पनौती/पनौतीमा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पनौतीमा आयोजना भएको सभा पनौती नगरपालिका वडा नम्वर ४ का अध्यक्ष बुद्धसिं थापाको प्रमुख आतिथ्यता र अध्यक्ष प्रमिला खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । कोभिडको महामारीमा सदस्य केन्द्रित योजनाहरु सार्वजनिक गर्दै सहकारीहरुले आर्थिक समृिद्धको घोषणा गरेका छन् । सुन्दरबस्ति सहकारीको सभामा १७ करोड २० लाख ७५ हजार निक्षेप, २२ करोड ३ लाख ३० हजार कर्जा लगानी गरी १ करोड १० लाख चुक्ता पुँजी रहेको जानकारी गराईएको थियो । प्रमुख अतिथि वडा अध्यक्ष बुद्धसिं थापाले सहकारीहरुले योजना सहितको कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भयो । बचत र ऋण कारोवार मात्रै बढाउनु भन्दा साना साना ब्यवसायी र थोरै आयआर्जन भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । सहकारी ऐन र कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसकेकोमा वडा अध्यक्ष थापाले चिन्ता ब्यक्त गर्नु भयो । विशेष अतिथी सहकारी विज्ञ हरि बशिष्ठले आधुनिक सहकारीको विकास भएको बताउनु भयो । सहकारीलाई स्थानीय सरकारले समन्वय र सहजीकरण गर्नु पर्नेमा शासन गरिरहेको बताउँदै उहाँले प्रशासनको माध्यमबाट सहजिकरण गरी सहकारीलाई फैलन दिनुपर्ने बताउनु भयो । सहकारीका अध्यक्ष प्रमिला खड्काले सहकारीले युवा लक्षित कार्यक्रम तय गरी युवालाई कृषि र आयआर्जन हुने खालका योजनामा लगानी गरिरहेको बताउनु भयो । प्रबन्ध निर्देशक रोशन चौलागाईले सहकारीले वर्षभरी गरिरहेका गतिविधिलाई मुल्यांकन गरी कोभिड महामारीका बीच सदस्यहरुको आर्थिक बृद्धि र विपद्सँगै जीवन समृद्ध बनाउन कृषिमा आधारित लक्षित सहुलियत कार्यक्रमहरु शुरु गरिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारीहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा युवा ब्यवसायी विज्ञान राई, कानुनी सल्लाहकार मातृका थापा, उग्रतिर्थ साकोसका अध्यक्ष मोहन गजुरेल, सचिव शान्तमणी रिजाल, सुनौलो साकोसका अरुण भण्डारी, अग्नि साकोसका अध्यक्ष रविन्द्र श्रेष्ठ, सहकारीका दिपेश कार्की लगायतले सहकारीले खेलेको भूमिका र आगामी दिनमा सहकारीले गर्ने योजनाका बारेमा सुझाव दिनु भएको थियो । सोहि अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा सुजना सुवेदी काफ्ले र शारदा हुमागाईलाई नगद सहित सम्मान गरिएको थियो । पनौती वडा नम्वर ४ मा रहेको उक्त सहकारीले सोहि क्षेत्र र आसपासमा सेवा उपलब्ध गराउँदै आएको छ ।









