सत्केरी महिलालाई शक्तिबद्र्धक सामाग्री, अस्पताल जान निःशुल्क यातायात
धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर १० शारदाबतासेमा आर्थिक वर्ष २०७७/०७८ को आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । अध्यक्ष पुष्प राउतले आर्थिक वर्षमा गरिएका आम्दानी, खर्च, नगर स्तरीय योजना, वडा स्तरीय योजना र आकस्मिक योजनामा विनियोजन भएका रकम र त्यसको खर्चका बारेमा नागरिकहरुलाई जानकारी गराउनु भएको थियो ।
नागरिकहरुको चासो र जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष राउतले नागरिकहरुले राखेका जिज्ञासालाई सम्बोधन गर्नु भएको थियो । वडा नम्वर १० ले एक आर्थिक वर्षमा ३ करोड ९ लाख ३३ हजार ९ सय ४२ रुपैयाँ प्राप्त गरेको थियो । जसमा आन्तरिक आम्दानी तर्फ ४ लाख १४ हजार, कार्यालय संचालन अनुदान ४ लाख ४८ हजार, आकस्मिक योजना ४ लाख २५ हजार, वडा स्तरीय योजनाका लागि ४२ लाख ५० हजार, वडा विशेष अनुदान ठकुरी छाप बाटो ढलानका लागि ८ लाख ३५ हजार ५ सय ५०, संघ स्तरीय आयोजना औधोगिक ग्राम बाटो निर्माण ९२ लाख, सामाजिक सुरक्षा भत्ता ४० लाख ५६ हजार ४ सय, विपि राजमार्ग शारदा बतासे ईटे सडकका लागि ६८ लाख, एक घर एक धारा खानेपानी २२ लाख ७६ हजार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम १ लाख ९४ हजार १ सय ३३, बुद्ध पार्क निर्माण ३ लाख, बालज्योति विद्यालय अनुदान ५ लाख, ६०÷४० अनुदान अन्र्तगत भगवान शाहको घर नजिक उकालो ढुङ्गा सोलिङ्ग ६ लाख १७ हजार, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्र्तगत डुण्डुखोला बाँध निर्माण २ लाख, माथिल्लो घाट बाँध निर्माण २ लाख १७ हजार २ सय र भैरव घाट निर्माणका लागि २ लाख रुपैयाँ प्राप्त भएको अध्यक्ष राउतले जानकारी दिनुभयो ।
नगरस्तरीय योजनाहरुमा १६ लाख नागरिकहरुको सहभागिता रहेको थियो भने वडा स्तरीय योजनाहरुमा ४ लाख ७७ हजार २ सय ५० सहभागिता रहेको छ । त्यस्तै विभिन्न आयोजनामा उपभोक्ताहरुले ६ लाख १७ हजार रुपैया सहभागिता रहेको अध्यक्ष राउतले बताउनु भयो । वडा अध्यक्ष राउतले स्वास्थ्य कार्यक्रमतर्फ जेष्ठ नागरिक क्लिनिक कार्यक्रम, सुत्केरी महिला विशेष कार्यक्रम, गाउँघर क्लिनिक, सुत्केरीको ज्यान, हाम्रो ध्यान, घरदैलो स्वास्थ्य सेवा, अहिले नगरे कहिले गर्ने, हाम्रो स्वास्थ्य हाम्रै हातमा, हाम्रो ज्ञान, आत्मनिर्भरताको शान भन्ने नारा सहितका कार्यक्रम संचालन गरिएको छ । गर्भवती महिलाहरुलाई सुत्केरी अस्पताल जाँदा यातायात खर्च, सुत्केरी महिलालाई सुत्केरी मसला, हर्लिक्स, चेवनप्राश, सर्वाेत्तम लिटो पिठो उपलब्ध गराउँदै आएको अध्यक्ष राउतले बताउनु भयो । नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा भएको वडा नम्वर १० ले विद्यार्थीहरुलाई छात्रबृत्ति, विद्यालयमा प्रविधि मैत्री शिक्षाका लागि प्रविधि हस्तान्तरण तथा शिक्षकहरुलई तालिम, प्रोत्साहन र भौतिक संरचना निर्माणको कार्य गरेको छ । खानेपानीतर्फ एक घर एक धारा कार्यक्रमलाई सम्पन्न गर्ने अन्तिम चरणमा पुगेको छ । जसका लागि बृहत्त खानेपानी उपभोक्ता समिति गठन गर्ने तयारी गरिएको छ ।
कृषिमा एक टोल एक उत्पादन कार्यक्रम शुरु गरिएको छ । कृषिमा यान्त्रिकरण, उत्पादनमा दुध, मासु प्रभावकारी कार्यान्वन, मेयर कप फूटबल, मेयर कप भलिबलमा सहभागी गराउँदै युवा तथा खेलकूद कार्यक्रममा सहभागिता जनाएको छ । उत्कृष्ट खेलमैदान निर्माणका लागि डिपिआर तयार, उद्यमी महिला उत्थान कार्यक्रम, छोरी बुहारी शिक्षा कार्यक्रम, महिला मैत्री सहकारी, विपन्न असहाय, टुहुरा बालबालिकाको आधारभुत आवश्यकता सम्बोधन, बालश्रम उल्मुलन, बालमैत्री शासनका ५१ वटा सूचक अवलम्वन गर्ने अध्यक्ष राउतले बताउनु भयो । अपाङ्ग, जेष्ठ नागरिक कार्यक्रम, पशुपक्षी विकास, सहकारी विकास, गरिवी न्युनिकरण र रोजगार, पर्यटन विकास, वन तथा वातावरण तथा विपद् ब्यवस्थापन, सूचना, सञ्चार, उर्जा प्रविधि, सडक पूर्वाधार, अन्य पूर्वाधार र धर्म, संस्कृति र परम्पराका बारेमा वडाले विशेष ध्यान दिएको अध्यक्ष राउतले जानकारी दिनुभयो । अध्यक्ष राउतले वडामा २०७४÷०७५ देखि पूर्वाधार तर्फ २० वटा योजना सम्पन्न भएको बताउनु भयो । त्यस्तै सामाजिक विकासतर्फ तीन वटा विद्यालयको भवन निर्माण, स्वास्थ्यतर्फ तीनवटा, आर्थिक विकासका लागि ४ वटा, सिंचाईतर्फ ३ वटा, उद्योगतर्फ २ वटा, पर्यटन पूर्वाधारतर्फ ३ वटा, युवा तथा खेलकुदतर्फ एकवटा, महिला तथा बालबालिकातर्फ तीनवटा, उर्जा तथा वातावरणतर्फ २ वटा र वित्तिय शुसासन तथा प्रशासनिक सुशासनतर्फ ३ वटा योजना सम्पन्न भएको बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका उपप्रमुख विमलाकुमारी चौलागाई शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, शाखा अधिकृतहरु, विभिन्न शाखाका प्रमुखहरु, वडा सदस्यहरु पम्फा बुढाथोकी, विमला विक, देवराज शाह र इन्द्रकुमार तामाङको सहभागिता रहेको थियो । कार्यक्रममा वडा सचिव ईश्वरप्रसाद सापकोटा, पशु सेवा प्राविधिक बद्रिप्रसाद तिमल्सिनाले वडा कार्यालय मार्फत नागरिकहरुलाई प्रदान गरिएको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । नागरिकहरुले वडा कार्यालय मार्फत प्रदान गरिएको सेवालाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए ।









