2026 September 10/ 09:57: 02am

बनेपा/एमाले निकट बुद्धिजिवी परिषद् काभ्रेले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदानका साथै ‘काभ्रे प्रज्ञा १’ प्रकाशन गरेको छ । एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले काभ्रे प्रज्ञाको विमोचन गरेका थिए । 
    कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले मुलुक निर्माण र समृद्धका लागि बुद्धिजिवीहरुले दिएको सल्लाह, सुझाव र समन्वय आवश्यक भएको बताए । ‘जिल्ला निर्माणमा विश्लेषणात्मक सुझाव आवश्यक छ’–नेता बास्कोटाले भने–‘जिल्लामा महत्वपूर्ण आयोजना संचालन भएका छन् । अझै आवश्यक के हो ? कुन क्षेत्रमा के गर्नु आवश्यक छ ? नागरिकहरुको जीवन सहज बनाउन के गर्नु पर्छ ? सुझाव र कार्ययोजना सहितको खाका तयार गरी नेतृत्वलाई दिनुस ।’ कार्यक्रममा अध्यक्ष डा.अम्बुभवानी कार्कीले पहिलो पटक संस्थागत विकासका कामलाई लिपिबद्ध गरिएको बताईन् । बुद्धिजिवीहरुले आवश्यक पर्दा मुलुक निर्माणमा महत्वपूर्ण सहयोग गर्ने भएकाले उनिहरुका सहयोग लिन नेतृत्व तयार हुनु पर्ने कार्कीले बताईन् । 
    उप सचिव भिमसेन केसीले संचालन गरेको उक्त कार्यक्रममा बुद्धिजिवी परिषद्का केन्द्रिय सचिव डा. दिपेन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव राजकुमार सापकोटा, अनेमसंघ केन्द्रिय कमिटी सचिवालय सदस्य रिता ढकाल, बुद्धिजिवी परिषद् इन्चार्ज एवं जिल्ला कमिटी सदस्य प्रकाश रोक्का, बुद्धिजिवी परिषद्का सदस्य डा.राममणी सापकोटा लगायतले बुद्धिजिवी परिषद्को भूमिकालाई बढाउँदै राष्ट्र निर्माणमा लाग्न सुझाव दिए । 
    तत्कालिन समयमा २०४७ सालमा बनेपाका केदारनाथ प्रधानाङ्गको संयोजकत्वमा पहिलो कमिटी गठन भएको थियो । ३३ वर्षको इतिहास सहित पहिलो पटक परिषद्ले पुस्तक प्रकाशन गरेको हो । हालसम्म परिषद्का १२ वटा अधिबेशन सम्पन्न भएका छन् ।