2026 August 21/ 02:40: 25pm

मोतीराम तिमल्सिना
धुलिखेल

    धुलिखेल नगरपालिकाको नवौं अधिबेशनले धु्लिखेल, बनेपा, पनौती र आसपासका पालिकाहरु समेटेर उपमहानगर पालिका बनाउने निर्णय गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको नगर सभाको बैठकले उक्त निर्णय गरेको हो । 
    ‘धुलिखेल, बनेपा र पनौती नगरपालिका लगायत आसपासका पालिकाहरुलाई एकीकृत गरी उपमहानगरपालिका बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘नगरको नवौ अधिबेशनबाट पारित ३३ वटा विशेष प्रस्ताव सहित उपमहानगरपालिका बनाउने निर्णय गरिएको छ ।’ धुलिखेल, बनेपा, पनौती र बेथान्चोक गाउँपालिकामा एकीकृत विकासको प्रारम्भ शुरु गरिसकिएको छ । पाँचखाल र नमोबुद्ध नगरपालिकाका केहि वडाहरुमा पनि पालिका स्तरीय योजनाहरु साझेदारी गरिएको छ । उपमहानगरपालिका निर्माणका लागि आवश्यक पर्ने पूर्वाधार, जनसंख्या तथा अन्य विषयहरुका विषयमा धुलिखेल र आसपासका सबै पालिकाहरुको समन्वय हुन सके सम्भावना छ । 
    ५५ वर्ग किलोमिटर फैलिएको धुलिखेलमा १२ वटा कायम गरिएको छ । पनौती नगरपालिका १ सय १८.०९ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । पनौतीले पनि १२ वटा वडालाई १३ वटा बनाउने निर्णय गरेको छ । पनौतीको वडा नम्वर १ रयालेलाई दुईवटा बनाउने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ । त्यस्तै बनेपा नगरपालिकामा १४ वटा छन् । १४ वटा वडाहरू मिलेर बनेको बनेपा नगरपालिकाको क्षेत्रफल ५४.५९ बर्ग कि.मी. रहेको छ ।  क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा धेरै जनसंख्या भएको नगरपालिका हो । आसपासमा रहेको बेथान्चोक गाउँपालिका, पाँचखाल र नमोबुद्ध नगरपालिकाका केहि वडाहरु पनि उपमहानगरपालिकाका लागि आवश्यक पर्छ । 
    धुलिखेल नगरपालिकामा ७ हजार ६१ घरधुरी रहेको छ । धुलिखेलमा पनि यो १० वर्ष अघिको तथ्याङ्क हो । अहिले झण्डै २ हजार घरधुरी बढेको नगरपालिकाको तथ्याङ्कले देखाउँछ । जसमा महिला १६ हजार ६ सय ७८ र पुरुष १५ हजार ४ सय ८४ गरी कुल ३२ हजार १ सय ६२ जनसंख्या रहेको छ । जनसंख्या पनि १० वर्षको बीचमा बढेको नगरपालिकाले जनाएको छ । औषत परिवार संख्या धुलिखेलमा ४.५५ रहेको छ । साक्षरताको हिसावले ९८.०७ रहेको छ । काभ्रेपलाञ्चोक जिल्ला आफै साक्षर घोषणा भएकाले जिल्लाका अन्य पालिकाहरुमा पनि साक्षर दर ९० प्रतिशत भन्दा माथी रहेको छ । धुलिखेल नगरपालिकाको सिमानामा पाँचखाल, नमोबुद्ध, पनौती र बनेपा पर्छन । राजधानी देखि ३०  किमी पुर्वमा रहेको धुलिखेल नगरपालिकाको प्राय अधिकांश भाग पहाडी  भूभागले ढाकेको छ । मिश्रित जनजातिले बसोबास गरेको नगरमा नेवार समूदायको बाहुल्यता छ । पहाडी भूभागले ओगटेता पनि सबैजसो वडामा खानेपानी, बिजुली