धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ अरनिको शालिक देखि छापगाउँसम्मको सडक कालोपत्रे गरिएको छ । कालोपत्रे सडकको उद्घाटन नगरपालिका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । उक्त क्षेत्रमा नगरपालिकाले ब्यवस्थित बसोबासको योजना वनाएको छ ।
ब्यवस्थित बसोबासको योजना अन्तिम चरणमा पुगेको जानकारी गराउँदै नगर प्रमुख ब्याञ्जुले शहरी क्षेत्रको अवधारणा अनुरुप कार्य गरिरहेको बताउनु भयो । एक दशक अघि नगरपालिकाले शुरु गरेको ब्यवस्थित बसोबासको आयोजना विविध कारणवश ढिलाई भएको थियो । भुकम्प पछि नागरिकहरुले घर निर्माण गर्न खोजेका, बैकिङ्ग कार्यका लागि ब्यक्तिगत जमिन प्रयोग गर्न नपाएको गुनासो आए लगत्तै नगरपालिकाले स्थायी रुपमा बसोबासको योजनालाई समाधान गर्ने गरी कार्य अघि बढाईएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाका विभिन्न वडाहरुमा सडक पक्कि गर्ने, सडकलाई फराकिलो र ब्यवस्थित वनाउने कार्य भईरहेको नगर प्रमुख बताउनु भयो । धुलिखेललाई विकासमा समृद्ध वनाउँदै नागरिकहरुको जीवनस्तर सुधार गर्न नगरपालिकाले आयआर्जनका कार्यक्रमहरु संचालन गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा उपप्रमुख विमला शर्माले नगरका विभिन्न वडा र टोलमा विकास निर्माणको कार्य धमाधम भईरहेकाले नागरिकहरुको सहभागिता र समन्वय आवश्यक रहेको बताउनु भयो । वडा अध्यक्ष रविन्द्र कर्माचार्यले वडा भित्र ठुला ठुला आयोजना संचालन भईरहेको बताउँदै कालोपत्रे सडक निर्माण, खानेपानी, स्वास्थ्य तथा पार्क निर्माणमा स्थानीय जनसहभागिता सक्रिय रहेको बताउनु भयो । उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर थापाले उपभोक्ताहरुको सक्रिय सहभागिता रहेकाले सडक कालोपत्रे, ढल, खानेपानी विस्तार तथा अन्य पूर्वाधारका कार्यहरु सम्पन्न गर्न सकिएको बताउनु भयो । नगरपालिकाले शुरुमा उपलब्ध गराएको ८ लाख र २० प्रतिशज जनसहभागिताले पूर्वाधारको कार्य सम्पन्न भएको थियो । प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपैयाले ३ सय ५० देखि ४ सय मिटरसम्मको सडक कालोपत्रे सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्यहरु, कर्मचारीहरु, स्थानीय ब्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो ।









