2026 August 21/ 11:05: 22am

    बनेपा/केन्द्रमा एमाले एक ढिक्का भएसँगै काभ्रेमा पनि एक ढिक्का देखिएको छ । अवसर पाएर पनि पार्टीको नीति, विधि, अनुशासन उल्लंघन गरिरहने केहि ब्यक्तिहरु चोईटिएको अर्काे पार्टीमा सहभागी भएका छन् । २०७२ पौष १ गते सम्पन्न नेकपा एमाले काभ्रेको नवांै जिल्ला अधिबेशनबाट निर्वाचित ६३ जिल्ला कमिटी सदस्यहरु मध्ये तीनजना नयाँ पार्टीमा जाने तयारी गरेका छन् । तीन मध्ये टोकबहादुर वाईवा र बसुन्धरा हुमागाईले सामाजिक सञ्जाल मार्फत नयाँ पार्टीमा समाहित भएको घोषणा गरेका छन् भने मुकुन्द गौतम अझै खुलेका छैनन् । 
    जिल्ला कमिटीमा निर्वाचित हरिदेव गिरी र शिवराज भेटवालको निधन भएको छ । बाँकी ५८ जना नेकपा एमालेमै रहेको बताएका छन् । उपाध्यक्ष अशोक ब्याञ्जुलाई अध्यक्ष घोषणा गरी नेकपा एमालेले संगठित सदस्य नविकरण लगायतका अन्य गतिविधिहरु संचालन गरिरहेको छ । जिल्ला कमिटीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १० जना समावेश गरिएको छ । २०७२ मंसिर २६ गतेबाट शुरु भएको अधिबेशन पौष १ गते सम्पन्न भएको हो । टोकबहादुर वाईवाले अध्यक्ष पदमा ५७५ मत प्राप्त गरेका थिए भने निकटम भिम न्यौपानेले ५ सय ३६ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा ३९ मतले विजयी हासिल गरेका टोकबहादुर वाईवा समुहमा जिल्ला कमिटीका ६३ मध्ये ७ जना निर्वाचित भएको भए पनि अहिले दुई जना मात्रै छन् । संस्थापन समुहबाट निर्वाचित भएका बसुन्धरा हुमागाई वाईवा समुहको पार्टीमा गएका छन् । उपाध्यक्ष पदमा निर्वाचित अशोक ब्याञ्जु, सचिव पदमा निर्वाचित नारायण पाण्डेले ५ सय ७८ मत प्राप्त गरेका थिए भने उप सचिव पदमा निर्वाचित इन्द्रबहादुर तामाङले पदाधिकारी मध्ये सबै भन्दा धेरै ५ सय ९३ मत प्राप्त गरेका थिए । पदाधिकारीमा पराजय हुने मुकुन्द गौतमले जिल्ला कमिटीको सदस्य पदमा विजयी हासिल गरेका थिए । नयाँ पार्टीमा जति सक्रिय देखिएका छन् सबै पार्टी अधिबेशनमा पराजित भएका, पटक पटक अवसर पाएर पनि पार्टी र पार्टीका उम्मेदवारहरुलाई धोका दिएका ब्यक्तिहरु छन् । जिल्ला कमिटीका पूर्व सचिव विदुर सापकोटा, जिल्ला विकास समितिका पूर्व सभापति कृष्णप्रसाद सापकोटा लगायतको समूह नयाँ पार्टीमा कृयाशील देखिएका छन । 
    जिल्ला कमिटीमा खुल्ला सदस्यमा विजयी भएका जेनिश लामा, राकेश लामा, विदुरप्रसाद सापकोटा, राजन भुर्तेल, केशवप्रसाद बडाल, कञ्चन अधिकारी, मुक्ति विष्ट र अमित लामा नेकपा एमालेमा छन् । महिला खुल्ला सदस्यमा विमला शर्मा, शान्ता न्यौपाने, पवित्रा भुर्तेल, मैना दनुवार, गिता बञ्जारा, राममाया श्रेष्ठ, अम्बिका हमाल, सम्झना गौतम र उन्नती केसी ९ जना नै नेकपा एमालेमा कृयाशिल छन् । जनजाति पुरुष तर्फका दुई सदस्य इन्द्रमान तामाङ र विपिन लामा पनि एमालेमै छन् । जनजाति समुहमा रहेका दुई महिला सदस्य नानीमाया लामा र रमिला लामा पनि एमालेमा कृयाशिल छन् । सिमान्तकृत रामबहादुर पहरी, उत्पीडित तर्फका प्रकाश रोक्का, कुमाले मिजार र इन्दिरा मिजार, मजदुर तर्फका केशवमणी पौड्याल र श्रृजना कुँवर रहेका छन् । 