र सडकको सुविधा उपलब्ध छ । काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण धुलिखेल नगरपालिका क्षेत्र भित्र केहि वर्ष यतादेखि बसोबासको चाप बढ्न थालेको छ । धुलिखेल नगरपालिका सुरुदेखि नै पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । नगरपालिकाको वार्ड नम्वर ६ को मैनेभीरको डााँडामा अत्याधुनिक साधन सम्पन्न धुलिखेल सामुदामयिक अस्पताल संचालनमा रहेको छ । यसले हजारौ स्वदेशी तथा विदेशीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । 
    त्यस्तै नगरपालिकाको वडा नम्वर ४ भ्याण्डोलमा अन्तराष्ट्रिय स्तरको  काठमाण्डौ विश्वविद्यालय संचालनमा रहेको  छ । नेपालकै नमूनाको रुपमा सञ्चालित खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्रबाट नमूनाको रुपमा बायोग्याँस उत्पादन भएको छ । नगरपालिका भित्र खानेपानी, विद्युत तथा अन्य विविध सुविधाहरु रहेको हुनाले विभन्न होटलहरु समेत संचालनमा रहेका छन । नगरको मध्यभाग भएर जाने अरनिको (कोदारी) राजमार्गका कारण यस नगर तिब्बती ब्यापारको केन्द्र विन्दु नै बनेको छ भने विपी राजमार्गको प्रवेशद्धार पनि धुलिखेल नै भएकाले यसबाट थप लाभान्वित हुन पुगेको छ । साविकको धुलिखेलमा नित्यचण्डेश्वरी काभ्रे, पातलेखेत, शारदा बतासेका केहि वडाहरु, रविओपी र देविटार गाविसका केहि वडाहरु समेटिएका छन् । पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि धुलिखेलको प्रमुख विशेषता हो ।
    बनेपा नगरपालिकामा घरधुरी संख्या १२ हजार १ सय ६ रहेको छ । यो २०६८ सालको जनगणना हो । अहिले झण्डै ३ हजार घरधुरी र जनसंख्या थपिएको नगरपालिकाले जनाएको छ । कोभिड १९ का कारण हुन नसकेको जनगणना पुनः सूचारु हुन सकेको अवस्थामा एक महिना भित्रै बास्तविक घरधुरी संख्या र जनसंख्याको विवरण आउन सक्थ्यो । बनेपा नगरपालिकामा पुरूष २७ हजार ३ सय ५ र महिला २८ हजार ३ सय २३ गरि जम्मा ५५ हजार ६ सय २८ जनसंख्या रहेको छ । बनेपा नगरपालिकाको छिमेकी पालिकाहरु धुलिखेल, पनौती, मण्डनदेउपुर जिल्ला भित्रको सिमानामा पर्छन् भने भक्तपुरका केहि पालिकाहरु पनि सिमानामा पर्छन । पूर्वमा ’रक्तचन्दन’ भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउँठाउँमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपा नगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।
