धुलिखेल/स्क्रब टाईफसका कारण धुलिखेल अस्पतालमा दुई सातामा तीन बालबालिका र एक जेष्ठ नागरिकको निधन भएको छ । कोभिडका कारण समयमै परिक्षण नहुँदा पछिल्लो तीन महिना स्क्रब टाईफस पोजेटिभका विरामी अत्याधिक मात्रामा देखिन थालेका छन् ।
‘स्क्रब टाईफसका कारण धुलिखेल अस्पतालमा परिक्षण गर्न आएका तीन बालबालिकाहरुको निधन भएको छ’–धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. अनिष जोशीले भन्नुभयो–‘स्क्रब टाईफसका कारण धेरै बालबालिकाहरु प्रभावित हुन थालेका छन् ।’ पछिल्लो तीन महिना धुलिखेल अस्पतालमा परिक्षणका लागि आएका विरामीहरु मध्ये १ सय ३१ जनाको परिक्षणमा २० जनामा स्क्रब टाईफस पोजेटिभ देखिएको छ । अस्पतालका मेडिकल माईक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले धुलिखेल अस्पतालमा परिक्षण गरिएका १ सय ३१ ब्यक्ति मध्ये २० जनाको तीन महिनाको अवधीमा पोजेटिभ देखिएको बताउनु भयो । ‘पछिल्लो दुई साता संक्रमित ब्यक्तिहरुको संख्या बढेको छ’–माईक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपले भन्नुभयो–‘पोजेटिभ देखिनेमा १३ महिला र ७ पुरुष छन् । १५ वर्ष भन्दा कम उमेरका ४ जना बालक र ३ बालिका छन् ।’
अस्पतालका आकस्मिक विभाग प्रमुख डा.सानुकृष्ण श्रेष्ठले स्क्रब टाईफसका विरामीको संख्या दैनिक थपिदै गएको बताउनु भयो । ‘आकस्मिक विरामी भएर आउने विरामीहरुको लक्षण स्क्रब टाईफससँग मिल्दोजुल्दो देखिन थालेको छ’–डा. सानुकृष्ण श्रेष्ठले भन्नुभयो–‘भदौ ८ गते पनौती ११ बल्थलीबाट आउनु भएका विरामीलाई २४ घण्टा इमरजेन्सी विभागमै राखेर भेन्टिलेटरमा पठाएका थियौं । उहाँमा स्क्रब टाईफसका कारण शरीरका सबै अंगहरु निष्क्रिय भईसकेको थियो ।’
अस्पतालको इन्टरनल मेडिसनमा कार्यरत डा.प्रकाश सापकोटाले स्क्रब टाईफसका विरामी सातामा १÷२ जना आउन थालेको बताउनु भयो । धान, मकै तथा ओसिलो स्थानमा हुने किर्ना मुसाको माध्यमबाट ब्यक्तिको छालामा टोक्न पुग्छ । किर्नाले टोकेसँगै ब्यक्तिको शरीरमा असर पुग्छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिए लगत्तै परिक्षण गराई औषधी सेवन गर्दा उक्त रोगबाट निको हुन सकिन्छ । किर्नाको टोकाईबाट २ देखि २१ दिनसम्म उक्त रोगको लक्षण देखिन सक्छ । टोकेको स्थानमा कालो दाग देखिन्छ । खेतबारीमा काम गर्ने तथा रुख विरुवा भएका स्थानमा काम गर्ने ब्यक्तिमा उक्त किर्ना मुसाको माध्यमबाट सर्न सक्छ । सामान्य ज्वरो भनेर घरमै बस्दा ब्यक्तिको निधन हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
शिर मेमोरियल अस्पताल बनेपामा पनि सातामा एक दुई जना विरामी स्क्रब टाईफसका विरामी आउन थालेको मेडिकल डाईरेक्टर डा. एन्जिला बस्नेतले बताउनु भयो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जिल्लाका विभिन्न स्थानमा स्क्रब टाईफसका विरामी देखिन थालेकाले स्थानीय पालिका र नागरिकहरु सचेत रहनुपर्ने बताउनु भयो । ‘हामीले स्क्रब टाईफसबाट बच्न र शंका लागेमा तत्काल उपचार गराउन अनुरोध गरेका छौं’–डा. झाले भन्नुभयो । स्क्रब टाईफसको लक्षण देखिएर पनि समयमै उपचार नहुँदा किड्नी, फोक्सो र दिमागमा असर पु¥याई ब्यक्तिको निधन हुन पुग्ने डा. प्रकाश सापकोटाले बताउनु भयो ।









