बनेपा/बनेपा नगरपालिकाले सबै नगरवासीको निःशुल्क स्वास्थ्य परिक्षण सुरु गरेको छ । हरेक वडामा स्वास्थ्य क्लिनिक मार्फत स्वास्थ्य परिक्षण सुरु गरिसकिएको बनेपा नगरपालिकाका नगर प्रमु्ख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो ।
स्वास्थ्य परिक्षणसँगै नगरवासीमा कस्ता रोगको संक्रमण बढी छ, सेवा कहाँबाट लिइरहेका छन् भन्ने तथ्यांक संकलन भइरहेको भइरहेको उहाँले बताउनुभयो । यसले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा तत्कालीन र दीर्घकालिन स्वास्थ्य नीति बनाउन सहयोग गर्ने नगर प्रमुख शाक्यको भनाई रहेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाँईले नगरवासीको स्वास्थ्यलाई नगरपालिकाले प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउनुभयो । शाक्यले उपलब्ध स्रोतले भ्याएसम्म अधिकतम् सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । नगरपालिकाले सञ्चालन गरेको क्लिनिकमा स्वास्थ्य परिक्षणसँगै आवश्यक परामर्श समेत दिइने भएकाले नगरवासीको आकर्षण बढेको छ । क्लिनिकमा बालबालिका, गर्भवती, जेष्ठ नागरिकको पनि स्वास्थ्य जाँच तथा परामर्श दिइनेछ । समयमा स्वास्थ्य जाँच गराई आफ्नो स्वास्थ्यप्रति सचेत रहन नगरपालिकाले आग्रह छ । नगरपालिकाका सबै वडामा असोज १२ देखी १६ गतेसम्म तेस्रो चरणको आधारभुत स्वास्थ्य परिक्षण क्लिनिक संचालन हुँदैछ । क्लिनिकमा नसर्ने रोगको उपचार, स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले जानकारी दिनुभयो । यसअघि श्रावण १२ गतेदेखि १६ गतेसम्म पहिलो चरण र भदौमा दोस्रो चरणको कार्यक्रम सञ्चालन भएको थियो । स्वास्थ्य शाखा प्रमुख महतोका अनुसार पहिलो चरणमा ४ हजार २ सय ९६ र दोस्रो चरणमा ३ हजार २८ जनाले स्वास्थ्य जाँच गराएका छन । परिक्षण गराएका मध्ये अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको छ । नगरले वडा नम्बर ४मा नगर अस्पताल सञ्चालन गरेको छ भने रेयुकाई आँखा अस्पतालसँग सम्झौता गरि निःशुल्क मोतिबिन्दुको अप्रशेन तथा विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गर्दै आएको छ ।









