धुलिखेल/‘खाद्य हरियाली सहर’ उन्मुखमा काभ्रेको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो ।
विश्वका १ सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल निर्वाचित भएको हो । विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिनु भयो । नेपाल नगरपालिका सघंका अध्यक्षसमेत रहनु भएका ब्याञ्जूले महासभालाई कार्तिक १ गते सोमबार सम्बोधन गर्नु भएको थियो । ‘संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय हो’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो –‘यो सिंगो नेपाल र धुलिखेलका लागि त झनै गर्वको कुरा हो ।’ धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरण मैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्र सघीय जलवायु सम्मेलन कोप –२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलस्समेत सूचीकृत छन् ।
धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘खनिज इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको नगर प्रमुख ब्याञ्जूले बताउनु भयो । धुलिखेल संसारका ठूला र सफा सहरमा सूचीकृत हुनु गौरवको विषय मानिएको छ । नगरले जलवायु परिवर्तनको असरलाई कम गर्न शुन्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको थियो । शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलले शुन्य ग्रीन हाउस ग्यास उत्सर्जन सहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउँदा दिनमा समेत नगरपालिकाले खनिज इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने बताएको छ ।
सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका बीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाईएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको नगर प्रमुख ब्याञ्जूले बताउनु भयो । यो कार्यक्रमले बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने छ । कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धान समेत समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरण लगायत काम हुने छ । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।









