आफु रहेकै स्थानमा दशैं मान्न आव्हान, सुरक्षा निकाय उच्च सतर्कतामा
चाडवाड नजिकिदै गर्दा बजारमा भिडभाड बढिरहेको छ । संक्रमणले नागरिकहरुको ज्यान लिने र जोखिम बढाउने कार्य भईरहेको छ । तीन तहकै सरकारले नागरिकहरुलाई उपलब्ध गराउने सेवा कटौती गरे पनि बजारमा बढिरहेको भिडभाडले संक्रमण दर बढाउन सहयोग पु¥याई रहेको छ ।
संक्रमणले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी तथा सर्वसाधारण कसैलाई पनि छाडेको छैन । असोज मसान्तसम्मको तथ्याङ्कमा जिल्लामा १३ जनाले संक्रमणकै कारण ज्यान गुमाउन पुग्नु भएको छ । शनिबार विहान कार्तिक १ गते पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका ७३ वर्षीय जेष्ठ नागरिकको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । दमको समस्याबाट पीडित उहाँलाई असोज २७ गते मंगलबार अस्पताल भर्ना गरिएको थियो । उपचारसँगै कोरोना परिक्षण पछि उहाँमा संक्रमण पुष्टि भएको हो । अस्पताल भर्ना भएको पाँच दिन पछि उहाँको कोरोनाकै कारण निधन भएको अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमणबाट असोज २९ गते बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिस अघि कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमान्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाले बताउनु भएको छ । पचास वर्षीय मृतकका भाइको १० दिन अघि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो ।
यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । कार्तिक १ गते सम्म कोरोना संक्रमणबाट काभे्रपलाञ्चोकमा १३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आठ पुरुष र पाँच महिला छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँच गाउँपालिका कोरोनामुक्त छन् । खानीखोला गाउँपालिकाका एक जना पनि संक्रमित छैनन् । बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम संक्रमण भुम्लु गाउँपालिकामा दुईजना रहेका छन् । कूल संक्रमित मध्ये ६३ प्रतिशत पुरुष रहेको पोष्टले जनाएको छ । अधिकांश संक्रमति ४५ वर्ष नाघेका तथ्याङ्कले देखाएको छ ।
दाजुभाईकै निधन
कोभिड १९ का कारण जिल्लाको बनेपा नगरपालिका वडा नम्वर १३ साँगा घर भएका एक परिवारका दुई सदस्यको १० दिनको फरकमा निधन भएको छ । २०७७ असोज १८ गते ४५ बर्षीय भाईको निधन भएको १० दिन पछि २८ गते राति ५० बर्षीय दाजुको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मधुमेह रोगबाट पीडित ५० बर्षिय पुरुष २०७७ भदौ २७ गते धुलिखेल भर्ना हुनु भएको थियो । निरन्तर आईसियुमा राखि उपचार गरि रहे पनि कोरोनाका कारण उहाँको निधन भएको हो । उहाँको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना संक्रमण छ । केहि उपचारार्थ हुनुहुन्छ । एकै घरका दुई दाजुभाईकै कोरोनाका कारण निधन भएको जिल्लामै पहिलो पटक हो ।







