2026 August 21/ 08:35: 49am

    दाप्चा/नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरिएको छ ।
    स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप नमोबुद्ध नगरपालिका वडा नं. ९ को सहयोगमा दाप्चा स्वास्थ्य चौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमाहरुलाई बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रोत्साहन रकम प्रदान गरिएको थियो ।
    कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले साउन १ गतेदेखि असोज १४ गतेसम्मको अवधीमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगद प्रदान गरे । नमोबुद्ध नगरपालिका वडा नं. ९ ले विगतका बर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएवापत वडाबाट प्रदान गरिने ५ हजार रुपैयाँ, स्वास्थ्य संस्थामा सुत्केरी भएवापतको दुई हजार रुपैयाँ, एम्बुलेन्स खर्चवापत १८ सय रुपैयाँ, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप २ हजार रुपैयाँ र चारपटक गर्भ जाँच गराएवापतको ८ सय रुपैयाँ एकमुष्ट रुपमा प्रदान गरिएको थियो ।
    उपप्रमुख रामदेवी तामाङले हाम्रो समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको बताउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताइन् । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले छोरी जन्माउँदा हतोत्साही नभई गौरव गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको बताए । महिलालाई छोरी जन्माए बावत गौरवबोध होस् भन्ने उद्देश्यले थोरै भए पनि प्रोत्साहन रकम उपलव्ध गराउन थालिएको जानकारी दिए । आफ्ना बालबालिकाको पोषणका साथै शिक्षादीक्षामा पनि विशेष ध्यान दिन उनले आग्रह गरे । वडा नम्वर ९ का वडा अध्यक्ष मेलवहादुर लामाले सामाजमा रहेका विकृतिको अन्त्यका लागि सन्देश मुलकरुपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, नमोबुद्ध नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, श्री कृष्ण बहुमुखी क्याम्पसका प्राचार्य ज्ञानवहादुर भुजेल, वडा सदस्य इश्वरी श्रेष्ठ, समाजसेवी हरि तिमल्सिना, नेपाली कांग्रेसका नेता पुष्पराज श्रेष्ठ लगायतले छोरी जन्म प्रोत्साहन कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन दाप्चा स्वास्थ्य चौकीका इन्चार्ज बलराम पौडेलले सञ्चालन गरेका थिए ।