2026 August 21/ 12:55: 59pm

२ लाख ८ हजारले विवरण भरे
    धुलिखेल/राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अभियानमा शुरु भएको काभ्रेपलाञ्चोक जिल्लामा विवरण दर्ता अभियान सम्पन्न भएको छ । २०७७ फागुन ६ गते देखि शुरु भएको अभियान कोभिडका कारण ढिला गरी २०७८ असोज २१ गते सम्पन्न भएको हो । 
    ‘राष्ट्रिय परिचयपत्रको विवरण भर्ने कार्यक्रम सम्पन्न भएको छ’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘कोभिड १९ महामारीका कारण जेठ र असारमा कार्यक्रम स्थगित गरिएकाले साउन, भदौ र असोज २१ गतेसम्म विवरण भर्ने कार्य जारी रहेको हो ।’ पालिकास्तरको अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा भने छुट भएका र नयाँ नागरिकता लिएकाहरुको विवरण निरन्तर भरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । प्रशासन कार्यालयले लक्ष्य लिए अनुसार अधिकांश पालिकामा पुरा भए पनि सबै भन्दा कम चौरीदेउराली गाउँपालिकामा ६४ प्रतिशत मात्रै रहेको छ । मतदाता संख्याका आधारमा बनाईएको लक्ष्य भन्दा धेरै बनेपा नगरपालिकामा विवरण भर्ने कार्य सम्पन्न भएको छ । बनेपामा ३० हजार १ सय ९२ जनाले विवरण भरेका छन् । ३४ हजार ४ सय ४६ मतदाता रहेको बनेपामा २४ हजार १ सय १७ जनाको विवरण भर्न सकिने अनुमान गरिएको थियो । 
    रोशी गाउँपालिकामा १२ हजार ७ सय ६९, खानीखोला गाउँपालिकामा ४ हजार ९ सय ६८, महाभारत गाउँपालिकामा ७ हजार ६ सय ८९, बेथानचोक गाउँपालिकामा १० हजार ९७, भुम्लु गाउँपालिकामा ९ हजार ६ सय ३, चौरीदेउराली गाउँपालिकामा ७ हजार ८ सय ९६, तेमाल गाउँपालिकामा ९ हजार २९ जनाले विवरण भरेका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकामा १८ हजार ६ सय ९५ जनाले परिचयपत्रका लागि फोटो सहितको विवरण भराएका छन् भने धुलिखेलमा १८ हजार ३ सय ५८, मण्डनदेउपुर नगरपालिकामा १७ हजार ७ सय १२, पाँचखालमा २२ हजार ५ सय २२, पनौतीमा ३० हजार ३ सय ९९ र बनेपा नगरपालिकामा ३० हजार १ सय ९२ जनाले विवरण भरेका छन् । जिल्ला प्रशासन कार्यालयमा असोज २१ गतेसम्म ८ हजार ९ सय जनाले विवरण भरेका छन् । जिल्लामा २ लाख ७२ हजार ३ सय १२ जना मतदाता रहेकोमा १ लाख ९० हजार ८ सय ८८ जनाको विवरण भर्ने अनुमान गरिएको थियो । अनुमान भन्दा धेरै २ लाख ८ हजार ८ सय २९ जनाले विवरण भरिसकेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । 
    १ सय २ जना कम्प्युटर अपरेटर मध्ये अभियानका लागि ९९ जना परिचालित थिए । १ सय ६७ जना ब्यक्तिहरुले विवरण भर्न सहयोग पु¥याएको थिए भने १ सय ५७ जनाले रुजु गरेका थिए । राष्ट्रिय परिचयपत्र अभियानका लागि विवरण भर्ने अभियानका लागि अघिल्लो आर्थिक वर्षमा ९२ लाख ९२ हजार बजेट प्राप्त भएकोमा ४० लाख ७४ हजार खर्च हुन नसकेर ५५ लाख १७ हजार खर्च भएको थियो । चालु वर्षका लागि ५ लाख २८ हजार खर्च भईसकेको छ । 

जिउँदा शहिद मुकेशको घरमै फोटो खिचाईयो
    जनआन्दोलनका घाईते मुकेश कायस्थको राष्ट्रिय परिचयपत्रका लागी परिचयपत्र खिच्ने टोलीले घरमै पुगेर फोटो खिचेको छ । 
    बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीको समन्वयमा जनआन्दोलका घाईते मुकेशको घरमै परिचयपत्रका लागि फोटो खिचिएको अधिकारीले बताउनु भयो । मुकेशसँगै वडाका अन्य अपाङ्गहरुको पनि घरमै गएर फोटो खिचिएको अधिकारीले वताउनु भयो । टोलिलाई अनुरोध गरेर वडाका कुनै पनि नागरिक उक्त अवसर बाट नछुटुन भनेर उक्त कार्य गरेको अधिकारीको भनाई छ । वडामा २२ गते सम्म चलेको अभियानमा २ हजार ७ सय ७० जनाले राष्ट्रिय परिचयपत्र खिचाउनु भएको र बाँकी कोहि विदेश र अन्य जिल्लामा भएकाले थोरै मात्र छुटुनु भएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो । २०६२÷०६३ को जनआन्दोलनका घाईते मुकेश कायस्थलाई सम्मान स्वरुप र नेपाल सरकारले उपचार र रेखदेख गरिरहेको छ ।