माघ १६ र १७ गते मतदाता नामावलीमा दावी विरोध
धुलिखेल/सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेसँगै निर्वाचनको तयारी तिब्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेले निर्वाचन तयारी स्वरुप माघ १६ र १७ गते मतदाता नामावली सम्बन्धी दावी विरोध गर्न मतदाताहरुलाई सूचित गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार मतदाता नामावली दावी विरोधका लागि प्रत्येक पालिकाहरुको केन्द्रमा एकजना सहायक नाम दर्ता अधिकारी खटाईएको छ । ब्यक्तिको निधन भएको, नाम वा ठेगाना फरक भएको, नहुनु पर्ने ब्यक्तिको नाम भएको अवस्थामा मतदाताहरुले दावि विरोध गर्न सक्ने गरी माघ १६ र १७ गतेको समय तोकिएको छ । उक्त समय भित्र दावि विरोध नगरेको अवस्थामा दावि विरोध लाग्ने छैन । माघ २४ गते अन्तिम नामावली जिल्ला निर्वाचन कार्यालय काभ्रेले निर्वाचन आयोगमा पठाउनेछ । २०७७ पुष ५ गते देखि मतदाता नामावली थप गर्न रोक लगाए पछि जिल्लामा मतदाताहरुको नामावली अद्यावधिक शुरु गरिएको हो । नागरिकता बनाए सँगै मतदाता नामावलीमा फोटो खिचाउनेहरुले १८ वर्ष नपुगी मतदानमा भाग लिन पाउने छैनन । जिल्लामा फोटो खिचाएर मतदाता सूचीमा नपर्नेहरुको संख्या धेरै छ । जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा, प्रदेश सभा चारवटा रहेका छन् । प्रत्येक प्रतिनिधि सभामा दुई दुईवटा प्रदेश सभा रहेका छन् । उक्त निर्वाचनका लागि २ हजार ८ सय कर्मचारी र ३ हजार ५ सय सुरक्षाकर्मीको तयारी आवश्यक छ ।
जिल्ला निर्वाचन कार्यालयले काभ्रेपलाञ्चोकले मध्यावधी निर्वाचनको तयारी स्वरुप राजनीतिक दलहरु सम्मिलित सर्वदलिय बैठक सम्पन्न गरेको छ । पौष २८ गते सम्पन्न पहिलो बैठकले माघ ७ गते बुधबार दोश्रो बैठक बस्ने निर्णय गरेको थियो । सोहि बैठकले जिल्लाका अधिकांश मतदान केन्द्र पुरानै कायम गर्ने निर्णय गरेको छ । मध्यावधी निर्वाचनका लागि २ लाख ८२ हजार ५ सय ५५ मतदाता सुचिकृत भएका छन् । २०७४ मा २ लाख ७२ हजार २ सय ९२ मतदाताले भाग लिने अवसर प्राप्त गरेका थिए ।
फेरबदल भएका मतदान केन्द्रहरुमा खानीखोला गाउँपालिकाको हनुमान शक्ति आधारभुत विद्यालय जुरेको भृकुटी माविमा सारिएको छ । तेमाल गाउँपालिकाको सरस्वती मावि कल्लेरी फेदिचेको मतदान केन्द्र तेमाल माविमा सारिएको छ । धुलिखेल नगरपालिकाको पंचकन्या माध्यमिक विद्यालय नाम राखिएकोमा आधारभुत विद्यालय कायम गरिएको छ । विद्यालयको तह घटुवा भएकाले मात्रै नाम संशोधन गरिएको हो । धुलिखेल वडा नम्वर ९ को बक्षलादेवी आधारभुत विद्यालयमा कायम गरिएको छ । पनौती नगरपालिकाको साविक गाविस भवनलाई वडा भवन कायम गरिएको छ भने फुलचोकी मावीका नाममा आधारभुत विद्यालय कायम गरिएको छ । त्यस्तै विहावर मावि पाटीचौरको विद्यालयलाई वडा नम्वर ३ को नयाँ पुलमा सारिएको छ । वडा नम्वर ५ को श्वेत गणेश माविलाई आधारभुत विद्यालयको नाम कायम गरिएको छ । विद्यालयहरुको तह घटुवा भएसँगै विद्यालयको नाम परिवर्तन गरिएको, गाविस भवनलाई वडा कार्यालय कायम गरी केन्द्रको नाम परिवर्तन गरिएको हो ।
पाँचखाल नगरपालिका वडा नम्वर २ अनेकोटको गाविस भवनमा रहेको मतदान केन्द्रलाई बाल प्रतिभा आधारभुत विद्यालय अनेकोटमा सारिएको छ । वडा नम्वर १ र २ को एकै स्थानमा मतदान केन्द्र हुँदा वडा नम्वर २ का मतदातालाई अपायक परेको थियो । बनेपा ११ सरस्वती सामुदायिक महिला भवन पाकुडोलमा रहेको मतदान केन्द्र एबिएम स्कुलमा सारिएको छ । नाम जे भए पनि यसअघिका सबै निर्वाचन एबिएम स्कुलमा हुँदै आएको थियो ।





