2026 August 21/ 12:56: 34pm

अनुभव बटुल्न ज्ञान र सिपको चटारो
    पनौती/सहयोगी रोजगार तथा मल्टिपर्पाेज प्रालि पनौती ५ चौकोटमा रहेको संस्था मार्फत प्रदान गरिएको मन्टेश्वरी र कर भ्याट सम्वन्धी तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिममा सहभागीहरुले ब्यवसायिक क्षमता अभिबृद्धिका लागि तालिम महत्वपूर्ण रहेको बताए । 
    संस्थाले दुई वर्षको अवधिमा १ हजार ५ सय भन्दा धेरै बेरोजगार ब्यक्तिहरुलाई रोजगारको अवसर दिएको छ । विभिन्न ब्यक्ति तथा संस्थाहरुसँगको समन्वयमा संस्थाले बेरोजगारहरुलाई रोजगारको समन्वय गर्दै आएको छ । त्यसको अलावा विभिन्न क्षेत्रका तालिमहरु प्रदान गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले डल तथा कुशन, मन्टेश्वरी, कर तथा भ्याट सम्बन्धी तालिमहरु प्रदान गरिदै आएको प्रबन्ध संचालक जुना केसी डोटेलले बताउनु भयो । ‘हाम्रो मुख्य उदेश्य बेरोजगार ब्यक्तिहरुलाई रोजगार उपलब्ध गराउनु हो । राम्रो ज्ञान र सिप भएका ब्यक्तिहरुको खोजीमा रहेका संस्थाहरुका लागि दक्ष जनशक्ति उत्पादन गरी उपलब्ध गराउने अभियानमा हामी केहि हदसम्म सफल भएका छौं’–प्रबन्ध संचालक जुना केसीले भन्नुभयो–‘काम लगाउने संस्थालाई अनुभवी ब्यक्ति चाहिने तर काम खोज्ने ब्यक्तिसँग अनुभव नहुने ? यो खाडललाई पुर्ने उद्देश्यले रोजगार पूर्व तालिम उपलब्ध गराउन थालिएको हो ।’ सहकारी तथा बैकिङ्ग क्षेत्रसँग सम्वन्धित र अन्य विषयमा समेत गरी संस्था मार्फत १ सय भन्दा धेरैले तालिम प्राप्त गरिसकेका छन् । ब्यक्तिगत लगानीमा भईरहेको उक्त तालिम र रोजगारको अवसरका लागि संस्थाले विभिन्न संस्थासँग समन्वय गर्ने जमर्काे गरिरहेको छ । 
    तालिमको समापनका क्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले बेरोजगारहरुलाई रोजगार दिने र दक्ष जनशक्ति उत्पादन गरी ब्यक्तिलाई आत्मनिर्भर बनाउने अभियान महत्वपूर्ण रहेको बताउनु भयो । तीन तहका सरकार तथा सरोकारवाला निकायसँगको समन्वय हुन सकेको अवस्थामा उक्त संस्थाले थप ब्यक्तिलाई दक्ष बनाउन सक्ने र रोजगारको अवसर सिर्जना गर्न सक्ने तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा प्रशिक्षक कमल लामाले सिकेको सिपलाई ब्यवहारमा लागु गर्न निरन्तर अभ्यासको खाँचो रहेको बताउनु भयो । सिप सिकेर प्रमाणपत्र प्राप्त गर्दैमा ब्यक्तिले ज्ञान हासिल नगर्ने भएकाले ब्यवहारमा देखाउन निरन्तर अभ्यास जारी राख्न सहभागिहरुलाई कमल तामाङले सुझाव दिनु भयो । तालिममा सहभागिहरु सुरेश मानन्धर र सृजना बुढाथोकीले तालिम जीवनपयोगी भएको बताउनु भएको थियो ।