    त्यस्तै निर्वाचन कमिटीमा अध्यक्ष महेश्वर जंगम, उपाध्यक्ष इश्वर बञ्जारा र सचिव यज्ञराज पाण्डे नेकपा एमालेमै छन् । सदस्यहरु शान्ता पन्त, पुर्णचन्द्र सिग्देल, विश्वनाथ अधिकारी र शशिधर ढकाल नेकपा एमालेमै कृयाशिल छन् । लेखा परिक्षण कमिटी अध्यक्ष टिकाबल्धव सापकोटा, उपाध्यक्ष शिवप्रसाद अचाार्य र सचिव निर्मल त्रिपाठी नेकपा एमालेमा कृयाशिल छन् । गणेश लामा, रजनी कर्माचार्य, विक्रम प्रजापति र नानु अर्याल पनि एमालेमा कृयाशिल छन् । साविकको क्षेत्र नम्वर १ बाट निर्वाचित दिलिप घिसिङ्ग, बाबुकृष्ण पन्त, दिलिप तामाङ, श्यामप्रसाद पाण्डेय, घनश्याम तामाङ (गणेश), बबिता खरेल र रविनमाया अस्तानी जिल्ला कमिटी सदस्य नेकपा एमालेमै निर्वाचित छन् । 
    त्यस्तै क्षेत्र नम्वर २ बाट गणबहादुर लामा, विदुरप्रसाद हुमागाई, शेखर लामा, कृष्णचन्द्र आचार्य, बसुनारायण श्रेष्ठ, तारा बस्नेत र मिरा पौडेल निर्वाचित भएका थिए । क्षेत्र नम्वर ३ बाट कुमार तिमल्सिना, बेदप्रसाद तिमल्सिना, रुद्रबहादुर तामाङ, गुणनाथ सापकोटा, तुलप्रसाद दाहाल, उर्मिला बैद्य र माधुरी सापकोटा दुलाल रहेका छन् । क्षेत्र नम्वर ४ बाट प्रेम लामा, कुमारप्रसाद भट्टराई, पुस्कर ढकाल, विनोद पराजुली, सुभद्रा नेपाल आचार्य र सुभद्रा अधिकारी एमालेमा कृयाशिल छन् । सोहि क्षेत्रबाट निर्वाचित एक जना सदस्यको निधन भएको छ । अधिकाशं नेताहरु एमालेमै रहे पछि नयाँ पार्टीमा जिल्ला कमिटी गठन, स्थानीय कमिटी र क्षेत्रिय कमिटीसँगै जनवर्गिय कमिटीहरुका लागि नेता कार्यकर्ताको खडेरी परेको छ । नेकपा एमाले काभ्रेले ८ हजार भन्दा धेरै नयाँ सदस्य थप गरेको छ भने पुराना सदस्यहरुको धमाधम नविकरण गरिरहेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनु भयो । एमाले काभ्रेको इन्चार्ज गोकुल बास्कोटाले १३ वटै पालिकामा संगठनलाई कृयाशिल गराउने गरी खाका प्रस्तुत गर्न जिल्ला कमिटीलाई निर्देशन दिनु भएको थियो । जनप्रतिनिधिहरुको भेला, जनवर्गिय संगठनहरुको भेला लगायतका कार्यहरु भईरहेको अध्यक्ष ब्याञ्जुले जानकारी दिनुभयो । 

जनप्रतिनिधि एक ढिक्का
    स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधिहरु पुरानै पार्टी नेकपा एमालेमा कृयाशिल हुने उद्घोष गरेका छन् । एमाले काभ्रेले १३ वटा स्थानीय तह मध्ये ७ वटामा प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष सहित ५३ स्थानमा वडा अध्यक्ष निर्वाचित गराएको थियो । जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख सहित सबै पदाधिकारीहरु एमालेबाटै निर्वाचित भएका जनप्रतिनिधिहरु विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा एमालेका विरुद्ध काँग्रेस, माओवादीको गठबन्धन थियो । मधेशी जनअधिकार फोरम, राप्रपा, स्वतन्त्रबाट समेत वडा अध्यक्षमा विजयी भएका छन् । त्यसमध्ये मधेशी जनअधिकार फोरम नेपाली काँग्रेसमा समाहित भएसँगै वडा अध्यक्षहरु काँग्रेस भएका छन् । एमाले एक्लैले काभ्रेमा ५७ स्थानमा वडा अध्यक्ष जितेको थियो । काभ्रेमा १ सय ३५ वटा वडा अध्यक्ष छन् ।