2025 May 19/ 06:59: 43am

    बनेपा/बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानसँगै सहकारीलाई नियमित रुपमा संचालनका लागि शासकीय सुचकांक, वित्तीय सुचकांक तथा अन्य सुचकांक पालना गराउने उदेश्यले नेपालमा पहिलो पटक ‘सेक्योस अनलाईन प्रणाली’ संचालनमा ल्याएको छ । यस अघि यो प्रणाली अफलाईन मार्फत संचालन गरिएको थियो । 
    बनेपा नगरपालिकालाई कार्य क्षेत्र बनाई दर्जन भन्दा धेरै सहकारी वेपत्ता भएका, त्यतिक्कै संख्यामा सहकारीहरु झोलामा मात्रै रहेका, भएका सहकारीहरुको सूचना प्रणाली तथा त्यसको अवस्थाका बारेमा जानकारी नभएको, संस्थाका पदाधिकारीहरुको लापरवाहीका कारण बचतकर्ताहरुको रकम जोखिममा परेको, नियामक निकायहरुको वेवास्ता लगायतका कारण देखिएका तमाम समस्याहरु समाधान गर्न उक्त प्रणालीको शुभारम्भ गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । बनेपामा रहेको विन्धबासिनी सहकारी नेपालकै नमुना सहकारी हो । बचत तथा ऋण परिचालन, सदस्यहरुको नियमितता तथा विश्वास र पुँजी परिचालनमा समेत नमुना मानिएको विन्धबासिनी सहकारी मार्फत उक्त प्रणालीको शुभारम्भ गरिएको हो । 
    विन्धबासिनी सहकारीले संचालक समितिको ४५ औ बैठक सोहि प्रणालीबाट संचालनमा ल्याएको छ । अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतमा बसेको बैठक अघि आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उक्त अनलाईन प्रणालीको शुभारम्भ गरेका थिए । शुभारम्भसँगै उक्त उपकरण बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । नगर प्रमुख शाक्यले विन्धबासिनी साकोस देशकै नमुना संस्था भएकाले नगरपालिकाले लागु गरेको विद्युतिय प्रणाली लागु गर्ने पनि पहिलो संस्था बनेकोमा धन्यबाद दिएका थिए । बनेपा सहकारी इतिहासको पहिलो शहर पनि भएकाले बनेपाबाट नै उक्त कार्य प्रारम्भ गर्न पाएकोमा नगर प्रमुख शाक्यले विन्धबासिनी सहकारीलाई धन्यवाद दिएका थिए । 
    संस्था निति विधि र प्रक्रिया अन्र्तगत सञ्चालन भएकाले देशकै नमुना बन्न सफल भएको संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले बताए । नगरपालिका सामाजिक तथा सहकारी शाखा अधिकृत दिनेश कुमार पोखरेलले बनेपा नगरपालिकाले आफ्नो नियमन क्षेत्र भित्रका तथा नगर क्षेत्र भित्रका मुख्य कार्यालय, शाखा कार्यालय वा सेवा केन्द्र राखी सञ्चालन भएका प्रदेश नियमन वा संघिय नियम क्षेत्र भित्रका सबै सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा अनलाईन प्रणलीमा आबद्ध गराएको बताए । एक सय भन्दा बढी सहकारी संस्था प्रणालीमा आबद्ध भैईसकेका छन् भने बाँकी हुने क्रम जारी रहेको पोखरेलले बताए । पोखरेलले बनेपामा केहि सहकारीहरु बचतकर्ताहरुको कमजोरी, सहकारी संस्थाका पदाधिकारीहरुको लापरवाही, नियामक निकायहरुको बेवास्ताका कारण सहकारी क्षेत्रमा समस्या सृजना भएको र त्यस्ता कमी कमजोरीहरुलाई न्युनिकरण गरी राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदानलाई सुनिश्चित गर्न अनलाईन प्रविधि ल्याएको पोखरेलले बताए । 
    बनेपा नगरपालिकाले नेपालकै नयाँ र पहिलो प्रणलीको रुपमा सहकारी सस्थाहरुको स्वःमूल्यांकन गराउने प्रणलीको रुपमा रहेको बताएको छ । नगरपालिकाले उक्त प्रणलीले २७ वटा सुचकहरुको आधारमा स्वः मुल्याकन गर्ने र सहकारीको यथार्थता जानकारी लिन सकिने बताईएको छ । कार्यक्रममा नगरपालिका तथा विन्धबासिनी सहकारीका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।