2026 August 20/ 03:24: 00am

मोतीराम तिमल्सिना
धुलिखेल

    बढ्दो कोरोना संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेले ७ दिने निषेधाज्ञा जारी गरेको छ । विशेष क्षेत्र तोकेर गरेको निषेधाज्ञाको अटेर पनि भईरहेको छ । ब्यक्ति आफै जिम्मेवार नबन्दासम्म सरकार एक्लैको प्रयासमा संक्रमण रोक्न सम्भव छैन । प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधी बढ्ने सम्भावना छ । 
    प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १३ वटै स्थानीय तहमा संक्रमण फैलन नदिन र संक्रमण रोक्न तथा संक्रमित ब्यक्तिहरुको उपचारका लागि ध्यान दिने गरी कार्ययोजना बनाउने निर्णय गरेको छ । विपद् ब्यवस्थापन समितिको बैठकमा मनसुन पूर्वको तयारीका साथै कोभिड महामारी नियन्त्रणको विपद् रोक्न ध्यान दिनुपर्ने निश्कर्ष निकालिएको थियो । ‘शुक्रबार दिउँसो जिल्लाका स्थानीय सरकारका प्रमुखहरुलाई बैठकमा बोलाएर बोलाईएको थियो, उक्त बैठक पछि मनसुन पूर्व र कोभिड नियन्त्रणका बारेमा छलफल भएको थियो’ –प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो । 
    बैठकमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले तत्काल जिल्लाका सम्भावित क्षेत्रहरु बनेपा, धुलिखेल, पनौती तथा आसपासका शहरी क्षेत्र, यातायात लगायतमा निषेधाज्ञा लगाउनु पर्ने बताउनु भएको थियो । ‘स्थानीय तहले विगतमा जस्तो कोभिड नियन्त्रणमा चासो र सक्रियता देखाएका छैनन्’–डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘सरकार र जिल्ला संकट ब्यवस्थापन केन्द्रले पटक–पटक बैठकबाट आईसोलेसन सेन्टर बनाउन निर्देशन दिएको छ तर स्थानीय तहले मानेकै छैनन् ।’ ‘संक्रमितको संख्या ३ सय ११ पुगिसकेको, स्वास्थ्य मन्त्रालयले अति संवेदनशिल जिल्ला घोषणा गरेको, संक्रमितहरुको अक्सिजनको लेभल घट्दै गएको र उपचारका लागि कठिन परिस्थिती सिर्जना भईसकेको छ’–डा.झाले भन्नुभयो–‘संक्रमण रोक्न निषेधाज्ञा लगायत अन्य सुरक्षाका उपाय अपनाउँदै संक्रमण फैलन दिनु हुँदैन ।’ 
    स्थानीय तहकै अटेरीका कारण दैनिक हुने भोज बढिरहेको छ । भोजमै सहभागिहरुलाई संक्रमण फैलिएको छ । एकजनाको निधन पनि भएको छ । धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारले अस्पतालले १ सय बेड कोभिड १९ का विरामीहरुलाई तयारी अवस्थामा राखिएको बताउनु भयो । ४ वटा भेन्टिलेटर र २१ वटा एचडिओ सहितको तयारी भएको उहाँले बताउनु भयो । शिर मेमोरियल अस्पताल बनेपाकी डा. एन्जिला बस्नेतले शिर मेमोरियल अस्पतालमा २० शैया तयारी अवस्थामा राखिएको बताउनु भयो । अस्पतालमा आवश्यक पर्ने औषधी र उपकरणहरुको अभाव रहेको बताउनु भयो । कोभिड १९ को भयावह अवस्था सिर्जना भएकाले अक्सिजन लगायतका सामाग्रीको ब्यवस्थापनका लागि डा. एन्जिलाले अनुरोध गर्नु भयो । कोभिडकै महामारीका बीच राष्ट्रिय परिचयपत्र, जनगणनाका कार्यक्रम जारी छन् । 
    स्थानीय प्रशासनले जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्र्तगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गरेको छ । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र भित्र निषेधाज्ञा हुनेछ । पनौती, बनेपा र धुलिखेलका केहि क्षेत्र संक्रमणको मुख्य केन्द्र बनिरहेको छ । राजमार्ग संचालनमा आईरहँदा आवतजावत धेरै हुने र संक्रमण फैलने भएकाले निषेधाज्ञा गर्ने तयारी गरिएको हो । शुक्रबार आयोजना गरिएको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा सहभागि अधिकांश स्थानीय सरकार प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुले संवेदनशील हुन अनुरोध गरेको थियो । 
    विपद् ब्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मनसुन पूर्व तयारीका बारेमा जानकारी गराउनु भएको थियो । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, रोशी गाउँपालिका प्रमुख डिबी लामा, बेथान्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा लगायतले विपद र संक्रमण रोक्न स्थानीय सरकार र प्रशासन बीच समन्वय आवश्यक रहेको बताउनु भयो । सोहि बैठकमा प्रमुख प्रशासकिय अधिकृतहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए । 

