नमोबुद्ध/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोक भित्रको आन्तरिक असन्तुष्टि सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म छताछुल्ल भएको छ । विशेषगरी नमोबुद्ध नगर समितिमा देखिएको गुटगत विभाजन मन्त्रीहरूको स्वागत कार्यक्रममै सतहमा आएपछि संगठनभित्रको ध्रुवीकरण थप स्पष्ट बनेको छ ।
नमोबुद्ध नगर समितिका संगठन विभाग प्रमुख गोपाल कुइँकेलले प्रतिनिधिसभा सदस्य मधुकुमार चौलागाईंलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसले पार्टीभित्रको असन्तुष्टि सार्वजनिक गरेको छ । उनले लेखेका छन् – ‘अति भएपछि मनको बह पोखेको हो । भकुण्डेको रेस्टुरेन्टमा बसेर रोशी सबै घुमियो है ? हामीले निर्वाचनका बेला गरेको दुःख र मेहनत सम्झनुभएन । आज भकुण्डे आएर पनि हामीलाई सम्झना आएन । विपक्षीले भनेका कुरा र तपाईंको व्यवहार मिल्यो ।’ यसअघि रास्वपाका जिल्ला सचिव गुणनिधि सापकोटाले आन्तरिक ग्रुप भित्र पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए “झोले मिडियाका साथीहरूको प्रश्न यस्ता आउँछन्, तर केन्द्रले जिल्ला नेतृत्वलाई चिन्दैन ?’
सरकारका मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा भने राजकीय शैलीमा स्वागत गरिएको भन्दै आलोचना भइरहेको छ । मल अभाव, दूधको मूल्य भुक्तानी, कृषकले उत्पादनको उचित मूल्य नपाएको, मूल्यवृद्धि, राष्ट्रिय परिचयपत्र र राहदानी सेवामा देखिएको सर्भर समस्या, बर्ड फ्लुको जोखिम तथा स्वास्थ्य बीमा सेवा प्रभावकारी नहुँदा नागरिकले भोग्नुपरेका समस्याबीच जनप्रतिनिधि र मन्त्रीहरू कार्यकर्ता केन्द्रित कार्यक्रममा व्यस्त भएको टिप्पणी भइरहेको छ । मन्त्री सुनिल लम्साल र सोविता गौतमको नमोबुद्ध भ्रमणका क्रममा नगर समितिभित्रका दुई समूहले फरक–फरक स्थानमा छुट्टाछुट्टै स्वागत कार्यक्रम आयोजना गरे । प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवार बसुनारायण श्रेष्ठ पक्षले तेमाल जाने चोकमा मन्त्रीहरूको स्वागत गरेको थियो भने संगठन विभाग प्रमुख गोपाल कुइँकेलको नेतृत्वमा अर्को समूहले बुद्धचोकमा छुट्टै स्वागत कार्यक्रम आयोजना गरेको थियो । दुवै समूहले आ–आफ्ना तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । यसअघि सांसद् मधुकुमार चौलागाईं नमोबुद्ध पुग्दा पनि यस्तै अवस्था देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका गतिविधिले नगर समितिभित्र दुई धार स्पष्ट देखिएको स्थानीय कार्यकर्ताहरू बताउँछन् ।
रास्वपामा विभिन्न दलबाट आएका नेताहरूको सहभागिता रहेकाले संगठन निर्माणसँगै नेतृत्व र प्रभावको प्रतिस्पर्धा बढ्दै गएको छ । त्यसकै प्रभाव मन्त्री स्वागत कार्यक्रमसम्म पुगेको विश्लेषण गरिएको छ । पार्टीको केन्द्रीय नेतृत्वले संगठन विस्तार र एकताको सन्देश दिइरहेका बेला एउटै भ्रमणका क्रममा दुई स्थानमा छुट्टाछुट्टै स्वागत कार्यक्रम हुनु समन्वय अभावको संकेतका रूपमा हेरिएको छ। यद्यपि दुवै पक्षले आफ्नो कार्यक्रम सामान्य स्वागत कार्यक्रम मात्र भएको दाबी गरेका छन् ।









