2026 August 20/ 08:07: 46am

    खानीखोला/जिल्लाको विकट खानीखोला गाउँपालिकामा उपाध्यक्ष रुकमेणी गुरुङले २०७७ श्रावण देखि २०७८ आषाढसम्म स्वास्थ्य चौकी तथा घर÷घरमा सुत्केरी भएका सुत्केरी आमा तथा बच्चाको लागि सुत्केरी सामाग्रीहरु उपलब्ध गराउनु भएको छ । सुरक्षित प्रसूति र स्वास्थ्य सन्देश सहितका सामाग्री  कोशेलीका रुपमा उपलब्ध गराएको उपाध्यक्ष गुरुङले बताउनु भयो । 
     ‘एक वर्षको अवधीमा गाउँपालिकामा उक्त समुहमा १ सय २९ जना महिलालाई कोसेली सहितको स्वास्थ्य सन्देश भएका सामाग्री उपलब्ध गराएँ’–उपाध्यक्ष रुकमेणी गुरुङले भन्नुभयो–‘ सुत्केरीलाई पोषिलो खाद्य पदार्थ र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएँ ।’ पछ्यौरी, हर्लिक्स आधा के.जी., ज्वानो एक केजी, स्यानिटाईजर, बेबि साबुन, माक्स एक प्याकेट, लुगा धुने साबुन एक केजी कोशेली स्वरुप प्रदान गरिएको छ । प्रत्येक सुत्केरी महिलालाइ भेटघाट गरि घर÷घरमा गई कोशेली बितरण गर्ने कार्यक्रम भए पनि कोभिड १९ महामारीको कारण घर÷घर गई कोशेली बितरणको सट्टा सम्वन्धित स्वास्थ्य चौकी मार्फत कोशेली वितरण गरिएको उपाध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो । चालू आर्थिक वर्षदेखि ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ शुरुआत गरिएको उहाँले बताउनु भयो । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममा सुत्केरीलाई पोषिलो खाद्य पदार्थ र स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो ।
    गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले कार्यक्रममा आफ्नो क्षेत्रको जनताले सेवा सुविधामा बञ्चित नगराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उपाध्यक्ष गुरुङले कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिन तयारीमा रहेको उद्घोष गर्नु भयो । स्वास्थ्य शाखा प्रमुख रामपुकार यादवले कार्यक्रमको उपयोगिता बारे प्रकाश पार्नु भयो । गाउँपालिकामा रहेको फलामेटार स्वास्थ्य चौकी, डाडागाँउ स्वास्थ्य चौकी, मिल्चे स्वास्थ्य चौकी, साल्धारी स्वास्थ्य चौकी र तालढुगा स्वास्थ्य चौकीमा गरि १ सय ९ जना सुत्केरीलाई स्वास्थ्य चौकी मार्फत स्वास्थ्यकर्मी, गाउपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, वडा अध्यक्षहरु तथा गाउपालिकाको कर्मचारीको उपस्थितमा तालढुगा स्वास्थ्य चौकीमा उपाध्यक्ष रुकमेणी गुरुङको अध्यक्षतामा कोशेली बितरण गरिएको थियो । गाउँपालिकाका प्रवक्ता मानवहादुर गोलेले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।
    सुत्केरी भएका महिलाका घर÷घरमा पुगेर सामग्री वितरण गर्न कोभिडको कारणले नसकी सुरक्षित प्रसूतिबारे जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य चौकी मार्फत कार्यक्रम शुरु गरेको खानीखोला गाउँपालिकाले प्रत्येक वडामा तिन÷तिन महिनामा गर्भवतीको स्वास्थ्य परीक्षणका लागि भिडियो एक्स–रे शिविर सञ्चालन गर्न व्यवस्था गरिएको भएता पनि स्वास्थ्य परीक्षण गर्ने कर्मचारीको अभाव र खटाइएको कर्मचारी भनेको ठाउँमा काम नगरी दिदा थप उपचारका लागि गाउँपालिका भन्दा बाहिर पठाउन नसकी बालबालिकाको ज्यान जाने गरेको गाउँपालिकाका अधिकृत मोहन श्रेष्ठले जानकारी दिए । सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा बढी सचेत हुनुपर्ने उनले बताए । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागी चालू आर्थिक वर्षमा गाउँपालिकाले केही रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद अधिकारीले जानकारी दिनु भयो । आउँदो आर्थिक वर्षमा अझ प्रभावकारी बनाउँदै लैजान थप आवश्यक बजेटको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।