2026 August 21/ 11:29: 36am

    मण्डन/सिन्धुपाल्चोकको मेलम्ची लगायतका स्थान बगाउने गरी आएको बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाका केहि स्थानमा क्षति पुगेको छ । सिन्धुपाल्चोकबाट बगाएर ल्याएका दुई शव मध्ये काभ्रेको प्रहरीले एकलाई सिन्धुपाल्चोक हस्तान्तारण गरेको छ भने अर्काे एक जनालाई उद्दार गर्न नसकेका कारण खोलाले बगाएर लगेको छ । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं प्रवक्ता हरि खतिवडाका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सिमानामा पर्ने सडक, स्थानीयहरुका खेत तथा बारीहरुमा क्षति पु¥याएको छ । ‘हिगुवापाटी तथा सिमाना क्षेत्रमा स्थानीयहरुले लगाएका धान, मकै तथा अन्य बालीहरु नष्ट गरेको छ, मेलम्ची पुग्ने सडक पनि पानीको वहावले छिनालेको अवस्थामा छ’– प्रवक्ता डिएस्पी हरि खतिवडाले भन्नुभयो–‘प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल सहितको सुरक्षा समितिको टोलीले उक्त स्थानहरुको अवलोकन गरी स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन सचेत गराएर फर्किएको छ ।’ बाढीका कारण दुरसञ्चारका सबै नेटवर्क अवरुद्ध छन् । विद्युत्त सेवा बन्द छ । स्थानीयहरुले आफन्तसँग सम्पर्क गर्न तथा भएको सूचना प्रवाह गर्न र कस्तो अवस्थामा रहेको जानकारी गराउन समेत सकिरहेका छैनन । सिन्धुपाल्चोकको घटनाबाट कति क्षति भयो भन्ने यकिन तथ्याङ्ग अझै प्राप्त हुन सकेको छैन । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको भुम्लु गाउँपालिका स्थित फलाँटेमा बगाउँदै आएको शवको उद्धार गर्न प्रहरीले गरेको प्रयास सफल हुन सकेन । हिगुवापाटीमा निर्वस्त्र फेला परेको शवलाई सिन्धुपाल्चोक प्रहरीलाई बुझाएको छ । शवको पहिचान गर्न कठिन भए पछि हातमा रहेको औठीका आधारमा पहिचान गर्न सहज हुने अपेक्षा सहित सिन्धुपाल्चोक हस्तान्तरण गरिएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो । इन्द्रावती खोलामा सिन्धुपाल्चोकबाट बगाएर ल्याएका सर्वसाधारणका घरायसी सामानहरु देखिन थालेका छन् । ति सामाग्रीका कारण खोला फेरी थुनिन गई काभ्रेको सिपाघाट, हिगुवापाटी, फलाँटे, दोलालघाट तथा इन्द्रावती र सुनकोशी किनारमा हुन सक्ने सम्भावित जोखिमलाई प्रहरीले माईकिङ्ग मार्फत सचेत गराएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रिले जानकारी दिनु भयो । 
    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरलले जिल्लाका हरेक बस्तिहरुमा नागरिकहरुलाई सचेत रहन अनुरोध गरिएको छ । सम्र्पक विच्छेद भएका पालिकाहरुमा समेत प्रहरीको सेट मार्फत खवर गर्न र नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । सिन्धुपाल्चोकमा गएको बाढीका कारण जिल्लाका विभिन्न स्थानमा हुन सक्ने क्षतिका बारेमा पुर्व तयारी तथा अन्य ब्यवस्थापनमा ध्यान दिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो । 

अलपत्र परेकाहरुको उद्धार
    नेपाली सेनाले मेलम्चीबाट बाढीका कारण अलपत्र परेकाहरुको उद्धार गरेको छ । उद्धार गरी धुलिखेल अस्पताल ल्याई काठमाडौ पठाएको छ । साँझसम्म ७२ जनालाई हेलिकप्टर मार्फत धुलिखेल अस्पताल ल्याईएको थियो ।  ति मध्ये एक जनालाई अस्पतालको इमरजेन्सी विभागमा भर्ना गरी विएण्डवि रिफर गरिएको छ ।