– कोभिड १९ संक्रमणबाट बचौ
– एसईई स्थगित
– घर बाहिर ननिस्कनु
– विद्यालय र कलेज बन्द
– सिनेमा हल, जिम र डान्सबार बन्द
– बसमा भिडभाड नगर्नु
– ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
– अन्तर्राष्ट्रिय उडान रोकिए
बनेपा/कोरोना भाईरसबाट बच्न नेपाल सरकारले विशेष क्षेत्रलाई अघोषित रुपमा लक डाउन गरेको छ । आजबाट शुरु हुन लागेको एसईई परीक्षा स्थगित गरी भिडभाड हुने क्षेत्रहरु बन्द गर्ने सरकारको निर्णय नागरिकहरुको सुरक्षाका लागि सतर्कता हो ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताउनु भएको छ । आजबाट हुने भनिएको परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष देशभरबाट करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए भो काभ्रेबाट ७ हजार २ सय ६४ जना सहभागि हुँदै थिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । लगत्तै नेकपा सचिवालयको बैठकले परीक्षा रोक्न निर्देशन दिए लगत्तै उक्त निर्णय सार्वजनिक भएको हो ।
घर बाहिर ननिस्कनु
सरकारले अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँड्डुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो । त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।
विद्यालय र कलेज बन्द
बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ । कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षाका बारेमा कुनै निर्णय भएको छैन ।
सिनेमा हल, जिम र डान्सबार बन्द
बैठकले बैशाख १८ गते अथार्त ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ । ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय भएको छ’–उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न अनुरोध गरिएको छ । साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने निर्णय भएको छ ।
बसमा भिडभाड नगर्नु
सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने भएको छ । यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरेर कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले प्रत्येक दिन सञ्चालन गर्नु अघि समय–समयमा ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न र नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै सर्वसाधारण नागरिकलाई भीडभाड नगरी यात्रा नगर्न अनुरोध नगर्ने र त्यसको अनुगनमा प्रहरीमार्फत गर्ने निर्णय पनि गरेको छ । सरकारले होटल, रेस्टुरेन्ट तथा सपिङ मलका सञ्चालकहरुलाई हात सफा गर्ने लगायत सफाइका सामाग्रीहरुको प्रवन्ध गरी टेबल कुर्सी, बार रेलिङ र शौचालय लगायतका स्थमानहरुमा पनि ‘डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय गरेको छ । तापक्रम मापन गर्ने उपकरण र सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्न लागाउने निर्णय पनि भएको छ ।
५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
सरकारले कोरोना भइरस कोभिड–१९ को संक्रमण देखिएका ५५ देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।







