2026 April 18/ 02:33: 06pm

    बनेपा नगरपालिकाको त्यो पुरानो घरमा जन्मिएको छोरो हुँ म । जहाँ भित्ताभन्दा अग्ला मौनताहरू थिए र आँगनभन्दा फराकिला गुनासाहरू । घर एउटै थियो तर मनहरू धेरै पहिल्यै छुट्टिन थालेका थिए । बाहिरबाट हेर्दा हामी संयुक्त परिवार थियौँ । बाबुहरूका दाजुभाई पाँचजना, दाजुभाई हामी चार जना तर भित्रभित्रै अंश र बंशका रेखाहरू कोरिन थालेका थिए, जसले हामीलाई नचाहिँदा नचाहिँदै छुट्टाउँदै लगे । हामी अलग–अलग भयौं । सँगै रहँदा पनि अलग जस्तै भए पछि अलग भएकै राम्रो भन्ने थियो । बाध्यतावश वा अन्य कारण हामी अलग भयौ ।
    हजुरबाले कमाएको जग्गा थियो बनेपाको मूल सडकबाट अलि भित्र, कतै उकालो, कतै समथर ।  खेत, बारी, पाखो र पछिल्लो पुस्ताले प्लट भन्न थालेको जमिन । हजुरबाका पाँच छोरा । मेरो बुबा र चार काका त्यही जमिनमा हुर्किएका थिए । खेत जोत्दा एउटै हलो, खानामा एउटै भाँडो र चाडपर्वमा एउटै आँगन थियो । तर समयसँगै जग्गाको मूल्य बढ्यो र त्यो सँगै मानिसको मनमा पनि मूल्यको गणना सुरु भयो । म बालक हुँदाका दिनहरू सम्झँदा बाबुहरूको अनुहारमा एउटै किसिमको थकान देखिन्थ्यो । बाहिर कसैले केही नबोल्दा पनि, रातको खानापछि भित्तामा टाँसिएको हजुरबाको फोटोले सबैलाई हेरेर सोधेजस्तो लाग्थ्यो अंश मिलिसक्यो कि छैन ?
    पाँच दाजुभाई, पाँच फरक स्वभाव । ठूला काका बोल्ने मान्छे थिए । कानुन अनुसार चल्नुपर्छ भन्ने उनका वाक्य हामीले सानैदेखि सुन्दै आएका थियौँ । अर्का काका मौन थिए, तर मौनभित्र ठूलो गुनासो बोकेका । तेस्रा काका राजनीतिमा अल्झिएका, पहुँचको कुरा गर्थे । चौथो काका धार्मिक तर सम्पत्तिको सवालमा कुनै पनि कम थिएनन् । मेरो बुबा सबैभन्दा धेरै चुप लाग्ने मिलेर बस्नुपर्छ भन्ने शब्दमै जीवन बिताउने । तर मिलेर बस्ने कुरा सजिलो कहाँ थियो र ? हजुरबा बित्नुभएको केही वर्षमै अंशको कुरा उठ्न थाल्यो । सुरुमा चिया पसलमा, पछि बैठक कोठामा र अन्ततः कागज र कानुनको भाषामा । त्यो दिन सम्झन्छु घरको ठूलो कोठामा सबै काकाहरु बा समेत सँगै बसेका थिए । हामी छोराहरू कुनामा थियौँ, बोल्न पाउने हैसियत नभएका साक्षीहरू ।
