धुलिखेल/पूर्वाधार विकास कार्यालय धुलिखेलले कोभिड महामारीका बीच संघ र प्रदेश सरकारबाट विनियोजन भएको पूँजीगत र चालु खर्चमा संघ तर्फको बजेटमा शतप्रतिशत र प्रादेशिक बजेटमा ९५ प्रतिशत सफलता प्राप्त गरेको छ । स्थानीय, प्रदेश र संघ सरकार मार्फत विनियोजन रकमले बर्षेनी ५० किलोमिटर भन्दा धेरै सडक पीच भएको छ । बर्षेनी थपिदै गएको कालोपत्रे टिकाउन मर्मत सम्भारको अलग्गै कोष निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
विनियोजन भएका कार्यक्रमहरु मध्ये पूर्वाधार विकास कार्यालयले हेर्ने सडक तथा सडक पुल हुन् । समपूरक अनुदानमा लाकुरी भञ्ज्याङ्ग कुशादेवी पनौती नमोबुद्ध सडक स्तरोन्नती तथा कालोपत्रेका कार्य धमाधम भईरहेको छ । बहुवर्षिय ठेक्का अन्र्तगत रहेको उक्त सडकको लगभग ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । ५ करोड भन्दा माथीका ३ वटा योजना सबै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले बताउनु भयो । १ देखि ५ करोडसम्मका २१ वटा योजना सम्पन्न भएका छन् । १ करोड भन्दा कमका १ सय ७२ वटा योजनामा १ सय ३ वटा मात्रै सम्पन्न भएका छन् । ४१ वटाका ठेक्का सम्झौता भएको छ भने २८ वटा योजना कार्यान्वयन हुन सकेका छैनन् । कुल १ सय ९६ वटा योजनामा २८ वटा योजना सम्झौता हुन नसकेको कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा पूर्वाधार कार्यालय अन्र्तगत विनियोजन भएका योजनाहरु मार्फत ३.७ किमी सडक नयाँ ट्रयाक खोलिएको छ भने मर्मत सम्भार सहितको संरचना निर्माण ५०.९६ किलोमिटर भएको छ । त्यस्तै नियमित मर्मत १८.२ किमी, सब बेस स्तरोन्नती ५ किमी, कालेपत्रे सडक २४.३ किमी र ढलान सडक १.५ किमी थप भएको छ । प्रदेश सरकार गठन भए पछि सडक निर्माणको कार्यले दु्रत गति लिएको प्रमुख रेग्मीले बताउनु भयो ।
रेग्मीले आर्थिक वर्षको अन्त्यसम्ममा २६ किमी सडक कालोपत्रे भएको, ५ वटा सडक पुलहरुको निर्माण सम्पन्न भएको, १ हजार ३ सय ३६ मिटर सडक ढलान गरिएको, ९३ वटा योजनाहरु बार्षिक लक्ष्य अनुसार सम्पन्न भएको जानकारी दिनु भएको छ । कार्यालयमा ७ करोड ३६ लाख ९१ हजार २ सय ५३ रुपैया बेरुजु रहेको रेग्मीले बताउनु भयो । अघिल्लो आर्थिक वर्ष भित्र सम्पन्न हुनु पर्ने बनेपा पनौती खोपासी सडक तथा जिल्लाका अन्य मुख्य मुख्य सडक कोरोना भाईरस र वर्षातका कारण समयमै सम्पन्न हुन सकेका छैनन् ।









