धुलिखेल/कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले चाडवाडमा संक्रमण फैलन नदिन पूर्व तयारी गरेको छ । संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले संक्रमण फैलन नदिन आवश्यक तयारी गर्ने निर्णय गरेको हो । दैनिक संक्रमणका कारण ब्यक्तिहरुको निधन हुन थालेपछि अन्त्येष्टिमा समस्या देखिएको छ ।
कोभिड–१९ का संक्रमणका कारण मृत्युदर दिन प्रतिदिन जिल्लामा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै हाल प्रयोगमा आएको पशुपति स्थित विद्युतिय शवदाह गृहमा शव व्यवस्थापनको चाप बढ्दै गएका कारण कोभिड–१९ बाट मृत्यु हुन गएका शवको वैकल्पिक व्यवस्थापनका निमित्त जिल्ला स्थित १३ वटै पालिकाहरुले आ–आप्mनो पालिका क्षेत्र भित्र उपयुक्त कोभिड शव व्यवस्थापनका लागि स्थानको पहिचान गर्ने अनुरोध गरेको छ । संक्रमतिहरुको अस्पतालमा मात्र नभई घरमा पनि निधन हुन थालेपछि शव अन्त्येष्टिमा समस्या देखिएको हो ।
कोभिड १९ को संक्रमण बढेकाले जिल्लावासी नागरिकहरुलाई आफू रहेकै स्थानमा बसी दशैं, तिहार, छठ लगायतका चाडपर्व मनाउन आह्वान गर्ने साथै १३ वटै स्थानीय तहहरुले टोल–टोलमा माइकिङ लागायतका अन्य उपयुक्त माध्यमबाट कोभिड–१९ को संक्रमण र रोकथाम सम्बन्धी सचेतना र जनजागरणका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले असोज ३० गते ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लागाउन सक्ने निर्देशन गरेको छ । सोहि निर्देशन अनुसार जिल्लामा ५ सय भन्दा माथि सक्रिय संक्रमित रहेकाले बढी भिडभाड हुने सेवा प्रदायक सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा आईतबारबाट अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो । विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा नेपालीहरुको महान चाड बडादशैंमा घटस्थापनादेखि नवरात्रभर विभिन्न शक्तिपीठ तथा मन्दिरहरुका साथै स्थापना गरिने दुर्गा भवानीको पण्डालमा सर्वसाधारणहरुको भिड हुन नदिन जिल्लाका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजा बाहेक दर्शनका लागि सर्वसाधारणहरुलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । सोहि निर्णय सम्बन्धित स्थानीय तहहरु र सरोकारवाला सबैका लागि जानकारी गराएको छ । चाडपर्वहरुलाई ध्यानमा राखी जिल्लामा रहेका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँगको समन्वयमा सडक पेटी तथा अन्य स्थानमा अव्यवस्थित तवरबाट पसल, व्यापार, व्यवसाय आदि सञ्चालन गर्न नदिने निर्णय गरेको छ । तर स्थानीय सरकारले उक्त निर्णयको कार्यान्वयन भन्दा अवज्ञा गरिरहेका छन् ।
त्यस्तै संकट ब्यवस्थापन केन्द्रले ईन्द्रेश्वर मा.वि. पनौतीमा रहेको क्वारेन्टिनको सुरक्षा व्यवस्थाको निमित्त विष्णुदल गण काभ्रे र भुम्लु गा.पा. स्थित प्रकाश मा.वि. मा रहेको क्वारेन्टिनको सुरक्षा व्यवस्थाको निमित्त सशस्त्र प्रहरी बल नेपाल १५ नम्वर गण हेड क्वाटर पाँचखाललाई जिम्मेवारी तोकिएकोमा उल्लेखित दुवै स्थानका क्वारेन्टिन १९ दिन देखि खाली रहेको हुँदा उक्त दुवै स्थानको सुरक्षा टोली फिर्ता गर्ने निर्णय गरेको छ ।
सुरक्षा निकाय उच्च सतर्कतामा
काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप जिल्लाको सिमावर्ती क्षेत्रमा विप्लब एवं अन्य समूहहरुबाट हुन सक्ने आपराधिक एबम अवाञ्छित गतिविधिहरुलाई निस्तेज पार्न तिनवटै जिल्लाका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । एक अर्कामा सुचना आदान प्रदान गरी त्यस्ता व्यक्ति तथा समुहको निगरानी, पहिचान, सुरक्षा चेकजाँचमा कडाइ गर्ने र तीनवटै जिल्लाका सिमा क्षेत्रमा गस्ती बृद्धि गर्ने, साथै आवश्यकताअनुसार संयुक्त रुपमा गस्ती तथा पेट्रलिङमा बृद्धि गर्ने निर्णय गरेको छ ।
सीमा क्षेत्रका नदिहरुबाट नदिजन्य पदार्थको अवैध उत्खनन्, बनपैदावार तथा बन्यजन्तु अवैध ओसारपास नियन्त्रण गर्न तीनवटै जिल्लाका सुरक्षा निकायहरु समन्वयात्मक रुपमा थप क्रियाशिल भई परिचालित हुने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भएको छ । प्रतिबन्धित समुह (विप्लब) ले चाडपर्वको अवसरलाई लक्षित गरी गर्न सक्ने गतिविधि नियन्त्रण, चन्दा असुली लगाएत अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न तिन वटै जिल्लाका सुरक्षा निकाय विच एक अर्कामा सुचना आदान प्रदान गरी त्यस्ता गतिविधि नियन्त्रण गर्ने, लागु औषध कारोबारी तथा दुव्र्यसनिलाई नियन्त्रण तथा निरुत्साहित गर्न तिन वटै जिल्लाका प्रवेश विन्दुहरुमा लागु औषध नियन्त्रण बिशेष अभियान संचालन गर्ने, चाडपर्व समेतलाई मध्य नजर गरी काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन तिन वटै जिल्लाका सुरक्षा निकायले सिमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षाकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउने, कोभिड १९ को संक्रमणबाट तिन जिल्लाहरु पनि प्रभावित भएको हुँदा तीनवटै जिल्लाको सिमा क्षेत्र लगायत समग्र जिल्लामा रोकथाम तथा न्युनीकरणका लागि एक अर्का जिल्लामा कार्यान्वयनमा ल्याएका उत्तम अभ्यासहरुलाई एक आपसमा अनुसरण गर्दै रोकथाम तथा न्युनिकरणमा संयुक्त प्रयास गर्ने निर्णय गरेको छ ।
त्यस्तै नजिकिदै गरेको चाडबाडको समयमा सडकमा सार्वजनिक सवारी साधनको संख्यामा बढोत्तरी भएसंगै सवारी दुर्घटनाको जोखिम बढ्न जाने देखिएकाले तिव्र गतिमा सवारी चलाउन नदिन सडकमा सुरक्षकर्मीबाट गरिने चेकजाँचलाई तिन वटै जिल्लाको समन्वयमा कडाई गर्ने निर्णय गरेको छ ।