    ‘गोपाल राजवंशावली’ मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपा क्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वद्र्धधनहरू थिए । लामो र ऐतिहासिकता बोकेको साविक बनेपा विस्तार हुँदै जिल्लाको धेरै जनसंख्या भएको तर भौगोलिक रुपले सानो नगरपालिकाका रुपमा चिनिएको छ । साविकको बनेपामा उग्रचण्डी नाला र टुकुचा नाला, जनागाल, नासिका साँगा र महेन्द्रज्योती गाविस गाभिएका थिए । बनेपालाई अलग राखेर यि पाँचवटा गाविसको अलग केन्द्र बनाउने तयारी पनि भएको थियो । समग्र जिल्लाको केन्द्र बनेपालाई ब्यापारीक, धार्मिक र कृषिसँग जोडेर हेर्न सकिन्छ । विशेषगरी पुर्वी जिल्लाहरुको नाका बनेपा जिल्लाको मात्रै नभई पुर्वी नाकाको केन्द्रका रुपमा चिनिएको छ । तीनवटा नगरपालिका र अन्य पालीका एकीकृत हुँदा पनि बनेपालाई केन्द्रका रुपमा लिन सकिन्छ । 
    २०५३ साल माघ ११ गते  घोषणा भएको पनौती नगरपालिका २०७३ फाल्गुन २७ मा साविकको अवस्थाबाट पुनः संरचित भई साविकको पनौती नगरपालिका तथा कुशादेवी, रयाले विहावर, कलाती भुमिडांडा, बल्थली, शारदा बतासे (३,४,९) र शंखुचौर (४) गा.वि.स.लाई समावेश गरि हालको पनौती नगरपालिकाको रुपमा गठन भएको हो । नगरपालिकालाई १२ वडामा विभक्त गरिएको छ । पूर्वमा धुलिखेल, पश्चिममा ललितपुर र भक्तपुर जिल्ला, उत्तरमा बनेपा न.पा र भक्तपुर जिल्ला, दक्षिणमा बेथानचोक गा.पा र ललितपुर जिल्ला पनौती नगरका सीमा हुन । नगरमा  १० हजार ८ सय ४४  घरधुरी रहेको छ भने जम्मा जनसंखया ५६ हजार ३ सय २९ रहेको छ । यो पनि जनगणना २०६८ को तथ्याङ्क हो । ग्रामिण क्षेत्रको बाहुल्यता भएको यो नगरका अधिकांश नागरिकको प्रमुख आम्दानीको श्रोत कृषि उत्पादन नै हो । आलु, धान, सुन्तला र दुग्ध पदार्थ यहाँका प्रमुख उत्पादन हुन् । हालका वर्षहरुमा हरियो तरकारी उत्पादनले समेत व्यवसायिक रुप लिंदैछ । स–साना घरेलु उद्योग, पसल वयवसाय र दुग्ध प्रशोधन केन्द्र लगायत प्लाइउड÷ काष्ठ उद्योग बाहेक नोकरी समेत यहाँका पेशा बनेको छ । पनौती नगरपालिका ऐतिहासिक पुरातात्विक प्राचिन एवं धार्मिक दृष्टिले समेत अत्यन्त महत्व राख्दछ । थुप्रै मौलिक संस्कृति र परम्पराको धनी पनौतीमा विभिन्न जात्रा, पर्व पूजा नियमित जसो चलिरहन्छन ्। प्रत्येक बाह्र वर्षको माघ महिनामा त्रिवेणी घाटमा लाग्ने मकर मेला, १२ वर्षमा हुने हरिसिद्धि देवताको जात्रा, प्रत्येक वर्ष हुने ज्या पून्हि (पनौती जात्रा) देवीनाच भद्रकाली नाच, विस्केट जात्रा, रंगनाथ (मन्दिर) जात्रा, माधवनारायण मेला लगायत अनगिन्ति मेला पर्वले पनौतीको सांस्कृतिक भव्यतालाई उँचो बनाइ राखेको छ ।
    छिमेकी पालिकाहरु पाँचखाल, नमोबुद्ध र बेथान्चोकका आफ्नै विशेषता छन् । एकीकृत उपमहानरपालिका हुन सकेको अवस्थामा समग्र काभ्रेको विकासका लागि थप महत्वपूर्ण अर्थ राख्नेछ । धुलिखेलको उक्त निर्णय पछि बनेपा, पनौती र अन्य पालिकाहरुले पनि यसलाई ग्रहण गर्न सकेको अवस्थामा जिल्लामा एउटा उपमहानगरपालिका हुनेछ । साधनश्रोतको सदुपयोग र नागरिकहरुको जीवनस्तर उकास्न उपमहानगरपालिकाले थप सहयोग पु-याउनेछ ।