2026 July 30/ 06:58: 16pm

    धुलिखेल/धुलिखेल अस्पतालमा पेल्भिक फ्लोर सेन्टरको शुभारम्भ गरिएको छ । उक्त सेन्टरबाट महिलादेखि पुरुषसम्मका जटिल समस्याको विशेष उपचार हुनेछ । 
    धुलिखेल अस्पतालले नेपालमै सीमित रूपमा उपलब्ध रहेको पेल्भिक फ्लोर सेन्टर सञ्चालनमा ल्याएको हो । जहाँ महिलादेखि पुरुषसम्ममा देखिने पिसाब, दिसा (पेल्भिक) अंगसँग सम्बन्धित जटिल समस्याको एकीकृत उपचार सेवा प्राप्त हुनेछ । लामो समयदेखि लुकाएर राखिने वा उमेरको सामान्य समस्या ठानिने यस्ता रोगको पहिचान, परीक्षण, उपचार तथा आवश्यक परे शल्यक्रियासम्मको सेवा एउटै केन्द्रबाट उपलब्ध गराउन थालिएको अस्पतालले जनाएको छ । अस्पतालका विशेषज्ञ चिकित्सकका अनुसार पेल्भिक फ्लोर भनेको पेल्भिस भित्र रहेका मूत्राशय, पाठेघर, योनि, मलाशय तथा पुरुषमा प्रोस्टेटजस्ता अंगलाई सहारा दिने मांसपेशी र लिगामेन्टको समूह हो । यही संरचना कमजोर हुँदा वा क्षति पुग्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापर्छन् । 
केन्द्रको उद्घाटन अष्ट्रेलियाका प्रख्यात स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. डा. रेमण्ड पिटर हड्सनले गरेका छन् । कार्यक्रममा धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु श्रेष्ठ, नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन एन्ड गाइनोकोलोजिस्ट्सका अध्यक्ष प्रा.डा.पदमराज पन्त, विभिन्न अस्पतालका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । पेल्भिक फ्लोर सेन्टरको उद्देश्य वैज्ञानिक प्रमाणमा आधारित तथा बिरामी केन्द्रित सेवा प्रदान गर्नु हो । यसका लागि युरोगाइनोकोलोजिस्ट, कोलोरेक्टल सर्जन, युरोलोजिस्ट, फिजियोथेरापिस्ट, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको बहुविषयगत टोलीले समन्वयात्मक रूपमा सेवा प्रदान गर्नेछ । केन्द्रबाट समग्र मूल्याड्कन, पेल्भिक फ्लोर पुनःस्थापन, संरक्षणात्मक उपचार, न्यून आक्रामक उपचार तथा पुनर्निर्माणात्मक शल्यचिकित्सा लगायतका सेवाहरू उपलब्ध गराइनेछन् । केन्द्रको स्थापना धुलिखेल अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्दै बिरामीहरूको जीवनस्तर सुधार प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि रहेको बताईएको छ । 
    धुलिखेल अस्पतालले सञ्चालनमा ल्याएको पेल्भिक फ्लोर सेन्टरले नेपालमै अझै कम उपलब्ध रहेको यस्तो विशिष्टीकृत सेवालाई सर्वसाधारणको पहुँचमा ल्याउने विश्वास व्यक्त गरिएको अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले बताए । विशेषगरी महिलाले वर्षौंदेखि लुकाएर राख्ने समस्याको उपचार सहज बनाउनुका साथै पुरुषमा देखिने यस्तै प्रकृतिका समस्याको पनि एकीकृत व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको डा.माकजुले बताए । धुलिखेल अस्पतालको शुभारम्भ नै नयाँ नयाँ खोज, अनुसन्धान तथा अन्यत्र हुन नसकेका उपचारहरुलाई सहज र सरल रुपले गुणस्तरीय रुपमा उपलब्ध गराउनु रहेको उनले बताए । अस्पताल स्थापना देखि हालसम्म उपलब्ध सेवा र त्यसको गुणस्तरमा कमी हुन नदिन अस्पताल निरन्तर सक्रिय र सचेत रहेको डा.माकजुले बताए । 
