प्रत्येक वडा पुग्ने सडक पक्की बन्दै
बनेपा/बनेपा नगरपालिकाको पुरानो बजार चारदोवाटो चोक अस्पताल मार्ग देखी तिनधारा हुँदै विद्युत प्राधिकरणसम्मको एक किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
बनेपा नगरपालिकाको वडा नम्बर ७, ५, ८ र ९ वडा जोड्ने सडकको कालोपत्रे गरिएको हो । सडक कालोपत्रे गर्न बागमति प्रदेश सरकार बाट १ करोड र बनेपा नगरपालिका बाट १ करोड गरी २ करोड बजेट विनियोजन गरिएको थियो । नगरपालिकाका योजना अधिकृत यज्ञ बैधका अनुसार नगरपालिकाले उक्त सडक निर्माणका लागि बोलपत्र आब्हान गरेको थियो । निर्माण ब्यवसायी मार्फत समयमै उक्त सडकको निर्माण कार्य सम्पन्न भएको हो । सडक कालोपत्रेको जिम्मा विजय विल्डर्स प्रालिले पाएको थियो । बनेपा नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को योजना अनुसार उक्त सडकमा कालोपत्रे गरिएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । नगरमा आर्थिक वर्ष २०७७÷०७८ मा सबै वडा सम्म पुग्ने सडक कालोपत्रे हुने बताउनु भयो । नगरमा विकासका तिब्र रुपले अगाडी बढिरहेको बादेले बताउनु भयो । नगरलाई खुल्ला दिशा मुक्त, साक्षर नगर घोषणा गरिसकेकाले बाल मैत्री नगर घोषणा गर्ने उहाँले बताउनु भयो ।
कालोपत्रे सडक निर्माणको बागमती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, वडा अध्यक्षहरु वर्ण शाक्य, बलराम अधिकारी, वडा सदस्यहरु सागर मानन्धर, अनिल भैल, नेकपा जिल्ला सदस्य कुमार तिमल्सिना, युवा नेता रत्नकुश रञ्जित लगायतले अनुगमन गर्नु भएको थियो । बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न कृयाकलाप संचालन गरेको छ । १२ प्रतिशतको हाराहारीमा जन सहभागिता परिचालन, एकीकृत खानेपानी अन्तिम चरणमा पु¥याईएको, बनेपा वजारको प्रमुख सडक स्तरोन्नती कार्य शुरु हुँदै, कोभिडको माहामारीको अवस्थामा समेत विकासको कार्यलाई लक्ष्य अनुसार अगाडी बढाईएको, सिसिटिभि तथा इन्टरनेट सहितको ५०÷५० बेडको क्वारिन्टाईन र आईशोलेशन निर्माण तथा सञ्चालन, बिदेशबाट फर्केकाहरुको लगत संकलन, अनुगमन र आरडिटी परिक्षण, एम्बुलेन्सको पार्टेसन र जिपिएस जडान गर्ने काम भएको छ । कोभिड १९ र क्वारेन्टाईन सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई तालिम तथा पिआरटी, आरआरटी र सिआईसिटी टिम गठन गरेको छ ।





