पाँच वर्षको अवधिमा काभ्रेपलाञ्चोक जिल्लाबाट महिला ४ सय ९३ जना, पुरुष १ सय १५ जना, बालक ५७ जना र बालिका १ सय ९६ जना गरी ८ सय ६१ जना मानिस हराएका छन् ।
मोतीराम तिमल्सिना
धुलिखेल
सामाजिक सञ्जाल, संचारमाध्यम तथा प्रहरी कार्यालयमा दैनिक मानिस हराएको उजुरी पुग्ने गरेको छ । ब्यक्ति किन हराउँछ ? हराएको ब्यक्ति कहाँ जान्छ ? फर्कन्छ वा फर्कदैन ? फर्कियो भने त्यो सूचना प्रहरीकोमा पुग्छ कि पुग्दैन ? कुन उमेर समुह देखि कुन उमेरसम्मको ब्यक्ति हराउने गरेको छ ? सर्वत्र चासो र चिन्ताको विषय बन्न पुगेको छ । प्रहरी भन्छ ब्यक्तिमा आएको नैराश्यताका कारण ब्यक्तिले घर परिवार, समाज सबै छाडेर एकान्त रोज्न पुग्दो रहेछ । कसैले घर छाडेर हराए पछि आत्महत्या गरेका छन् भने केहि सकुशल फर्किएका छन् । केहिको अझै अत्तोपत्तो छैन ।
बनेपाबाट एक महिना अघि कक्षा १० अध्ययन सकेका बालक र ४५ कटेका ब्यक्ति बेपत्ता भए । मोबाईल र सामाजिक सञ्जाल समेत प्रयोग नगरेका कारण उनिहरुको खोजविनमा कठिनाई भयो । आशंका धेरै भए । प्रहरीले भएका सबै संयन्त्रको प्रयोग ग¥यो तर पनि हराएका ब्यक्तिहरुको उचित जानकारी प्राप्त हुन सकेन । परिवारले उनिहरु घर छाडेर बेपत्ता हुनुको कारण खोज्यो । आफन्तले खोजे । तर केहि भेट्टाउन सकेनन् । हराएर भेटिएका ब्यक्तिहरुको अनुभूतिले भन्छ समाज, घर परिवार र समुदायबाट विरक्त लागेर वेपत्ता हुँदा पनि मर्न सकिएन ? मृत्यु सहज हुन थालेको छ । प्रहरीको अध्ययनले भन्छ–‘हराएका ब्यक्तिहरु कुनै न कुनै मानसिक समस्याका कारण घर छाडेर निस्कने गरेका छन् । केहि फर्कन्छन् भने केहि फर्कन्न । फर्किएकाहरुको सोधपुछका क्रममा उनिहरु जीवनबाट हार खाएका कारण बेपत्ता हुने गरेका छन् ।’
पाँच वर्षमा ८ सय ६१ हराए
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट पाँच आर्थिक वर्षमा ८ सय ६१ जना हराएका छन् । प्रहरीको रेकर्ड अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा १ सय २८ जना हराएका थिए । जसमध्ये महिला ९० जना, पुरुष ९, बालक ९ र बालिका २० जना छन् ।
आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ८५ जना हराए । जसमध्ये महिला १ सय १६ जना, पुरुष १६, बालक १६ र बालिका ३७ जना छन् । आर्थिक वर्ष २०७५÷०७६ मा २ सय ११ जना मानिस हराएका छन् । महिला १ सय १७, पुरुष १३, बालक १५ र बालिका ६६ जना हराएका छन् । पाँच वर्षको बीचमा सबै भन्दा धेरै आर्थिक वर्ष २०७४÷०७५ मा मानिस हराएको प्रहरी तथ्याङ्कले देखाउँछ । २०७६÷०७७ मा १ सय ७० जना हराएका छन् । जसमा महिला ८२, पुरुष ३७, बालक १४ र बालिका ३७ जना रहेका छन् । गत आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ६७ जना हराएका छन् । जसमध्ये ८८ जना महिला, ४० जना पुरुष, ३ बालक र ३६ बालिका रहेका छन् ।
