2026 August 18/ 08:35: 27pm

    बनेपा/पूर्व मन्त्री एवं नेकपा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले नागरिकहरुले चाहे जति विकास गर्न सम्भव भए पनि आयोजना कार्यान्वयन गर्न जटिल भएको बताउनु भएको छ । जिल्लामा बहुचर्चित आयोजनाहरु सेक्युरिटी प्रेस, मदन भण्डारी विश्वविद्यालय, बनेपा–धुलिखेल–पनौती जोड्ने करिडोर, प्रतिरक्षा विश्वविद्यालय लगायतका संरचना निर्माणका लागि बजेट अभाव नहुने बताउनु भयो । 
    जनज्योती माध्यमिक विद्यालयले निर्माण गर्न लागेको २ तल्ले चार कोठे पक्की भवनको शिल्यान्यास पछि पूर्व मन्त्री बास्कोटाले भुकम्पले थिलथिलो पारेका विद्यालयका अधिकांश संरचना केहि समय भित्रै निर्माण सम्पन्न हुने बताउनु भयो । ‘संरचना चिटिक्क बनाउने तर विद्यालयले दिने शिक्षामा गुणस्तर खस्कने हो भने त्यसको कुनै अर्थ छैन’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘शैक्षिक गुणस्तर कायम राख्दै प्राविधिक पहुँच, आधुनिक र ब्यवहारिक शिक्षा प्रदान गरी मुलुकको परिवर्तन गर्न जरुरी छ ।’ इतिहासको संरक्षण गर्दै त्यसबाट सिक्ने ज्ञानलाई ब्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै पूर्व मन्त्री बास्कोटाले किताबी ज्ञान बाहेक ब्यवहारिक शिक्षा उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो । विद्यालयमा आवश्यक पर्ने प्राविधिक ज्ञान र डिजिटल कक्षाका लागि कम्प्युटर ल्याव निर्माण गर्न सहयोग पु¥याउने बताउँदै विद्यालय भवन निर्माणको कार्य समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई अनुरोध गर्नुभयो । 
    पूर्व मन्त्री बास्कोटाले विद्यालयको भवन शिल्यान्यास पछि बनेपा १३ मा निर्माण गर्ने योजना बनाएको फिल्म सिटीका लागि आवश्यक पर्ने जग्गा र त्यसको स्थान, बनेपाको आईटी पार्कमा निर्माण हुँदै गरेको सेक्युरिटी प्रेस, करिडोर लगायतका महत्वपूर्ण आयोजनाको अवलोकन गर्नु भएको थियो । जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई काभ्रेको सहयोगमा निर्माण हुने भवनका लागि ७० लाख बजेट विनियोजन गरिएको छ । यस अघि ६२ लाख लागतमा सोहि प्रकृतिको भवन निर्माण सम्पन्न भएको छ । विद्यालयमा आवश्यक पर्ने १२ हजार लिटरको खानेपानी ट्याङ्की, तीन कोठे अपाङ्ग र बालमैत्री शौचालय आयोजनाकै तर्फबाट निर्माण भएको प्रधानाध्यापक साधुराम दाहालले बताउनु भयो । अध्यक्ष यादव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, वडा अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले विद्यालयको शैक्षिक क्षेत्र सुधारका लागि कार्य गर्नु पर्ने बताउनु भयो । शिक्षक माधव लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा सहभागिहरुले कोभिड १९ बाट बच्दै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।