    छोरा मात्रै होइन, छोरीले पनि हक पाउँछ ठूला काकाले भने । कोठा एकछिन चुप लाग्यो । त्यो वाक्यले हाम्रो घरको मौनतालाई पहिलो चोटि चिरेको थियो । छोरा र छोरीबीचको अदृश्य रेखा । मेरा दिदीहरू थिए । विवाह भएर अर्कै घर गएका । उनीहरू घर आउँदा माया त पाइन्थ्यो तर अंशको कुरा आउँदा उनीहरू अचानक ‘अरू’ भइदिन्थे । छोरी त पराई घर जानेभन्ने वाक्य हामीले सानैदेखि सुन्दै आएका थियौँ । तर कानुन बदलिँदै थियो र त्यससँगै हाम्रो घरको सन्तुलन पनि । दिदीमध्ये एउटीले खुलेर भनिन्, हामीले पनि बाबुको सम्पत्तिमा हक खोज्नु गलत होइन । त्यो दिन बाबुको अनुहार मैले पहिलो पटक यति निस्तेज देखेँ । न उनले बहिनीलाई गलत भने न भाइहरूलाई सही । उनी बीचमा अड्किएका थिए । कानुन र समाजबीच । माया र डरबीच ।
    हामी चार दाजुभाइलाई त्यो बेला सम्पत्तिको अर्थ थाहा थिएन । तर हामीले बुझ्दै गयौँ जग्गा भनेको माटो मात्र होइन, यसले मानिसको सम्बन्ध जोत्छ, भत्काउँछ । दाजुहरू बीच पनि चुपचाप तुलना सुरु भयो कसले कति पाउने ? कसको भाग राम्रो पर्छ ? म भने सधैँ सोच्थेँ यदि हजुरबा आज बाँचिरहनु भएको भए, के यस्तै हुन्थ्यो ? हजुरआमाले कहिलेकाहीँ भन्नुहुन्थ्यो, अंश बाँड्दा बंश नबाँडिनु नि बाबु । तर हामी अंश बाँड्न लाग्दा बंश नै चिरिन थालेको थाहा पाएनौँ । त्यो घर, बनेपाको त्यो आँगन, जहाँ हामी सबैले सँगै दशैँको टीका लगाएका थियौँ, अब कागजमा रेखा कोरिन लागिरहेको थियो । रेखा, जसले जमिन मात्र होइन, मन पनि नाप्दै थियो । मलाई थाहा थिएन यो सुरुवात मात्र थियो । अदालत, रोक्का, रोग, मृत्यु, राजनीतिक पहुँच र कहिल्यै नसुल्झिने सम्बन्धको कथा अझै बाँकी थियो । तर त्यही दिन मैले पहिलो पटक महसुस गरेँ, हामी अंशको कुरा गर्दै थियौँ, तर बंश चुपचाप हराउँदै थियो । कागजमा झरेको अंश, मनमा चिरिएको घर । अंशको कुरा औपचारिक रूपमा उठेको दिनदेखि हाम्रो घरको हावा फेरिएको थियो । पहिला बिहान उठ्दा गाईवस्तुको आवाज सुनिन्थ्यो, अब कागज पल्टाएको आवाज सुनिन्थ्यो । भान्सामा गफ कम भयो, बैठक कोठामा हिसाब बढी । बनेपाको त्यो घर, जसलाई हामी सबैको घर भन्थ्यौँ, अब कसको कुन भाग भन्ने प्रश्नले घेर्न थाल्यो । ठूला काकाले एकदिन स्पष्टै भने, अब भावनाले हुँदैन, कानुन अनुसार चल्नुपर्छ । त्यो वाक्य सुन्दा मलाई लाग्यो, भावना भनेको यहाँ अपराधजस्तै बनाइएको छ ।
    मालपोत कार्यालयको चक्कर सुरु भयो । नक्सा, लालपुर्जा, स्रेस्ता । यी शब्दहरू हाम्रो दैनिकी बने । हजुरबाले जीवनभर जोतेको जमिन अब सरकारी भाषामा अनुवाद हुँदै थियो । नापीको दिन, जब कर्मचारीले डण्डी गाडे, मेरो मनमा एउटा अजीब डर आयो । त्यो डण्डी जमिनमा गाडिएको थिएन, त्यो हाम्रो परिवारको मुटुमा गाडिएको थियो । दिदीको प्रश्न थियो । त्यसैबीच दिदीहरू खुलेर बोल्न थाले । उनीहरू लडाकु थिएनन्, तर