2026 August 21/ 10:55: 24am

    नमोबुद्ध/सुरक्षित पर्या–पर्यटनसम्वन्धी उच्चस्तरीय बैठक नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकासहित काभ्रेको धुलिखेल नगरपालिका र पनौती नगरपालिकाको सहभागितामा बैठक सम्पन्न भएको हो । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकमा ‘नेपालमा विपद् जोखिम संवेदनशील पर्यापर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसँग साझेदारी परियोजना’का विषयमा छलफल भएको थियो । यो परियोजना वातावरण तथा बाल सरोकार संस्था नेपाल (इको नेपाल) को साझेदारीमा काभ्रेका तीन नगरपालिका धुलिखेल पनौती, नमोबुद्ध तथा भक्तपुरको चाँगुनारायण गरी चारवटा पालिकामा सञ्चालन भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा २०७७ असोजबाट सुरु भएको परियोजना कार्तिक १३ गतेदेखि सम्पन्न हुँदैछ । चाँगुनारायण–नगरकोट–बनेपा–धुलिखेल र नमोबुद्ध हुँदै पनौतीको बल्थलीसम्मको पदमार्गलाई लक्षित गरेर परियोजना सञ्चालन गरिएको हो ।
    बैठकमा सहभागी पालिकाका प्रमुखहरुले पर्या–पर्यटनको प्रबद्र्धन तथा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा पालिकाहरुबीच आपसी सहकार्य हुनुपर्नेमा जोड दिए । बैठकमा सम्बोधन गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले २०७२ सालको भुकम्पपछि पर्यटनको क्षेत्रमा धेरै क्षति भोगेको बताउँदै पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ आधार खडा गर्नुपर्ने बताए । नेपाली मौलिकता झल्कने तथा वातावरणमैत्री पर्यटन पूर्वाधारको निर्माण, आवश्यक पदमार्गको पहिचान र सञ्चालन तथा पर्यटकका लागि सेवा सुविधा वृद्धि गर्नसके पर्यटनबाटै समृद्धितर्फ जान सकिने व्याञ्जुले बताए । चारवटा पालिकाबीच भएको अहिलेको सहकार्यले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गर्न मद्दत पुगेको व्याञ्जुको भनाई थियो । इको नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाबाट समृद्ध नगर कसरी बनाउन सकिन्छ भन्ने आधार प्रष्ट भएको र अब पालिकाहरुले सोहीअनुसारका कार्यक्रम र बजेट तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्ने उनले बताए । 
    बैठकमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले चारवटा नगरपालिकाबीचको सहकार्यबाट सुरु गरिएको पर्या–पर्यटन र विपद् जोखिम न्युनकरणसम्बन्धी कार्यक्रम आगामी दिनमा पनि निरन्तर हुने बताए । पालिकाहरुबीचको सहकार्यले यो क्षेत्रमा पर्यटकीय स्थलको विकास र पर्यटक आकर्षित गर्न मद्दत पुग्ने उनले बताए । बैठकमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्धसहितका क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माणको कार्य तत्कालै सुरु गर्ने घोषणा गर्दै यसका लागि धुलिखेल, पनौती लगायतका नगरपालिकासँग सहकार्य हुने बताए । नमोबुद्ध नगरपालिकामा पर्यटक आकर्षित गर्न र पर्यटकीय स्थलको विकासका लागि विगतदेखि नै नगरपालिकाले काम गरिरहेको र इको नेपालसँगको साझेदारीले त्यसमा थप टेवा पुगेको तिमल्सिनाको भनाई थियो । 
    बैठकमा पूर्व मुख्य सचिव सोमलाल सुवेदी, इको नेपालकी कार्यकारी निर्देशक अनिता न्यौपानेले परियोजनाका विषयमा प्रस्तुतिकरण दिएका थिए । परियोजनाअन्तर्गत नमोबुद्ध नगरपालिका वडा नंवर १ मा निर्माण गरिएको पिपलबोट चौतारोको उद्घाटन गरिएको थियो । नेपाल नगरपालिका संघका अध्यक्ष आशेक व्याञ्जु, पनौती नगरपालिका प्रमुख भीम न्यौपाने र नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले संयुक्तरुपमा चौतारोको उद्घाटन गरेका थिए । इको नेपालको सहजीकरणमा युएसएआइडीको नेपाल परियोजना, नमोबुद्ध नगरपालिका र पिपलबोट चौतारो संरक्षण समितिको संयुक्त लगानीमा साना पहिरो नियन्त्रण कार्यसँगै उक्त चौतारो निर्माण गरिएको हो ।