बनेपा/नेपाली काँग्रेस काभ्रेको वडा अधिबेशन लामो समयको कृयाशिल सदस्यताको विवाद पछि मंगलबार सम्पन्न भएको छ । एकाध बाहेक अधिकांश वडाहरुमा मंगलबार राति नै वडाका अधिबेशन सम्पन्न भएका खबरहरु सार्वजनिक भएका थिए । वडा अधिबेशनबाट निर्वाचित प्रतिनिधिहरुको नामावली संकलन गरी आगामी नेतृत्वको जोड घटाउ शुरु भएको छ ।
कृयाशील सदस्यता विवादका कारण संस्थापन भनिएकै पार्टी सभापति मधु आचार्य, उप सभापति गोविन्दबहादुर थापा लगायतले लगायतको जिल्ला कार्यालयको ताला २४ घण्टा नपुग्दै आफै खोलेका थिए । झण्डै १९ हजार सदस्यहरु मध्ये २१ थरी किर्ते गरेको तथ्याङ्क प्रस्तुत गर्दै केन्द्रिय सदस्य शिव हुमागाईले पार्टी अधिबेशन सुचारु गर्न पार्टी भित्र भएका सबै गलत कृयाकलाप चुपचाप सहेको बताउनु भएको छ । ‘केन्द्रिय नेताको हस्ताक्षर किर्ते गरिएको छ, मरेका ब्यक्तिका नाममा सदस्यता वितरण गरिएको छ’–केन्द्रिय सदस्य हुमागाईले भन्नुभयो–‘यस्ता २१ थरी किर्ते सदस्यता वितरणको क्रममा जिल्ला पार्टी नेतृत्वले गरेको छ ।’ संस्थापन समुहले पार्टी कब्जा गर्ने रणनीति अनुरुप कृयाशिल सदस्यतामा धाँधली गरेको निश्कर्ष निकालिएको छ ।
क्षेत्रीय सभापति महेश खरेलले केन्द्रिय सदस्य हुमागाईले पदको दुरुपयोग गर्दै सदस्यता नविकरण तथा नयाँ सदस्यता रोकेको आरोप लगाउनु भयो । ‘केन्द्रिय सदस्य हुमागाईले पदको दुरुपयोग गर्नुभयो’–खरेलले भन्नुभयो–‘हाम्रो समुहको मुद्दा नै त्यहि हो हामी कार्यकर्ता माझ हुमागाईका कारण सदस्यता आउन सकेन भनिरहेका छौं ।’ संस्थापन समुहबाट खरेल जिल्ला सभापतिको उम्मेदवारको तयारी गरिरहनु भएको छ । उक्त समुहमा आचार्यको अलावा उपसभापति अच्युत पौड्याल, गोविन्द थापा, इन्द्रमणी अधिकारी, कुमार लामिछाने, तिर्थ पसखल, शंखबुद्ध लामा, रामकुमार मुल्मी, कञ्चनचन्द्र बादे, विदुर बञ्जारा, प्रकाश थापा लगायतको सहभागिता रहेको छ । उक्त समुहबाट सभापतिको आशा गर्ने थुप्रै ब्यक्तिहरु छन् तर पनि खरेलले आफु सर्वसम्मत उम्मेदवार हुने बताउनु भएको छ ।
उता केन्द्रिय सदस्य शिव हुमागाईको समुहबाट सभापति पदका उम्मेदवारहरु खुलेका छैनन् । स्वंय हुमागाईलाई सर्वसम्मत उम्मेदवार बनाउने पहल पनि भएको छ । ‘कार्यकर्ताहरुको चाहना अनुसार मेरो निर्णय हुन्छ’–हुमागाईले भन्नुभयो–‘जिल्ला सभापति हुन सक्छु, प्रदेशमा उम्मेदवारी दिन्न, केन्द्रिय पदाधिकारीमा पनि प्रस्ताव आएको छ अहिले निर्णय भएको छैन ।’ हुमागाईको अलावा जिल्ला सभापति पदका लागि जिल्ला सचिव दिनेश लामा, तिर्थ लामा, रमेश हुमागाई लगायतको सम्भावना छ । वडाको अधिबेशनबाट क्षेत्रिय प्रतिनिधिहरु निर्वाचित भईसकेका छन् । उनिहरु कुन समुहका नेताहरुलाई मत दिन्छन ? भन्ने हिसाब किताब शुरु भएको छ । आचार्य समुहमा नेता धेरै कार्यकर्ताको संख्या कम छ भने हुमागाई समुहमा नेता कम देखिन्छन् । हुमागाई नै सभापति उठ्ने सम्भावना हुँदा हुमागाईको पक्षमा माहोल बन्ने सम्भावना देखिन्छ भने खरेल सभापतिको उम्मेदवार हुँदा युवाहरुको समुह र पुराना केहि नेताहरुको समर्थन रहने देखिन्छ ।
केहि वडाहरुमा बलियो पक्षले आफु अनुकुल अधिबेशन सम्पन्न गरेको गुनासो परेको छ । बनेपा वडा नम्वर १ र ९ मा राति अवेरसम्म सहमतिका नाममा अल्मल्याउन खोजेर चुनावी कार्यक्रम सम्पन्न गरेको आरोप लागेको छ भने अन्य केहि स्थानमा पनि त्यस्तै गरिएको गुनासो प्राप्त भएको जिल्ला कार्य समितिले जानकारी दिएको छ ।