कसले के भने ? 
उद्धव केसी
प्रमुख, जिल्ला समन्वय समिति 

    संक्रमण फैलँदै गएकाले सबै चनाखो र सचेत हुनु जरुरी छ । विशेषगरी होटल, पसल, पार्टी प्यालेसहरु, विवाहका भोजहरु पूर्ण रुपमा बन्द गरिनु पर्छ । ब्यक्तिको लार्पवाहिका कारण फैलनसक्ने संक्रमण नियन्त्रण गर्न कानुनको कार्यान्वयन र प्रशासन तथा स्थानीय सरकारको तदारुकता आवश्यक छ । अस्पतालहरुमा पूर्ण रुपमा उपचारको ब्यवस्थाका लागि स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन आवश्यक सहयोग र समन्वयको खाँचो छ । एकजना पनि ब्यक्तिले उपचार नपाएर छटपटिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ । त्यसका लागि जिल्लामा भएका सबै पक्षहरुको समन्वय र सहकार्य जरुरी छ । 

अशोक ब्याञ्जु 
अध्यक्ष, नेपाल नगरपालिका संघ
प्रमुख, धुलिखेल नगरपालिका

    कोभिड नियन्त्रणका लागि धुलिखेल नगरपालिकाले १ करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले नगरबासिहरुका लागि संक्रमित भएको अवस्थामा होम आईसोलेसनमा बसी अक्सिजन प्रयोग गर्नु पर्ने अवस्थामा त्यसको ब्यवस्थापन तथा अस्पताल पुग्नु पर्ने भएमा निशुल्क एम्बुलेन्सको ब्यवस्थापन गर्ने निर्णय गरेको छ । धुलिखेल नगरपालिका, धुलिखेल भित्र रहेका स्वास्थ्य संस्था र नगरपालिका आफैले आईसोलेसनको ब्यवस्थापन गरी नगरबासिहरुको उपचारमा ध्यान दिएको छ । आवश्यक परे संक्रमित ब्यक्तिहरुको थप उपचारका लागि नगरपालिकाले आवश्यक ब्यवस्थापन गर्ने र उक्त क्षेत्रमा निशेधाज्ञा, शिल तथा अन्य उपायका बारेमा तयारी अवस्थामा रहने गरी निर्णय गरेका छौं । नगरबासिहरुलाई सचेत र सजग रहन भिडभाड हुने क्षेत्रमा नजान, अन्यत्र हिडडुल गर्दा सुरक्षाका उपाय अपनाउन र विवाह, व्रतवन्ध तथा सामाजिक संस्कारमा न्युनतम मापदण्ड पालना गर्न अनुरोध गरेका छौं । नगरबासीहरुको हितका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्ने गराउने र आवश्यक पूर्व तयारी गरिएको छ । 

