2026 September 10/ 07:22: 51pm

धुलिखेल/धुलिखेल अस्पतालले उत्पादन गरेको कस्मेटिक प्रडक्ट स्याहार छालाको सुरक्षा र उपचारमा प्रभावकारी देखिएको छ ।  प्रयोगकर्ता मध्ये ९० प्रतिशत खुसी एवं सन्तुष्ट रहेको स्याहारका प्रशासन सहायक सचिन माकजुले जानकारी दिनुभयो । 
    धुलिखेल अस्पतालले पाँचखालको बालुवा सेवा केन्द्रमा छाला सम्बन्धी स्याहार एवं उपचारका लागि अन्तराष्ट्रिय गुणस्तरको कस्मेटिक उत्पादन थालेको छ । हाल स्याहारका ५० प्रकारका स्किन केयर प्रोडक्ट क्रिम, झोल, साबुन, लिप केयरका रुपमा उपलब्ध रहेको माकजुले बताउनुभयो । छाला सम्बन्धी स्याहार एवं उपचारका लागि अनुसन्धान एवं विकास योजनाका रुपमा धुलिखेल अस्पतालले सन् २०१५ देखि स्याहारको उत्पादन थालेको धुलिखेल अस्पतालका प्रा.डा.सुमनराज ताम्राकारले बताउनुभयो । सन् २०१६ मा ३ वटा प्रडक्टहरु धुलिखेल अस्पतालको फार्मेसीबाट विक्रीवितरण थालिएको थियो भने सन् २०१८ बाट अस्पताल परिसरमा छुट्टै आउटलेट खडा गरी विक्री वितरण थालिएको थियो । अहिले स्यहारका उत्पादनहरु नेपालभर ७ वटा विक्री कक्षबाट विक्रिवितरण भइरहेको प्रा.डा.सुमनराज ताम्राकारले जानकारी दिनुभयो ।
पाँचखालको बालुवा सेवा केन्द्रमा मात्रै उत्पादन भइरहेको स्याहारका विभिन्न प्रोडक्टहरु पाँचखाल नगरपालिकाका अन्य स्थान र नमोवुद्ध नगरपालिकामा विस्तार गर्ने अस्पतालको तयारी छ । अस्पतालले यसअघि नै पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकासँग सम्झौता गरेर प्रकृया अघि बढाइसकेको छ । अस्पतालले कस्मेटिक प्रोडक्टका लागि आवश्यक कच्चापदार्थ आफैं उत्पादन गर्दै आएको छ । माग बढ्दै गएकाले कफी, अमला, निम, एलोभेरा स्थानीयसँग खरिद गर्ने अस्पतालको योजना छ ।  स्याहारका विभिन्न प्रोडक्टको मुल्य १ सय ५० रुपैयाँदेखी ५ हजार रुपैयाँसम्म तोकिएको छ । छालाका प्रकार एवं मौसम अनुसारका प्रोडक्टहरुलाई विर्गिकरण गर्नुका साथै कुनै पर्व वा विशेष अवसरको बेलामा छुट समेत दिने गरिएको माकजुले बताउनुभयो । अस्पतालका सेवाग्राहीलाई सुलभ मुल्यमा अन्तराष्ट्रिय गुणस्तरका कस्मेटिक उत्पादनहरु उपलब्ध गराउनु नै यसको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।