2026 August 18/ 04:46: 04pm

स्थाानीय तहमा पौने ६ अर्ब निकासा
२ अर्ब ७८ करोड आम्दानी 
११ अर्ब २० करोड खर्च 
भ्याटमा संकलनमा उत्साह

मोतीराम तिमल्सिना
धुलिखेल

    आर्थिक वर्ष २०७६/०७७ कोरोना भाईरसका कारण सोचेजति उपलब्धी हासिल गर्न असफल भयो । विकास निर्माणका कार्यहरु सूचारु हुन नसक्दा आर्थिक क्षेत्र चलायमान हुन सकेन । खर्च हुनै नसकेका कारण आम्दानी घट्न पुग्यो । तीन तहकै सरकारले लक्ष्य निर्धारण गर्न नसक्दा मुलुकका थप आर्थिक मन्दि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मौद्रिक नीति सार्वजनिक गरिएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लामा कोरोना महामारीका बाबजुत विभिन्न कार्यालयहरुले गरिरहेका आर्थिक गतिविधि, आम्दानी, खर्च तथा मुलुकको राजश्व संकलनमा देखिएका विषयहरुले चालु आर्थिक वर्षलाई सुधार गरी अगाडि बढ्ने प्रेरणा दिएको छ । 

११ अर्ब २० करोड खर्च 
आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले आम्दानी खर्चको पुनरावलोकन गरी लक्ष्य गरेको योजना समेत पुरा हुन सकेन । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा प्राप्त रकम मध्ये संघ सरकारको ४० प्रतिशत र प्रदेश सरकारको ६२ प्रतिशत पुजिगत तर्फ खर्च भएको छ भने चालु तर्फ संघ सरकारको ९७ प्रतिशत र प्रदेश तर्फ ७६ प्रतिशत खर्च भएको छ । 
संघ सरकारको जिल्लामा प्राप्त चालु खर्च १० अर्ब २० करोड ५८ लाख २७ हजार २ सय ९० रुपैयाँ बजेट प्राप्त भएकोमा ९ अर्ब ८६ करोड ४९ लाख २२ हजार ४ सय ५ रुपैयाँ खर्च भएको छ । प्रतिशतका आधारमा ९७ प्रतिशत चालु तर्फ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ प्राप्त ३ अर्ब ३४ करोड ६९ लाख ४० हजार ७ सय ४० रुपैयाँमा १ अर्ब ३३ करोड ८२ लाख ५७ हजार २ सय ४१ रुपैयाँ खर्च भएको छ । प्रतिशतका आधारमा विकासतर्फको खर्च जिल्लामा प्राप्त बजेटका आधारमा ४० प्रतिशत हो । चालु र पुँजीगततर्फ गरी १३ अर्ब ५५ करोड २७ लाख ६८ हजार ३० रुपैयाँ प्राप्त भएकोमा ११ अर्ब २० करोड ३१ लाख ७९ हजार ६ सय ४७ रुपैया खर्च गरेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारतर्फ २ अर्ब ६८ करोड ९४ लाख २ हजार ८ सय ४० रुपैयाँमा २ अर्ब ६२ करोड ३८ लाख ४२ हजार २ सय ४७ रुपैयाँ खर्च भएको छ । प्रतिशतका आधारमा यो खर्च ९७ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । 
प्रदेश सरकार अन्तरगतको विनियोजन रकममा चालु खर्चतर्फ १ अर्ब ४१ करोड ८१ लाख ५५ हजार रुपैयाँ मध्ये १ अर्ब ८ करोड १४ लाख ९७ हजार २५ रुपैयाँ खर्च भएको छ । यो चालु तर्फको ७६ प्रतिशत खर्च हो । त्यस्तै विकास तर्फको पुँजीगत खर्चमा प्राप्त २ अर्ब ६८ करोड ५३ लाख ११ हजार रुपैयाँ मध्ये १ अर्ब ६७ करोड २७ लाख ३२ हजार २ सय ८५ रुपैया खर्च भएको छ । यो ६२ प्रतिशत खर्च हो । कोरोनाका कारण समयमै विकास निर्माणका कार्य सम्पन्न नहुँदा विकास तर्फको रकम खर्च हुन नसकेको सरोकारवाला कार्यालयहरुले बताएका छन् । प्रदेश तर्फको कुल ४ अर्ब १० करोड ३४ लाख ६६ हजार रकम प्राप्त भएकोमा २ अर्ब ७५ करोड ४२ लाख २९ हजार ३ सय ११ रुपैयाँ खर्च भएको छ ।
 २ अर्ब ७८ करोड राजश्व 
आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाबाट २ अर्ब ७८ करोड ६ लाख ५३ हजार २ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ । संघीय सरकार अन्र्तगत २ अर्ब ७५ करोड १ लाख ३३ हजार २ सय १९ रुपैयाँ जम्मा भएको छ भने प्रदेश सरकार अन्र्तगत ३ करोड ५ लाख १९ हजार ९ सय ४४ रुपैयाँ आम्दानी भएको छ । 
आन्तरिक राजश्व कार्यालय काभ्रेले २ अकर्् ४१ करोड १२ लाख ४१ हजार २ सय ६७ रुपैयाँ राजश्व संकलन गरेको छ । संघीय सरकार अन्र्तगतका ३३ र प्रदेश सरकार अन्र्तगतका १३ वटा कार्यालयले राजश्व दाखिला गरेका छन् । पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले १ करोड १२ लाख ४३ हजार रुपैयाँ राजश्व दाखिला गरेको छ भने जिल्ला प्रशासन कार्यालय काभ्रेले ३ करोड ७४ लाख २६ हजार १ सय ३८ रुपैयाँ दाखिला गरेको छ । प्रशासन कार्यालयमा प्राप्त आम्दानी राहदानी लगायतको राजश्व दाखिला हुने गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले २० करोड ६० लाख १६ हजार ८७ रुपैयाँ, जिल्ला अदालत काभ्रेले १ करोड ९ लाख ४६ हजार ३ सय १८ रुपैयाँ, जिल्ला प्रहरी कार्यालय काभ्रेले २ करोड २१ लाख ४५ हजार ७ सय ३४ रुपैयाँ राजश्व दाखिला गरेको छ । मालपोत कार्यालय काभ्रेले २ करोड ६३ लाख ६ हजार ४ सय ५० रुपैयाँ संकलन गरेको छ । शुन्य राजश्व हुने कार्यालयहरुमा कारागार, राष्ट्रिय अनुसन्धान, डिजिटल नापी, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा, भवन रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले १ करोड ३१ लाख ९५ हजार ६ सय ४४ रुपैयाँ राजश्व दाखिला गरेको छ । 
प्रदेशतर्फका कार्यालयहरु मध्ये घरेलु तथा साना उद्योग कार्यालयले १ करोड ७९ लाख ९६ हजार ७ सय ४५ रुपैयाँ दाखिला गरेको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र बाहेक अन्य १२ वटा कार्यालयले राजश्व दाखिला गरेका छन् । डिभिजन वन कार्यालयले १६ लाख १३ हजार ८ सय २७ रुपैया, मसलावाली विकास केन्द्र पाँचखालका लागि २४ लाख ४७ हजार ९४ रुपैयाँ राजश्व दाखिला गरेको छ । गत वर्षको तुलनामा राजश्व संकलन र खर्च कम भएको कार्यालयले जानकारी दिएको छ । प्रमुख कोष नियन्त्रक नारायणप्रसाद उपाध्यायका अनुसार संघ र प्रदेश सरकारले विनियोजन गरेको बजेटलाई स्थानीय सरकार तथा कार्यालयहरु मार्फत भएको खर्चलाई आन्तरिक लेखा परिक्षण गर्ने, आर्थिक अनुशासन कायम गराउने र खर्चलाई मितब्ययी बनाउने कार्य गरिरहेको बताउनु भयो । 
    कोष तथा लेखा नियन्त्रक कार्यालयले सरकारी दैनीक हिसाव राख्ने, हिसाब भिडान गर्ने, प्रतिवेदन तयार गर्ने, आन्तरिक लेखापरिक्षण गर्ने, निवृत्तभरण सम्वन्धी कार्य गर्दै आएको छ । राष्ट्रसेवक कर्मचारीहरुको निवृत्तभरण सम्वन्धी कार्य अन्तर्गत २०७६÷०७७ को असार मसान्तसम्ममा १ सय २ जनाले सेवा लिएका छन् । ७ वटा खाताबन्दी, ११ वटा औषधी उपचार खर्च थप गरिएको, १७ वटा पना सकिएको÷हराएकोले नयाँ पट्टा जारी गरिएको, २० वटा पारिवारीक कायम गरिएको र ४७ वटा हिसाव मिलान गरिएको बताएको छ । संघ अन्र्तगतका ३७ कार्यालयहरु मध्ये २८ कार्यालय र प्रदेशका १३ मध्ये ७ वटा कार्यालयका कर्मचारीहरुको तलबी प्रतिवेदन पेश गरेका, राजश्व तथा अन्य कार्यालयहरुमा नियमित राय र परामर्श दिएको छ । 
    

