धुलिखेल/काभ्रेपलाञ्चोकको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षासँगै अनुशासन, नेतृत्व विकास र व्यक्तित्व निर्माणलाई प्राथमिकता दिँदै आएको बेलर इन्टरनेशनल एकेडेमी, बनेपा–७ ले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई, शुभकामना तथा विदाइ कार्यक्रम आयोजना गरेको छ ।
धुलिखेल लज रिसोर्टमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको सफलताको सम्मानसँगै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायी तथा समाजसेवी होमप्रसाद घिमिरे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्याब्सन काभ्रे तथा बनेपाका पदाधिकारी, विभिन्न पालिकाका शिक्षा क्षेत्रसँग सम्बन्धित प्रतिनिधि, जिल्लाका विभिन्न विद्यालयका प्रिन्सिपल, क्याम्पस प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल एकेडेमीले परीक्षा केन्द्रित शिक्षाभन्दा पनि विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको बताए ।
विद्यालयले आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक, प्रविधिमैत्री वातावरण र नैतिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्यका साथ निरन्तर काम गरिरहेको अध्यक्ष थापाको भनाइ थियो । उनले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई जीवनको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अबको यात्रा अझ चुनौतीपूर्ण भए पनि मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । ‘बेलरले तपाईंहरूलाई प्रमाणपत्र मात्र होइन, जिम्मेवार नागरिक बन्ने आधार दिएको छ । जहाँ पुगे पनि विद्यालयको पहिचान र आफ्नो संस्कारलाई सधैं जीवन्त राख्नुहोस्’–उनले भने ।
विद्यालयकी प्रिन्सिपल इन्दु थापाले विद्यालयको सफलता विद्यार्थी, अभिभावक र शिक्षकबीचको विश्वास र सहकार्यको परिणाम भएको बताइन् । उनले बेलर इन्टरनेशनल एकेडेमीले हरेक विद्यार्थीभित्र रहेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउने वातावरण निर्माण गर्दै आएको उल्लेख गरिन् । उनका अनुसार विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व विकास, सञ्चार सीप, सिर्जनशीलता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक शिक्षालाई समान महत्व दिँदै आएको छ । ‘विदाइ भइरहेका विद्यार्थीहरू हाम्रो गौरव हुन् । उनीहरू जहाँ पुगे पनि इमानदारी, मेहनत र जिम्मेवारीका साथ अघि बढेर विद्यालय, परिवार र राष्ट्रको नाम उच्च राख्नेछन् भन्ने विश्वास छ’–उनले भनिन् ।
कार्यक्रममा विभिन्न वक्ताहरूले बेलर इन्टरनेशनल एकेडेमीले काभ्रे जिल्लाको निजी शिक्षामा स्थापित गरेको गुणस्तरीय पहिचानको प्रशंसा गर्दै विद्यार्थीलाई भविष्यप्रति स्पष्ट लक्ष्य बनाएर आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिएका थिए । उनीहरूले उच्च शिक्षा छनोटदेखि करियर निर्माणसम्म योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सोहि अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव आदानप्रदान तथा विद्यालयसँग बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै कार्यक्रमलाई भावुक र उत्साहपूर्ण बनाएका थिए ।
विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थी र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै उच्च शिक्षाको यात्रामा प्रवेश गर्ने विद्यार्थीलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ ।