तथ्याङ्कका आधारमा पाँच वर्षको अवधिमा काभ्रेपलाञ्चोक जिल्लाबाट महिला ४ सय ९३ जना, पुरुष १ सय १५ जना, बालक ५७ जना र बालिका १ सय ९६ जना गरी ८ सय ६१ जना मानिस हराएका छन् । हराएका मध्ये केहि बाहेक अधिकांश फेला परेका छन् । कोहि श्रममा लागिरहेका छन् भने कोहि छिमेकी मुलुक भारत पलायन भएका छन् । कोहि सडकमा पुगेका छन् । कोहि अपराधमा संलग्न भएका छन् । कोहि विवाह गरी बसेका छन् भने कोहि अझै वेपत्ता छन् ।
आर्थिक वर्ष २०७७/०७८ को एक वर्षमा हराएका १ सय ६७ मानिसहरु मध्ये ४६ जना अझै फेला पर्न बाँकी छ । हराएका ८८ जना महिलाहरु मध्ये २७ जना प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ भने १७ जना आफै फर्किएका छन् । ३ जना संचारमाध्यमको माध्यमबाट फेला परेका छन् भने विभिन्न संघसंस्थाको पहलबाट १ जना र परिवारको पहलबाट १ जना गरी ५५ जना फेला परेका छन् । अझै हराएका मध्ये ३३ महिला फेला पर्न बाँकी छ ।
पुरुष ४० मध्ये ३३ फेला परेका छन् । ७ जना अझै फेला पर्न बाँकी छ । हराएका मध्ये ९ पुरुष आफै फर्किएका छन् भने १३ जनालाई प्रहरीले फेला पारेको थियो । ७ जनालाई परिवारले फेला पारेको छ । २ जना संचारमाध्यमको माध्यमबाट फर्किए भने २ जना विभिन्न संघ संस्थाहरुको माध्यमबाट फर्किएका छन् । हराएका तीनैजना बालक फेला पर्न बाँकी छन् । ३६ बालिका हराएकोमा ३ जना फेला पर्न बाँकी छन् । ३३ जना बालिका फेला परेको प्रहरीले जानकारी दिएको छ । १७ जना बालिकालाई प्रहरीले फेला पारेको छ भने ४ जना आफै फर्किएर आएका छन् । २ जना संचारमाध्यमबाट फेला परेका छन् । २ जना संघ संस्थाको माध्यमबाट फेला परे ८ जनालाई परिवारले फेला पारेको छ ।
हराएका ब्यक्तिहरुको कथा अलग अलग छन् । प्रहरीले जिल्लामा घटेका विभिन्न अपराधहरु मध्ये उद्धार तथा पुनः स्थापना गरेको छ । जिल्लामा घरेलु हिंसामा परेका १९ महिला र ३ बालिकालाई उद्धार गरेको छ भने अपहरण तथा शरिर बन्धकमा परेका दुई पुरुषको उद्धार गरेको छ । जर्बजस्ति करणीमा परेका ६ महिला र ११ बालिकाको उद्धार गरेको छ । अलपत्र परेका ७ महिला, ५ बालक र ६ बालिका गरी १८ जनाको उद्धार गरेको छ । विभिन्न घटनामा संलग्न भएका २ महिला, २ बालक र ३ बालिका गरी ७ जनाको उद्धार गरेको छ । उद्धार गरिएका सबै ब्यक्तिहरुको पुर्नस्थापना भएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
समुदायसँगको साझेदारीतामा प्रहरी सक्रियता
प्रहरीले समुदायमा हुने हरेखाले अपराध नियन्त्रण तथा रचनात्मक कार्यका लागि समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाएको छ । जिल्लामा उक्त कार्यक्रम अन्र्तगत स्कूल सम्पर्क कार्यक्रम, गाँजा फडानी, सार्वजनिक स्थान सरसफाई, प्रहरीसंँग एकदिन, सेफ्टी पिन क्याम्पियन, बिभिन्न अपराध बिरुद्ध चेतनामुलक कार्यक्रम, कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कार्यक्रम रहेका छन् । उक्त कार्यक्रममा हरेक उमेर समुहका नागरिकहरुको सक्रिय सहभागिता रहेको छ ।