स्पष्ट थिए । हामी पराई घर गयौँ भन्दैमा बाबुको रगत फरक हुन्छ र ? यो प्रश्नले बाबुलाई होइन, हामी छोराहरूलाई पनि हल्लायो । दाजुभाइबीच कुरा भयो । कसैले भन्यो, दिएर मिलाउँ, नत्र झन्झट हुन्छ । कसैले भन्यो कानुनले बाध्य पारेको हो भने ठीकै हो । तर त्यो ‘ठीकै हो’ भित्र डर थियो । हामीलाई बराबरी चाहिएको थिएन, हामीलाई नियन्त्रण चाहिएको थियो । त्यो स्वीकार्न गाह्रो थियो । मुद्दा दर्ता भएको दिन बुबा लामो समयसम्म चुप लाग्नुभयो । घर फर्किंदा उहाँले भन्नु भयो । अब यो हाम्रो हातमा छैन । अदालत पुगेपछि बुझें, यहाँ कसैको पीडा प्राथमिक हुँदैन, फाइल नम्बर मात्र हुन्छ । तारिख माथि तारिख । एकदिन कर्मचारी नआएको कारण स्थगित । अर्को दिन वकिल व्यस्त भएको कारण स्थगित । सम्पत्ति सबै रोक्का भयो । त्यो शब्द ‘रोक्का’ ले हाम्रो जीवन रोकेको थियो ।
    बाबुको रोग त्यही बेला चर्कियो । क्यान्सर भन्ने शब्द घरमा पस्दा कसैले ‘अंश’ शब्द बोल्न सक्ने अवस्थामा थिएन । तर मुद्दा बोल्थ्यो । अदालत बोल्थ्यो । सरकार बोल्थ्यो । बैंकले ऋण दिन मानेन । रोक्का सम्पत्ति धितो मानिँदैन । त्यो दिन मैले बुझें, सरकारले कागजलाई मानिसभन्दा माथि राख्छ । राजनीतिक पहुँच खोजियो । फोन गए । सिफारिस आयो । तर कर्मचारीले एक वाक्य मात्र भन्यो, माथिबाट आएको हो भने पनि प्रक्रिया त उही हो । त्यो ‘प्रक्रिया’ ले बाबुलाई अस्पतालको बेडमा बाँधेको थियो । बाबुको अन्तिम प्रश्न थियो । धेरै कमजोर हुँदै जानुभयो । एक साँझ उहाँले मेरो हात समातेर सोध्नुभयो, तिमीहरू मिल्छौ त ? म रोएँ । किनकि म झूटो आश्वासन दिन चाहँदैनथेँ । उहाँ बित्नुभयो । तर मुद्दा रोकिएन । काजक्रिया सकिन नपाउँदै अदालतको तारिख आयो । बाबु जलिरहेको दिन, कागजमा उहाँको नाम अझै जिउँदो थियो । त्यो विडम्बना सहन गाह्रो थियो ।
    बाबु बितेपछि घर एकाएक ठूलो भयो । ठूला कोठाहरू, अग्ला भित्ताहरू, तर भित्र मान्छे साना–साना भए । बाबु हुँदा कम्तीमा एउटै केन्द्र थियो । उहाँ जानु भएपछि हामी चार दाजुभाइ चार दिशामा तानिन थाल्यौँ । ठूलो दाजु व्यवहारिक थियो । उसलाई घर होइन, स्थिरता चाहिएको थियो । जे आउँछ, बाँडौँ, छुट्टिऔँ, उसले भन्यो । माइलो दाजु रिसले भरिएको थियो । बाबु मरेपछि पनि मुद्दा चलिरहेको छ, यो अन्याय हो । ऊ जित्न चाहन्थ्यो, कागजमा मात्र होइन, इतिहासमै । साइलो दाजु पलायनको बाटो रोज्दै थियो । विदेश जाने कागज बनाउँदै, यहाँ बसेर के पाइन्छ ? भन्ने प्रश्न बोकेर । र म, बीचमा