
धुलिखेल/मुलुक चरम आर्थिक संकटमा छ । नागरिकहरुका दैनिक गतिविधिहरु आर्थिक मन्दीका कारण प्रभावित बन्न थालेका छन् । सरकारको पुँजीगत खर्च हुन नसकेर हैरान छ । त्यो खर्च सहज नहुँदा तल्लो स्तरसम्म कति असर पुग्छ भन्ने उदाहरण आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेले जारी गरेको एउटा कर बक्यौता दाखिला गर्ने सम्बन्धी सूचना प्रकाशनबाट पनि पुष्टि हुन्छ ।
आन्तरिक राजश्व विभाग अन्र्तगत धुलिखेलमा रहेको कार्यालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्ला हेर्दै आएको छ । उक्त कार्यालयले चार जिल्लाका १ सय ५ करदाताहरुलाई १५ दिन भित्र कर बक्यौता दाखिला गर्न, दाखिला गर्नु नपर्ने भए त्यसको प्रमाण सहित उपस्थित हुन र त्यो दुबै नगर्ने करदातालाई मुल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २१ र आयकर ऐन २०५८ को दफा १०३ देखि १११ बमोजिम कानूनी कारवाही मार्फत असुल गर्ने चेतावनी दिएको छ । कार्यालयले पटक पटक कर तिर्न अनुरोध गरेको भए पनि उक्त करदाताहरुले अटेर गरेकाले सार्वजनिक सूचना मार्फत आब्हान गरेको उल्लेख गरेको छ ।
उर्दि जारी गरिएका मध्ये अधिकांश निर्माण ब्यवसायीका फर्महरु छन् । केहि रोडा, ढुंगा उद्योग, आयल स्टोर तथा अन्य उद्योग, ब्यवसायका फर्महरु छन् । काभ्रेपलाञ्चोक जिल्लाका मात्रै ४९ वटा फर्मलाई ताकेता गरिएको छ । चण्डी केवल नेटवर्क प्राली, रोशी खोला रोडा ढुंङ्गा उद्योग, भालेश्वर ढुंङ्गा, रोडा उद्योग प्राली, पलाञ्चोक भगवती हार्डवेयर सप्लायर्स पाँचखाल, गौरीशंकर रोडा ढुंङ्गा उद्योग रोशी ८, के सगरमाथा आयल स्टोर, बनेपा १३, युयम मार्केटिङ्ग बनेपा ५, विन्दाबासिनी हार्डवेयर नमोबुद्ध भकुण्डे, माता भगवती आयल स्टोर पाँचखाल ६, सुर्वणेश्वरी ईटा उद्योग, पाँचखाल ७, बनेपा १ मा रहेको वाईनस वाईन प्रालि लगायत छन् ।
मुल्य अभिबृद्धि र आयकर दुबै नबुझाएका अन्य केहि फर्महरु पनि छन् । भगवती आयल स्टोर धुलिखेल, माँ चण्डी शुभश्री इन्डस्ट्रीज प्राली बनेपा ७, पाँचखाल आयल स्टोर, पाँचखाल, ओम सत्य साई मेशिनरी ट्रेड, सुर्यविनायक फर्निचर बनेपा, जगबजैश्वर बालुवा उद्योग प्राली नमोबुद्ध ३, मिराकल होटल म्यानेजमेन्ट प्रा.ली धुलिखेल, बनेपा निर्माण सामाग्री सप्लाई सेन्टर बनेपा लगायत ४९ वटा फर्मलाई कर दाखिलाको उर्दी छ ।