वार्षिक ५६,१६० केजी र २८,९६४ लिटर विषादी
धुलिखेल/उपत्यकाका लागि २५ प्रतिशत भन्दा धेरै तरकारी निर्यात गर्ने काभ्रेपलाञ्चोक जिल्लामा तरकारी भण्डारका लागि चारवटा मात्रै शीत भण्डार संचालनमा छन् । जसका कारण कृषकहरुले उत्पादन गरेका तरकारीहरुको उचित मुल्य पनि छैन, भण्डारण गर्ने क्षमता पनि छैन । स्थानीय तहले हरेक पालिकामा कृषकहरुको हितका लागि शीत भण्डार निर्माण गर्ने घोषणा गरेको भए पनि हालसम्म निर्माण हुन सकेका छैनन ।
तरकारी तथा खाद्यान्न उत्पादनका लागि किटनाशक, ढुसिनाशक, झारनाशक, जैविक विषादी र अन्य गरी बार्षिक ५६ हजार १ सय ६० किलो ग्राम धुलो÷दानादर विषादी विक्री हुँदै आएको छ भने २८ हजार ९ सय ६४ लिटर तरल विषादी विक्री हुँदै आएको छ । आर्थिक वर्ष २०७९÷२०८० मा विक्री भएको तथ्यांक विषादी विक्रेता एग्रो भेटहरुले उपलब्ध गराएका छन् । जिल्लामा जगदम्बा कोल्ड स्टोरेज पनौती १०, काभ्रे पाँचखाल कोल्ड स्टोरेज बनेपा, पलाञ्चोक भगवती कोल्ड स्टोर पाँचखाल र काफ्लेडी कोल्ड स्टोरेज पाँचखालले १४ हजार मेट्रिक टन क्षमताको आलु र तरकारी भण्डारणको क्षमता राख्दछन् । सबैभन्दा धेरै पनौतीको जगदम्बाले ४ हजार २ सय मेट्रिक टन आलु र तरकारी भण्डारण गर्दै आएको छ । सबैभन्दा कम पाँचखालमा रहेको पलाञ्चोक भगवती कोल्ड स्टोरेजले २ हजार मेट्रिक टन आलु र स्याउ भण्डारण गर्छ । स्थानीय सरकारको प्राथमिकतामा पर्नु पर्ने कोल्ड स्टोरेज निर्माणमा ध्यान पुग्न सकेको छैन । सिजन उत्पादन भएका तरकारी तथा आलुहरुको भण्डारण गरेर अफ सिजनमा विक्री गर्ने गरी कृषकहरु आफैले पनि साना साना भण्डारणहरु निर्माण गर्ने तयारी गरेको भए पनि स्थानीय सरकारको सहजीकरण छैन । जिल्लामा ९ वटा समुह, सहकारी तथा संस्थाहरुले धान, मकै, गहुँ, आलु र तरकारी बालीको बीउ उत्पादन हुँदै आईरहेको छ । खाद्यान्नको उन्नत बीउ धान, मकै, गहुँ र तरकारी दलहनको बीउ उत्पादन गरी विक्री हुँदै आएको छ ।









