धुलिखेल/धुलिखेल अस्पतालले कोरोना भाईरसको महामारीलाई अवसरका रुपमा लिएको छ । महामारी नियन्त्रणमा भएका प्रयास र अभ्यासहरुले अस्पतालले आगामी दिनमा अझै ठुला संकटहरुको सामना गर्न आवश्यक पर्ने जनशक्ति र सामाग्री तयारी अवस्थामा राख्न सक्षम भएको छ ।
महामारीका कारण ठुलो जनधनको क्षति भए पनि अस्पतालहरुमा थपिएका स्वास्थ्य उपकरण तथा दक्ष जनशक्तिका कारण आगामी दिनमा नागरिकहरुले सहज र सर्वसुलभ तरिकाको सेवा प्राप्त गर्ने अवसर जुटेको अस्पतालका प्रशासकिय निर्देशक रमेश माकजुले बताउनु भयो । नेपाल सरकारले धुलिखेल अस्पताललाई विभिन्न उपकरण खरिदका लागि मात्रै ११ करोड भन्दा धेरै रकम उपलब्ध गराएको छ । अस्पतालमा भएका भेन्टिलेटरहरुको संख्या ३० पु¥याईएको छ । जसका कारण भेन्टिलेटर अभावका कारण विरामीलाई पर्न सक्ने असहज परिस्थितिलाई न्युन गराईएको छ । कोभिड १९ को संक्रमणका कारण उपचार गराउने विरामीहरुको संख्या अहिले पनि अस्पतालमा ५० नाघेको छ । दैनिक १ सय भन्दा धेरै विरामीहरुलाई कोभिडको उपचार गराएको धुलिखेल अस्पतालले एचडियु शैयालाई पनि विस्तार गरेको छ । सरकारले एचडियु सेटअपका लागि मात्रै अस्पताललाई ९ करोड ७० लाख रकम उपलब्ध गराएको छ । यसअघि सानो ठुलो गरी दुईवटा रहेको अक्सिजन प्लान्ट निर्माणका लागि थप रकम उपलब्ध गराएको छ । अब अस्पतालमा अर्काे अक्सिजन प्लान्ट जडान हुनेछ । जसका कारण यसअघि दोश्रो चरणको संक्रमणमा अक्सिजन नभएकै कारण विरामीहरुले ज्यान गुमाउनु परेको कारुणिक दृश्य तेश्रो चरणको संक्रमणमा देखिने छैन ।
सरकारले बालबालिकाहरुका लागि अलग्गै आईसियु सहितको शैया तयारी गर्न थप रकम उपलब्ध गराएको छ । बच्चाहरुका लागि ४० वटा भन्दा धेरै शैया तयार गरेको धुलिखेल अस्पतालका लागि सरकारले पटक पटक गरी कोभिड महामारीको बीचमा पूर्वाधार निर्माणका लागि ११ करोड भन्दा धेरै रकम उपलब्ध गराएको प्रशासकिय निर्देशक रमेश माकजुले बताउनु भयो । कोभिड १९ को महामारीलाई अस्पतालले अनेक कष्टका बाबजुद पनि अवसरका रुपमा लिएको निर्देशक माकजुले बताउनु भयो ।









