2026 August 21/ 12:41: 57pm


    धुलिखेल/भुकम्प पछिको पुनर्निर्माणका लागि सर्भे गरिएका ९८ हजार १९ घर धुरी मध्ये लाभग्राहीको सूचीमा परेका ८० हजार ९ सय ३३ घरहरुको पुनर्निर्माणमा ८२.५७ प्रतिशत सफलता प्राप्त भएको छ । असार मसान्तसम्ममा जिल्लामा सम्झौता भएका मध्ये ८३ प्रतिशत घरको अन्तिम किस्ता लिई सकिएको हो । 
    पुनर्निर्माणका लागि ७७ हजार १ सय २१ घर परिवारले प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता बापतको ५० हजार लिएका थिए । पहिलो किस्ता लिएर घर नबनाउनेहरुको संख्या अब थोरै रहेको प्राधिकरणले बताएको छ । त्यस्तै २ हजार २ सय ८८ जनाले रेट्रो फिटिङ्गका लागि सम्झौता गरेका थिए । भुकम्पको अनुदान प्राप्त गर्ने कुल घर परिवारको संख्या ७९ हजार ४ सय ९ रहेको थियो । जसमध्ये ९४ प्रतिशत ब्यक्तिहरुले सम्झौता अनुसारको रकम बुझि लगेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको तथ्याङ्क अनुसार पहिलो किस्ता लिएका ९४ प्रतिशत मध्ये दोश्रो किस्ता लिनेहरुको संख्या ८१.२५ प्रतिशत रहेको छ । ६८ हजार ८ सय ६४ घर परिवारले दोश्रो किस्ता लिएर घर निर्माण गरेका थिए । उनिहरु मध्ये तेश्रो किस्ता लिएर घर सम्पन्न गर्नेहरुको संख्या ६४ हजार १ सय ७३ अथार्त ७९.२९ प्रतिशत रहेको छ । भुकम्प पछिको पुनर्निर्माणलाई ग्रामिण भेगमा प्रयोगमा आउने घरहरु निर्माण हुन नसकेको गुनासो छ । अनुदानका लागि निर्माण भएका घरहरुबाट ब्यक्ति र परिवारको आवश्यकता पूरा हुन नसकेको अनुगमनका क्रममा गुनासा प्राप्त भएका थिए । 
    जिल्ला आयोजना कार्यान्वयन इकाईले पुनर्निर्माण नगर्नेहरु मध्ये २ सय ५ जनाले रकम फिर्ता गरेको बताएको छ । आयोजना इकाई मार्फत पुल र सडक निर्माणको कार्य पनि भएको थियो ।