थिएँ । न जित्न चाहने, न भाग्न सक्ने । बाबुको फोटो हेर्दा लाग्थ्यो, उहाँ हामीलाई यसरी देख्न चाहनुहुन्नथ्यो । नयाँ पुस्ता, पुरानो रिस थियो हामीमा । समयले काकाहरूलाई पनि बिस्तारै लैजाँदै गयो । तर उनीहरूका छोरा–छोरी मुद्दामा छिर्दै गए । अब अंशको विवाद बंशमा सरेको थियो । नयाँ पुस्ताले पुरानो रिस बोक्यो, तर कारण बुझेन । अदालतमा अब काका होइन, भतिजा उभिन थाले । उनीहरूलाई हजुरबाको माया थाहा थिएन, उनीहरूलाई थाहा थियो कुन कित्ता कति रोपनी । त्यो देखेर मलाई डर लाग्यो । यदि यो यस्तै चलिरह्यो भने, हाम्रो पुस्तापछि पनि यही दोहोरिन्छ ।
    छोरीको अन्तिम आवाज । एकदिन दिदी आइन् । धेरै वर्षपछि यति स्पष्ट भएर । हामी पैसा मात्र खोजिरहेका छैनौँ । उनले भनिन्, हामी मान्यता खोजिरहेका छौँ । त्यो वाक्यले मलाई हल्लायो । हामी छोराहरूले कहिल्यै सोचेनौँ । छोरीका लागि अंश केवल जमिन होइन, आफ्नो अस्तित्वको स्वीकृति हो । दिदीले थपिन्, हक पाएर पनि यदि सम्बन्ध छैन भने, हामी पनि जितेका हुँदैनौँ । त्यो दिन पहिलो पटक अंश र बंश एउटै वाक्यमा आए । वर्षौँपछि, अन्ततः फैसला आयो । कागजमा सबैको नाम आयो । छोरी, छोरा सबै बराबर । कानुनले आफ्नो काम ग¥यो । तर फैसला पढ्दा कोही खुशी भएन । किनकि जित्ने कोही थिएन । सम्पत्ति बाँडियो । कित्ता छुट्टिए । रोक्का फुकुवा भयो । तर त्यो दिन घरमा एक कप चिया पनि सँगै पकाइएन । खाली जित । सम्पत्ति पाएपछि सबै आ–आफ्नो बाटो लागे । कसैले घर बेच्यो । कसैले विदेश लगानी ग¥यो । कसैले बैंकमा राख्यो । म भने बनेपाको पुरानो घरमा फर्किएँ । त्यो घर अब मेरो भागमा परेको थियो । तर त्यो घर घरजस्तो लागेन । त्यो स्मृतिको संग्रहालय थियो । दशैँ आयो । टीका लगाउने कोही आएन । घर थियो, तर परिवार थिएन ।
    अंशको जित, बंशको हार । आज म पछाडि फर्केर हेर्छु । हामीले के पायौँ ? जग्गा । कागज । कानुनी जित । हामीले के गुमायौँ ? बाबुको सपना । दाजुभाइको हाँसो । दिदीको अपनत्व । संयुक्त घरको आत्मा । नेपालको कानुन गलत छैन । छोरीलाई समान हक दिनु न्याय हो । तर न्याय केवल कागजमा सीमित भयो भने सम्बन्ध मर्छ । सम्पत्तिप्रतिको मोहले हामीलाई अन्धो बनायो । हामीले अंशलाई सबैभन्दा ठूलो मूल्य बनायौँ । तर आज म छोरा भएर भन्छु । अंश त बाँडियो, तर बंश बाँकी रहेन । यदि यो कथा कसैले पढ्दैछ भने, म उसलाई यही सन्देश दिन चाहन्छु । त्यही नै सम्पत्तिको सबैभन्दा ठूलो मूल्य हो, एक्लोपन ।

अरुण श्रेष्ठ 
बनेपा,काभ्रे