टिपी शर्मा तिमल्सिना
प्रमुख, नमोबुद्ध नगरपालिका

        महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नमोबुद्ध नगरपालिकामा २५ शैयाको आइसोलेसन वार्ड स्थापना गर्ने तयारीमा छौं । जनक बहुमुखी क्याम्पसमा नगरपालिकाले आइसोलेसन वार्डको तयारी गरेको छ । प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालसँगै जोडिएको आइसोलेसन वार्ड स्थापनाका लागि तयारी सुरु भइसकेको र केही दिनमै वार्ड स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरेका छौ । मुख्य शहरहरुमा कडाई गरिनु पर्छ । राजमार्ग बन्द नहुँदासम्म संक्रमण रोक्न कठिन छ । अन्तर जिल्ला र पालिकाहरुसँगको समन्वयमा महामारी नियन्त्रण गरिनेछ । 
लक्ष्म नरसिं बादे
प्रमुख, बनेपा नगरपालिका

    बनेपा नगरपालिकाले अघिल्लो वर्षझै यो वर्ष पनि संक्रमण फैलन नदिन र संक्रमित ब्यक्तिहरुको उपचारमा ध्यान दिएको छ । समुदायमा संक्रमण पुगिसकेकाले ब्यक्तिहरु आफै सचेत हुनु जरुरी छ । बनेपा नगरपालिका सिमामा पनि भएकाले सिमामा हुने आवतजावत नियन्त्रण र शहरी क्षेत्रमा भएका पसलहरुमा हुने भिडभाड, यातायातको नियन्त्रण जरुरी छ । हामी त्यसकै प्रयासमा छौं । नागरिकहरुको उपचारका लागि डाक्टर, अक्सिजन र औषधि सहितको ५० बेडको आईसोलेसन तयारी गरेका छौं । संक्रमण दर बढिरहेकाले सबै नागरिकहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दछौं । 
सलामसिं लामा
अध्यक्ष, तेमाल गाउँपालिका

    तेमाल गाउँपालिकामा अघिल्लो वर्ष २७ जना संक्रमित भए । एकजना पनि नागरिकले कोरोनाका कारण ज्यान गुमाउन परेन । यो वर्ष ४ जना संक्रमित भएका छन् । उहाँहरु पनि तेमाल गाउँपालिकामा छैनन । तर पनि पालिकाले विपद ब्यवस्थापन कोष मार्फत त्यसको ब्यवस्थापनका लागि आवश्यक तयारी गरेको छ । आईसोलेसन सेन्टरका लागि गतवर्ष खरिद गरेका सामाग्रीहरु तयारी अवस्थामा राखिएको छ । नागरिकहरुलाई संक्रमण फैलन सक्ने सम्भावनाका बारेमा जानकारी र सचेत गराउँदै संक्रमित भएको अवस्थामा गाउँपालिकाले गर्नु पर्ने ब्यवस्थापनका बारेमा तयारी गरेका छौ । केहि बाहेक अन्य सेवा तत्कालका लागि बन्द गरी नागरिकहरुको जीवन रक्षाको पहल गरिरहेका छौ । 
कान्छालाल जिम्बा
अध्यक्ष, महाभारत गाउँपालिका

    महाभारत गाउँपालिका आफैमा विकट पालिकाका रुपमा लिईन्छ । यहाँ विरामी हुँदा अस्पतालसम्म लैजाने ब्यवस्था गरे पनि विकटता कारण सम्भव छैन । त्यहि कारण महाभारत गाउँपालिकाले घर्तिछाप, गोकुले, गाउँपालिकाको कार्यालय लगायतका स्थानमा आवश्यक आईसोलेसन तयार गरेका छौं । विगतमा डाक्टर सहितको सुविधा थियो । अहिले हामीले अन्य स्वास्थ्यकर्मीहरु मार्फत संक्रमण फैलन नदिन र संक्रमण भए पछि उपचारको ब्यवस्था गरेका छौं । नागरिकहरुले अनुशासनको पालना मात्रै गरिदिनु भयो भने संक्रमण रोक्न सम्भव छ । सबैलाई सचेत भई आफ्नो कार्य नियमित राख्न अनुरोध गर्दछु । 
प्रेमबहादुर तिमल्सिना
अध्यक्ष
बेथान्चोक गाउँपालिका

