नमोबुद्ध/नमोबुद्ध नगरपालिकाले शिक्षा क्षेत्रको विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि आर्थिक वर्ष २०८२÷०८३ मा २० करोड ४६ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ ।
नमोबुद्धमा ११ वटा वडा छन् । ३८ वटा सामुदायिक र ८ वटा संस्थागत गरी कुल ४६ वटा विद्यालय सञ्चालनमा छन् । सामुदायिक विद्यालयतर्फ २३ वटा प्राथमिक, ४ वटा आधारभूत र ११ वटा माध्यमिक विद्यालय रहेका छन् । त्यसैगरी, ४९ वटा बालविकास केन्द्र, २ वटा सामुदायिक सिकाइ केन्द्र, एउटा नमुना विद्यालय, कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन भएको एउटा विद्यालय तथा कक्षा ९ देखि १२ सम्म पशु प्राविधिक शिक्षा सञ्चालन भएको एउटा विद्यालय रहेका छन्। सात वटा विद्यालयमा नर्सको समेत व्यवस्था गरिएको छ ।
शैक्षिक सत्र २०८२ मा स्थानीय तहका विद्यालयमा २ हजार ५ सय ७० छात्र र २ हजार ५ सय ५ छात्रा गरी ५ हजार ७५ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये पूर्वप्राथमिक तहमा ७२९, प्राथमिक तहमा २ हजार ९१, आधारभूत तहमा १ हजार १४६, माध्यमिक तह कक्षा ९–१० मा ७०६ र कक्षा ११–१२ मा ४०३ विद्यार्थी रहेका छन् । विद्यालयमा ४९ जना बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, ३२४ जना शिक्षक तथा ४९ जना विद्यालय कर्मचारी कार्यरत रहेको शिक्षा शाखाले जनाएको छ । स्थानीय तहमा तीन वटा सामुदायिक क्याम्पससमेत सञ्चालनमा छन् ।
माध्यमिक तहमा २५ जना स्थायी शिक्षक कार्यरत छन् । त्यसबाहेक करार १, राहत १३, नगर शिक्षण अनुदान ५ र संघीय शिक्षण सहयोग अनुदानअन्तर्गत ८ जना गरी ५२ जना शिक्षक कार्यरत छन् । उच्च माध्यमिक तहमा १० जना, उच्च माध्यमिक प्रशिक्षक ४ जना, मावि प्रशिक्षक २ जना तथा सहायक प्रशिक्षक २ जना रहेका छन् । शिक्षा शाखा प्रमुख अधिकृत रामबहादुर तामाङका अनुसार दिवा खाजा, पाठ्यपुस्तक तथा छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै प्रधानाध्यापकहरूको बैठक तथा अन्य शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गरिएको उनले बताए ।
स्थानीय तहले शिक्षा क्षेत्रमा लगानी बढाउँदै शैक्षिक पहुँचसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ । संघीय तहमा पनि विद्यालय शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र जीवनोपयोगी बनाउने विषय प्राथमिकतामा रहेको देखिन्छ । दिवा खाजा ५८ लाख ८३ हजार ५ सय ८०, छात्रबृत्ति ३ लाख ५१ हजार ९ सय र पाठयपुस्तकका लागि २३ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च भएको छ । शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ भने प्रअहरुको बैठक तथा अन्य विषयमा शैक्षिक कृयाकलापहरु गरिएको शिक्षा शाखा प्रमुख रामबहादुर तामाङले बताए ।









