2026 November 18/ 01:55: 34am

जिल्लामा ८,४९४ जना प्राथमिकतामा
    धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेले दोश्रो चरणको खोप फागुन २ गते आईतबारबाट शुरु गरेको छ । पहिलो चरणमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईएको थियो । दोश्रो चरणमा ५ हजार ब्यक्तिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । तयारी गरेका मध्ये अधिकांशले खोप सेवा लिईरहेका छन् । बाँकी ब्यक्तिहरुलाई तेश्रो चरणमा लगाउने डा. झाले बताउनु भयो । नेपाल पत्रकार महासंघ र स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा जिल्लाका सबै कृयाशिल संचारकर्मीहरुलाई खोप लगाईएको हो । 
    ‘२०७७ फागुन २ गते देखि फागुन ७ गतेसम्म विहान ९ बजे देखि दिउँसो ३ बजेसम्म जिल्लाको धुलिखेल अस्पताल र मेथिन्कोट अस्पतालमा नेपाल सरकारको निर्णय अनुसार दोश्रो चरणको कोभिड विरुद्धको खोप शुरु गरिएको हो’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘लक्षित समुहमा परेका ब्यक्तिहरुले तोकिएको अवधी भित्र खोप लगाउन अनुरोध गरेका छौं । खोप लगाउन आउँदा पहिचान खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।’
    पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरु, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु, नेपाल प्रहरी, प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी, संचारकर्मीहरु, नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यत्तिहरुलाई खोप लगाईएको थियो । हरेक कार्यालयले आफ्नो कार्यालयमा कार्यरत २० प्रतिशत कर्मचारीहरुलाई दैनिक खोप लगाउने ब्यवस्था मिलाएका थिए ।
    जिल्लाको मेथिन्कोट अस्पतालमा नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकाका लक्षित समुहका ब्यक्तिहरु तथा धुलिखेल अस्पतालमा बाँकी पालिकालाई कार्य क्षेत्र बनाउने लक्षित समुहका ब्यक्तिहरुलाई खोप लगाईएको थियो । तेश्रो चरणमा वित्तिय संस्थाका कर्मचारीहरु, शिक्षक तथा अन्य क्षेत्रका ब्यक्तिहरुलाई खोप लगाईनेछ । पहिलो चरणमा खोप लगाईएका ब्यक्तिहरुलाई हल्का ज्वरो आउने, जिउ दुख्ने बाहेक अन्य केहि नभएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । धुलिखेल र मेथिन्कोट अस्पतालले खोप लगाई सके पछि हुन सक्ने सम्भावित लक्षणहरुको उपचार गर्ने पूर्व तयारी गरेको छ । दोश्रो चरणमा खोप लगाएकाहरुलाई पनि समस्या नदेखिएको डा. झाले बताउनु भयो ।