        बेथान्चोक गाउँपालिकाले पनि नागरिकहरुको सुरक्षाका लागि विशेष बाहेक अन्य सेवा बन्द गरेको छ । जिल्लाकै अग्लो स्थान बेथान्चोक नारायणस्थान लगायतका अन्य धार्मिक तथा पर्यटकिय क्षेत्रहरुमा जान बन्द गरिएको छ । यातायात बन्द गरिएको छ । अत्यावश्यक बाहेक अन्य पसलहरु खोल्न र भिडभाड गर्न पूर्ण रुपमा रोक लगाईएको छ । नागरिकहरुलाई रोग लाग्नै नदिने र रोग लागि सकेपछिको उपचार ब्यवस्था मिलाएका छौं । संक्रमण फैलन नदिन विगतमा जस्तै तयारी गरिएको छ । 
दिनानाथ गौतम
अध्यक्ष, चौरीदेउराली गाउँपालिका

    पालिकाका सबै वडाका नागरिकहरुलाई सचेत रहन पटक पटक अनुरोध गरेका छौं । यो बेला अत्यावश्यक बाहेकका अन्य सेवाहरुलाई बन्द गरिएको छ । नागरिकहरुको जीवन पहिलो शर्त राख्दै हामीले परिक्षण गर्ने, आईसोलेसन कक्ष तयार गर्ने र नागरिकहरुको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीहरु, एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छौं । नागरिकहरु कोभिडका कारण मात्रै नभई अन्य कारण पनि संकटमा पर्ने भएकाले सबै हिसावले संकट समाधानका लागि हामी तयारी अवस्थामा छौ । बजार क्षेत्रमा भिडभाड नगर्न, गाउँ फर्किएका नागरिकहरुले दुरी कायम राखी घर परिवार र समुदायमा ध्यान दिन अनुरोध गरेका छौं । नागरिकहरुलाई संक्रमणबाट बचाउन हामी पूर्ण तयारी अवस्थामा छौं । 
शिवराम पोखरेल
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय

    सरकाले संक्रमण फैलन नदिन अर्थात रोकथाम, नियन्त्रण र उपचारका लागि ब्यवस्थापन गरेको ऐन अनुसार काभ्रेपलाञ्चोक जिल्लामा पनि सचेतना अपनाईएको छ । त्यहि अधिकारको प्रयोग गर्दै संक्रमण फैलन नदिन निषेधाज्ञा देखि अन्य उपाय गरेका छौं । २०७८ वैशाख १९ गते आइतबार राती १२ बजेबाट लागु हुने गरी अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सदरमुकाम, पाँचखाल बजारक्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मीटर क्षेत्र, बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ बायाँ ५०० मीटर, बनेपा–पनौती–खोपासी सडकको दायाँ बायाँ ५०० मीटर, बिपी राजमार्गको धुलिखेलचोक, काभ्रेभन्ज्याङ–भकुण्डेवेंशी हुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ २०० मीटरसम्मको क्षेत्र, पाँचखाल जिरो किलो–हेलम्बु राजमार्गको कुन्तावेंशीसम्म सडकको दायाँ बायाँ २०० मीटर क्षेत्र भित्र निषेधाज्ञा गरिएको छ । त्यस्तै नमोबुद्ध पनौती हुँदै ललितपुर जाने सहायक मार्ग, पनौती बास्डोल हुँदै बनेपाको भैसेपाटी जाने सडक क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । अत्यावस्यक बाहेक सबै सेवा बन्द गरिएको छ । यसलाई कडाईका साथ पालना गर्ने योजनाका साथ हामी अघि बढेका छौं । अस्पतालहरुमा उपचारको ब्यवस्था साथै पालिकाहरुमा आईसोलेसनको ब्यवस्था गरिएको छ । कसैलाई संकट परेको अवस्थामा तत्काल नजिकका पालिकाका स्वास्थ्य शाखाहरु तथा जिल्ला संकट ब्यवस्थापन केन्द्रमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
कृष्णबहादुर खुलाल
अध्यक्ष
खानीखोला गाउँपालिका

