पक्की सडक निर्माण भए पछि महाभारत क्षेत्रको विकास र समृद्धि हासिलमा थप मद्दत पुग्नेछ ।’ तर निर्माण ब्यवसायीले समयमै कार्य सम्पन्न नगर्दा बजेट फ्रिज हुने र महाभारतबासीहरुको सपनामा तुषारापत हुने अध्यक्ष जिम्बाले बताउनु भयो । अहिले उक्त सडकको विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण नियमित संचालन भएको सडक पनि बन्द छ । सडकको शिल्यान्यास गर्दै तत्कालीन मन्त्री रामेश्वर फुँयालले तिनखुट्टेमा नियमित सडक संचालनका लागि पक्कि पुल निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । महाभारत पुग्ने विभिन्न सडकहरु निर्माण भए पनि वर्षातको समयमा बन्द हुँदै आएका छन् । ‘उक्त सडक निर्माण सम्पन्न हुँदा हिउँद र वर्षात १२ महिना नै सडकबाट ओहोरदोहोर गर्न कठिन हुँदैन’–अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरुमा आशाको सञ्चार जगाएको छ ।’
तिनखुट्टे देबीटार सडक खण्डमा सडक स्तरोन्नती अन्र्तगत नाली निर्माण, रिटेनिङ्ग वाल, ग्याबिङ्ग वाल, कजवे, कल्भर्ट लगायतका संरचना सँगै ३० एमएमको कालोपत्रे गरिनेछ । पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्कि पुल निर्माणका लागि थप रकम बागमती प्रदेश सरकारको तर्फबाट उपलब्ध हुने निश्चित भई प्रकृया अघि बढेको छ । सोहि अवसरमा महाभारत पुग्ने पिन्थली रजवास तिनखुट्टे देविटार घर्तिछाप गोकुले सडक आयोजनाको बाँकी सडक कालोपत्रे गर्न, सिपाली बुढाखानी बनखु सडकको स्तरोन्नतीका लागि बजेट ब्यवस्था गर्न, ताराखसे रज्जेडँडा गोकुले सडक आयोजना, राङचा वनखु घर्तिछाप गोकुले ताल्ढुंङ्गा मिल्चे सडक स्तरोन्नती गर्न, पार्वतीखोला, खानीखोला र तिनखुट्टै खोला पुल निर्माण गर्न र बनखुखोला पुल, देविटार निर्माणको लागि बजेट ब्यवस्थापन गर्न अध्यक्ष जिम्बाले मन्त्री फुँयाललाई लिखित मागपत्र पेश गर्नु भएको थियो ।
उक्त सडकको दोश्रो खण्डमा कालोपत्रेको कार्य शुरु गरिने छ भने पहिलो खण्डमा १ करोड २० लाख रकम विनियोजन भएको छ । पहिलो खण्डको भूमिचुलीसम्म सडक स्तरोन्नतीका लागि १ करोड खर्च हुने छ भने भुमिचुलीबाट बुढखानी तिनखुट्टेसम्म २० लाख रकम खर्च हुनेछ । पिन्थली देखि भूमिचुलीसम्मका नागरिकहरुका लागि पनि सडक कालोपत्रे गर्न आवाज उठिरहेको छ । उता खानिखोला जाने सडक पनि पहिरोका कारण अवरुद्ध छ ।









