बनेपा÷ नेपाली सेनाको कालिजंग धुलिखेलले विश्व पर्यटन दिवसको अवसर पारी पर्यटकिय तथा ऐतिहासिक पदमार्ग पहिचान, प्रर्वद्धन र संरक्षण अभियानलाई तिब्रता दिएको छ । पदमार्ग सहित सेनाको कालिजंग गणले बृक्षारोपणलाई निरन्तरता दिएको छ । सोमबार धुलिखेल–रविओपी–टनचोक–काशिभन्ज्याङ्ग सहितको ११ किलोमिटर यात्रा पछि काशिभन्ज्याङ्गमा बृक्षारोपण गरिएको छ ।
‘यो नियमति कार्य हो । पदमार्गको पहिचान, प्रर्वद्धन र संरक्षणलाई सेनाले प्राथमिकतामा राखेको छ । नाला ऐतिहासिक क्षेत्र हो । पर्यटयिक र ऐतिहासिक मार्ग पहिचानका लागि पदयात्रा गरिएको हो’–कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले भन्नुभयो–‘पदयात्रासँगै बृक्षारोपण गरिएको छ । धुलिखेलबाट काशिभन्ज्याङ्ग हुँदै नगरकोटसम्मको पदयात्राका लागि हामी प्रयासरत छौं ।’ यस अघि नेपाली सेनाले धुलिखेल देखि देविस्थान, शारदा देविस्थान हुँदै पनौतीसम्मको पदयात्रा गरेको थियो । पदमार्गको पहिचान र पदयात्राको निरन्तरताका लागि नेपाली सेनाले स्थानीय सरकार र संघ संस्थासँगको समन्वय गरिरहेको कर्णेल मिलन थापाले बताउनु भयो ।
पदयात्रामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, शशस्त्र एसपी महेश केसी, पर्यटन ब्यवसायी प्रेमकण्ठ माकजु, ज्योत्सना सैजु लगायतको सहभागिता रहेको थियो । काशिभन्ज्याङ्ग संरक्षण समिति, बनेपा नगरपालिका वडा नम्वर ३ ले पदयात्रामा सहभागिहरुलाई स्वागत गरेको थियो । वडा कार्यालय र संरक्षण समितिको जिम्मेवारी रहने गरी नेपाली सेनाले उपलब्ध गराएका हर्राे, बर्राे, कल्की, अम्बा, कागति, स्टेबरी लगायतका ४ सय ५० विरुवा बृक्षारोपण गरिएको थियो । विरुवाहरुको नियमित रेखदेख गर्न संरक्षण समितिले जिम्मेवारी लिएको अध्यक्ष उद्धव बजगाईले बताउनु भयो । काशिभन्ज्याङ्ग पर्यटकहरुका लागि आर्कषक क्षेत्र भएकाले यसको संरक्षण र ब्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय भईरहेको अध्यक्ष बजगाईले बताउनु भयो ।
बृक्षारोपणसँगै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । नेपाली सेनाले यहि वर्ष सिन्धुपाल्चोकको मेलम्ची, चौतारा लगायतका क्षेत्रमा बृक्षारोपण गरेको छ भने काभ्रेको पनौती, भकुण्डे, धुलिखेल तथा बनेपा क्षेत्रमा बृक्षारोपण गरेको बताएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पर्यटकहरुको सहजताका लागि पदमार्गको प्रचारप्रसार र संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्ने बताउनु भयो । स्वास्थ्य र आयआर्जनका लागि पदयात्रालाई बढावा दिनु आवश्यक रहेको प्रजिख पोखरेलले बताउनु भयो । वडा अध्यक्ष कृष्णप्रसाद दाहालले स्थानीय सरकारले पर्यटकिय क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा मेलमिलापकर्ता समाजका जिल्ला अध्यक्ष बलराम बजगाई, वडा सदस्य रामकृष्ण बजगाई, समाजसेवी लोकनाथ बजगाई, उद्धवप्रसाद बजगाई, गोकुल बजगाई, उदयबहादुर केसी लगायतको सहभागिता रहेको थियो । कालिजंग गण धुलिखेलका गणपति मिलन थापाले पदमार्गको पहिचान र संरक्षणमा नेपाली सेनाले प्राथमिकता दिएको बताउनु भयो ।