    खानीखोला गाउँपालिकाले नागरिकहरुको आवतजावत रोक्न जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञालाई आधार बनाएर पनौती खानीखोला आवतजावत सडकमा चल्ने सवारी बन्द  गरेका छौं । संक्रमण आउन नदिन गाउँ फर्किएका नागरिकहरु घर भित्रै आईसोलेसनमा बस्न अनुरोध गरेका छौं । सम्पर्कका आधारमा परिक्षण गर्ने र उपचार गर्ने अभियानमा सबै वडामा रहेका स्वास्थ्य चौकीहरुलाई तयारी अवस्थामा राखेका छौं । नागरिकहरु सचेत हुँदा संक्रमण नफैलने भएकाले त्यसमा ध्यान दिन अनुरोध गरेका छौं । अरु तयारीमा हामीले कमी हुन दिएका छैनौं । पालिकाले आईसोलेसन बनाउने गरी डाक्टर सहितको ब्यवस्थापन गरेका छौं । 
भिम न्यौपाने
प्रमुख, 
पनौती नगरपालिका

    पनौती अहिले सबैभन्दा धेरै जोखिम भएको नगरपालिकाका रुपमा चिनिएको छ । पनौती १० खोपासीमा भएको विवाह र विवाह पछि देखिएको संक्रमण ब्यवस्थापन गर्न आवश्यक उपायहरु अपनाएका छौं । निरन्तर सम्पर्कमा भएका ब्यक्तिहरुको स्वाब संकलन गरी परिक्षणको कार्य तिब्र बनाएका छौं । विवाह, व्रतबन्ध तथा अन्य संस्कारहरुमा भिडभाड हुन नदिन अनुरोध गरेका छौं । पहिलो रोग लाग्नै नदिन नगरबासीहरुलाई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न अनुरोध गरेका छौं । दोश्रो रोग लागिसके पछिको अवस्थमा उपचारका लागि ध्यान दिएका छौं । आईसोलेसन तयारी गर्ने, अस्पताल पु¥याउने र निरन्तर सम्पर्कमा रहने काम भएको छ । प्रशासनले लगाएको निषेधाज्ञालाई कडाईका साथ पालना गराउने अभियानमा सक्रिय छौं । 
टोकबहादुर वाईवा
प्रमुख, मण्डनदेउपुर नगरपालिका

    मण्डन देउपुर नगरपालिकाले कोभिड लगायतका अन्य विपद् नियन्त्रण गर्न २ करोड कोषमा सञ्चित गरेको छ । विगत वर्षको अनुभवले यो वर्ष कोरोना भाईरसको नियन्त्रणका लागि विशेष सतर्कता अपनाईएको भए पनि नागरिकहरु सजग र सचेत नहुँदासम्म सम्भव छैन । अहिले मेलम्ची जाने सडक र कुन्ता बजार क्षेत्र मात्रै बन्द गरिए पनि समुदायमा फैलिसकेको कोरोना नियन्त्रणका लागि स्वास्थ्यका उपायहरु अवलम्वन गर्ने, आईसोलेसन निर्माण गर्ने र शहरबाट गाउँ फर्किनेहरुको निगरानी बढाउने कार्य गरिरहेका छौं । नाकामा कडाई हुन सकेन भने संक्रमण रोक्न सम्वभ छैन । सबै पक्ष सक्रिय हुनु जरुरी छ । महामारी नियन्त्रणमा संघ र प्रदेश सरकारको आवश्यक मात्रामा सहयोग हुन सकेन । 
महेश खरेल
प्रमुख, पाँचखाल नगरपालिका