    अस्पतालका जनरल सर्जन प्रा.डा.बलराम मल्लले एउटै केन्द्रबाट बहुविषयगत सेवा प्रारम्भ हुँदा विारमीहरुलाई सहजता हुने बताए । डा.मल्लका अनुसार पेल्भिक फ्लोर सेन्टरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, युरोलोजिस्ट, कोलोरेक्टल तथा सर्जिकल विशेषज्ञ, फिजियोथेरापिस्ट, नर्सिङ टोलीलगायत विभिन्न विधाका विशेषज्ञले संयुक्त रूपमा बिरामीको उपचार गर्ने व्यवस्था गरिएको छ । बिरामीको आवश्यकताअनुसार परीक्षण, परामर्श, पेल्भिक फ्लोर मांसपेशीको मूल्याङ्कन, व्यायाम, औषधि उपचार तथा शल्यक्रियासम्मको सेवा एउटै केन्द्रबाट उपलब्ध गराइने व्यवस्था गरिएको छ । यसले बिरामीलाई विभिन्न विभाग धाउनुपर्ने झन्झट कम हुने अस्पतालको विश्वास छ ।
    अस्पतालका युरो सर्जरी डा.सुजन माकजु श्रेष्ठले यस्तो समस्या पुरुषमा पनि उत्तिकै महत्वपूर्ण हुने बताए । पेल्भिक फ्लोरसँग सम्बन्धित समस्या महिलामा मात्रै सीमित नभएको डा.माकजुको भनाइ छ । पुरुषमा पनि प्रोस्टेटको शल्यक्रियापछि पिसाब चुहिने, पिसाब नियन्त्रणमा कठिनाइ, दीर्घकालीन पेल्भिक दुखाइ, दिसा नियन्त्रणसम्बन्धी समस्या तथा यौन स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिन सक्छन् । यस्ता अवस्थाको उपचारका लागि पनि पेल्भिक फ्लोर पुनःस्थापना (रिहाबिलिटेसन), विशेष व्यायाम, औषधि तथा आवश्यक शल्यक्रियाको व्यवस्था केन्द्रबाट गरिएको अस्पतालले जनाएको छ ।
    अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. सुनिला शाक्यले यो महिलामा बढी देखिने समस्या भएको बताईन् । महिलामा विशेषगरी धेरै पटक सुत्केरी हुनु, कठिन प्रसूति, उमेर बढ्दै जानु, रजोनिवृत्ति, मोटोपन तथा शारीरिक श्रमका कारण पेल्भिक फ्लोर कमजोर बन्न सक्छ । यसका कारण महिलाहरु हाँस्दा, खोक्दा वा भारी सामान उठाउँदा पिसाब चुहिने, बारम्बार पिसाब लाग्ने वा रोक्न नसक्ने, पाठेघर तल झर्ने (युटेरिन प्रोलाप्स), मूत्राशय वा मलाशय तल झर्ने, दिसा रोक्न कठिन हुने, लामो समयसम्म रहने श्रोणि भागको दुखाइ, दाम्पत्य जीवनमा पीडा वा असहजता हुने गरेको डा.शाक्यले बताईन् । शाक्यका अनुसार यस्ता समस्या धेरै महिलाले लाज, संकोच वा उमेरसँगै हुने सामान्य समस्या ठानेर उपचार नगरी बस्ने गरेका छन्। समयमै उपचार गरे अधिकांश समस्या औषधि, व्यायाम, फिजियोथेरापी वा आवश्यक परे शल्यक्रियाबाट निको पार्न सकिने बताइएको छ । 
विशेषज्ञ चिकित्सकका अनुसार पिसाब वा दिसा नियन्त्रणमा समस्या हुनु, पाठेघर वा अन्य अंग तल झरेको अनुभूति हुनु, सोहि भागमा लामो समय दुखिरहनु, बारम्बार संक्रमण हुनु वा दैनिक जीवनमा असर पर्ने कुनै पनि लक्षण देखिए लुकाएर बस्नु हुँदैन । समयमै विशेषज्ञको परामर्श लिएमा अधिकांश समस्या नियन्त्रण वा पूर्ण रूपमा निको पार्न सकिन्छ । अस्पतालले देशभरका स्वास्थ्यकर्मीहरूलाई आवश्यक परेमा बिरामीहरूलाई यस केन्द्रमा रेफरका लागि अनुरोध गरेको छ । पेल्भिक फ्लोरसम्बन्धी समस्याबाट पीडित सबै व्यक्तिहरूलाई समयमै मूल्याङ्कन तथा उपचारका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।