स्थानीय तहमा पौने ६ अर्ब निकासा
    कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञ्चोक मार्फत स्थानीय तहहरुलाई आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश र संघ तर्फको समानिकरण, सशर्त, समपूरक, स्थानीय निकाय सशर्त पुँजीगत अनुदान, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण, सामाजिक सुरक्षा तथा संरक्षण, गरिबसँग विशेश्वर कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र समाज कल्याण कार्यक्रम (जेष्ठ नागरिक कार्यक्रम) मार्फत १३ वटै स्थानीय तहमा खर्च निकासा भएको छ । निकासा भएको रकम खर्च भएको नभएको विवरण भने कोलेनिकासँग छैन । अधिकांश कार्यक्रम सबै पालिकाहरुमा छ भने केहि केहि कार्यक्रम र अनुदान केहि पालिकाहरुमा छुटेको छ । 
    धुलिखेल नगरपालिकामा प्रदेशबाट ४७ करोड २७ लाख र संघबाट ६ करोड ७१ लाख ९९ हजार बजेट विनियोजन भएकोमा ४७ करोड ५८ लाख १७ हजार ८ सय ९४ रुपैया निकासा भएको छ । नमोब्ुद्ध नगरपालिकामा ४७ करोड ९३ लाख ४७ हजार, पनौती नगरपालिकामा ५८ करोड ४३ लाख ५३ हजार, पाँचखाल नगरपालिकामा ५० करोड, बनेपा नगरपालिकामा ६३ कराड ४८ लाख, मण्डनदेउपुर नगरपालिकामा ५२ करोड ६३ लाख रकम निकासा भएको छ । त्यस्तै खानिखोला गाउँपालिकामा २५ करोड २१ लाख, चौरीदेउराली गाउँपालिकामा ४८ करोड ४० लाख, तेमाल गाउँपालिकामा ३६ करोड, बेथान्चोक गाउँपालिकामा ३१ करोड ६२ लाख, भुम्लु गाउँपालिकामा ३५ करोड ९३ लाख, महाभारत गाउँपालिकामा ३१ करोड र रोशी गाउँपालिकामा ४८ करोड रकम निकासा भएको छ । स्थानीय तहहरुमा ६ अर्ब बजेट मध्ये पौने ६ अर्ब खर्चका लागि निकासा भएको छ । कति रकम खर्च भयो र कति हुन सकेन भन्ने तथ्याङ्क प्राप्त भईसकेको छैन । 

भ्याट संकलनमा उत्साह
आन्तरिक राजश्व कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका करदाताहरुबाट २ अर्ब ७८ करोड ५४ लाख ६६ हजार रुपैयाँ राजश्ज संकलन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उक्त कार्यालयले २ अर्ब ३५ करोड ३५ लाख १८ हजार रुपैयाँ संकलन गरेको थियो । प्रतिशतका आधारमा अघिल्लो आर्थिक वर्ष भन्दा २०७६/०७७ मा १८ प्रतिशत धेरै राजश्व सकलन गरेको भए पनि लक्ष्यमा पुग्न सकेन । राजश्व उठाउने लक्ष्य भन्दा कम अर्थात ८४.१९ प्रतिशत मात्रै राजश्व संकलन भयो । जिल्लाको हकमा उक्त कार्यालयले २ अर्ब ४२ करोड राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष देखि दोलखा र रामेछापमा राजश्व सेवा कार्यालय खुल्दैछन् । त्यसपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलको लक्ष्य पनि कम हुनेछ । 
    कार्यालयले आय कर १ अर्ब २९ करोड ६६ लाख ९ हजार संकलन गरेको छ । गतवर्ष भन्दा यो वर्ष ६ करोड धेरै हो । कोरोनाका बाबजुत पनि कार्यालयले अघिल्लो वर्षको तुलनामा धेरै राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालय ध्ुलिखेलका प्रमुख डम्बरु पराजुलीले बताउनु भयो । घरभाडा बापत ४ करोड ६६ लाख ५४ हजार रुपैयाँ संकलन भएको छ भने ब्याज बापत २० करोड ५३ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ । भ्याट बापत १ अर्ब ३ करोड ९५ लाख ६० हजार संकलन भएको छ । गत वर्ष ६८ करोड मात्रै भ्याट संकलन भएको थियो । कार्यालयले भ्याटमा लक्ष्य भन्दा १४ प्रतिशत धेरै राजश्व संकलन गरेको हो ।