    संक्रमण डरलाग्दो रुपमा फैलिसकेको छ । यसको रोकथामका लागि ढिलाई गर्नु हुन्न । सबै पक्षको समन्वय र सहकार्य आवश्यक छ । पाँचखाल नगरपालिकाले १५ शैयाको स्वास्थ्यकर्मी सहितको आईसोलेसन वार्ड निर्माण गरिसकेको छ । यसका अलावा नागरिकहरुको स्वास्थ्यलाई ख्याल गरी नगरपालिकाले सचेत र सजग रहन अपिल जारी गरी भिडभाड हुने क्षेत्रमा आवश्यक निगरानी बढाएको छ । प्रशासनले जारी गरेको निषेज्ञाको पूर्ण कार्यान्वयन गरी नागरिकहरुको जीवन रक्षाका लागि नगरपालिकाले सबै नगरबासिहरुमा अनुरोध गरेको छ । मुख्य भिडभाड हुने क्षेत्रमा नागरिकहरुको जमघट रोक्न र सचेतना अपनाउन हामीले अपिल गरेका छौं । हामीले पनि अन्य पालिकामा जस्तै संक्रमण हुन नदिन र भईहालेमा उपचार गर्ने गरी तयारी अवस्थामा सक्रिय भएका छौं । विगतको अभ्यासले हामीले धेरै कुरा सिकेर त्यसको अनुभव कार्यान्वयन गरिरहेका छौं । 
गुमानध्वज कुँवर
अध्यक्ष 
भुम्लु गाउँपालिका

    भुम्लु गाउँपालिकाले अघिल्लो वर्ष देखिकै तयारीलाई निरन्तरता दिएका छौं । हामीसँग ३० बेडको आईसोलेसन कक्ष र डाक्टर सहितको सुविधा उपलब्ध गराएका छौं । नागरिकहरुलाई सचेत रहन अनुरोध गरेका छौं । दोलालघाट लगायतको क्षेत्रमा निषेधाज्ञा कायम गरिएकाले ओहोर दोहोर बन्द गर्न, होटल पसल नखोल्न अनुरोध गरेका छौं । संक्रमण फैलन नदिन नागरिकहरुले कायम राख्नु पर्ने सामाजिक दुरी कायम राख्न, सेचत रहन अपिल गर्दछौं । संक्रमण भई सकेपछि उहाँहरुको रेखदेख र उपचारमा स्थानीय सरकारले आवश्यक समन्वय र सहजिकरण गर्ने छ ।
डिवि लामा
अध्यक्ष, 
रोशी गाउँपालिका

    कोराना महामारी नियन्त्रणमा हामी विगतमा जस्तै सक्रिय भएका छौं । विशेषगरी पुर्वी क्षेत्र हुँदै आउने सवारी साधनका कारण रोशी गाउँपालिकाको राजमार्ग क्षेत्र त्रसित छ । नागरिकहरुको सुरक्षाका लागि रोशी गाउँपालिकाले आईसोलेसन निर्माण गर्ने, संक्रमण हुन नदिन भिडभाड नियन्त्रण गर्ने, होटल पसलहरु अत्यावश्यक बाहेक खोल्न नदिने र त्यसको पनि समयसिमा तोक्ने, संक्रमण भएकाहरुलाई सकेसम्म होम आईसोलेसन र त्यहाँ उपचार सम्भव नभएकाहरुलाई गाउँपालिकाको आईसोलेसन तथा अस्पतालसम्म पु¥याउन स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु सक्रिय भएका छौं । तत्काल उद्धारका लागि हामीले तयारी गरेका छौं । अन्य पालिकामा जस्तै रोशीको पनि समस्या उस्तै छ । स्थिती भयावह हुन नदिन हामी सक्रिय भएका छौं । नागरिकहरुलाई सचेत रहन हामी अपिल गर्दछौं । रोशी र नमोबुद्ध बीचको सम्झौतामा ४० वेडको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।