2026 August 21/ 12:42: 47pm

       धुलिखेल/अखिल नेपाल किसान महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी मार्फत सुकुम्बासी, अब्यवस्थित बसोबासी र भुमिहिनहरुका लागि जग्गा ब्यवस्थापन गर्न गठित आयोग विघटन गरेकोमा आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ ।

       जिल्ला अध्यक्ष विदुरप्रसाद हुमागाई, साधुराम बडाल, धुलिखेल नगरपालिका उपप्रमुख एवं नेकपा एमाले नेतृ विमला शर्मा, विद्यार्थी तथा युवा संघ संगठनका अध्यक्षहरु, किसान महासंघका नेता तथा कार्यकर्ताहरुको सहभागितामा ज्ञापनपत्र बुझाईएको थियो । आयोगले काम शुरु गरी अन्तिम चरणमा पुगेको अवस्थामा आयोग विघटन गरी सुकम्बासीहरुको जग्गा प्राप्ति गर्ने सपनामा लात हानेको भन्दै किसान महासंघले विरोध स्वरुप ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा देशभरका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन बनेको आयोगका पदाधिकारीहरु चित्त नुबझेको भए हटाउनु पर्नेमा आयोग नै खारेज गरेर राजनीतिक प्रतिशोध लिएको भन्दै विरोध गरिएको छ । आयोग खारेजीको निर्णय तत्काल फिर्ता लिई सुकुम्बासी र भुमिहिन नागरिकहरुलाई जग्गाको मालिक बन्ने अधिकारबाट बञ्चित नगर्न महासंघले माग गरेको छ । यस अघि पनि पटक पटक गठन भएका आयोगहरुले फाराम संकलन गरी सुकुम्बासीहरुलाई आश मात्रै देखाउने काम भएको थियो । काभ्रेपलाञ्चोक जिल्लाको हकमा झण्डै २० हजार परिवार अब्यवस्थित बसोबासी, सुकुम्बासी र भुमिहिन छन् । उनिहरुको लगत संकलन गर्ने कार्य शुरु भईसकेको थियो । केहि महिना भित्रै आयोगले सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने योजना बनाएको थियो ।