2026 August 30/ 05:47: 14pm

    शारदा बतासे, धुलिखेल/स्वस्थ शहर धुलिखेल निर्माण अभियान अनुसार वडा तथा टोल तहमा समेत विभिन्न रोगका शिविरहरु नगरपालिका, वडा र विभिन्न संघ संस्थाको संयोजन तथा आयोजनामा भईरहेका छन् । शनिबार धुलिखेल नगरपालिका वडा नम्वर १० मा मुटु परिक्षण सम्वन्धि निशुल्क शिविर आयोजना गरिएको छ । 
    शिविरमा मुटु सम्वन्धि परामर्श, ईसिजी, इको कार्डियोग्राफी, सुगर परिक्षण तथा निःशुल्क औषधी वितरण गरिएको छ । मुटु जोगाउँ, काठमाडौ र धुलिखेल नगरपालिका वडा नम्वर १० को संयुक्त आयोजनामा आयोजित शिविरको नगर प्रमुख अशोक ब्याञ्जुले शुभारम्भ गरेका थिए । मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग रहेको शिविरका लागि इटलीको संस्थाले आर्थिक सहयोग गरेको थियो । शिविरमा वडाबासीहरुका अलावा आसपासका विद्यालयका विद्यार्थीहरुलाई विशेष केन्द्रित गरिएको थियो । विद्यालयहरुले विद्यालय बसमा विद्यार्थीहरुलाई मुटुको परिक्षण गराउन शिविरमा सहभागि गराएका थिए । 
    नगर प्रमुख ब्याञ्जुले स्वस्थ शहर निर्माण अभियानमा मुटु परिक्षण सम्वन्धि शिविर महत्वपूर्ण र ऐतिहासिक भएको बताए । ‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणाको अन्तिम चरणमा पु¥याएको छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘विश्वका धेरै शहरहरु मध्ये धुलिखेल स्वस्थ शहर हुने सूचीमा पर्ने तयारीको अन्तिम चरणमा पुगेको छ ।’ सोहि अभियान स्वरुप सबै कार्यक्रम र गतिविधिहरु स्वास्थ्य केन्द्रित हुने गरी नागरिकहरुको घर घरको र ब्यक्ति ब्यक्तिको तथ्यांक संकलन गरी सर्ने र नसर्ने रोगहरुको पहिचान, परिक्षण र उपचार, अन्य वातावरणमा समेत कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए । स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सन्दिप केसीले धुलिखेल नगरपालिकाले सबै नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउँदै स्वस्थ शहर निर्माण अभियानमा जोडिरहेको बताए । नाक, कान, घाँटी, आँखा, सर्ने र नसर्ने रोगहरुको परिक्षण र पहिचान तथा उपचार तथा अन्य रोगहरुका बारेमा समेत जानकारी लिई स्वस्थ शहर निर्माणमा धुलिखेल नगरपालिकाले धेरै कार्य सकिसकेको संयोजक केसीले बताए । 
    कार्यक्रममा मुटु जोगाउँ काठमाडौका महासचिव शेरबहादुर रानाले संस्था मार्फत १ सय २५ वटा शिविर सम्पन्न गरेको बताए । २ लाख भन्दा धेरै नागरिकहरुको मुटु परिक्षण गरी १ हजार २ सय ७७ जना बालबालिकाहरुको मुटुको शल्यक्रिया गरिसकेको उनले बताए । देशभर सबै नागरिकहरुको मुटु स्वस्थ बनाउन विभिन्न संघ संस्थाको समन्वयमा शिविर तथा मुटु सम्वन्धि सचेतना कार्यक्रम संचालन गरिरहेको उनले बताए । सोहि अभियान अन्र्तगत मुटु परिक्षण गराउने र मुटु जोगाउन सचेतना संचालन गरिरहेको उनले बताए । कार्यक्रममा वडा अध्यक्ष गोविन्द उपाध्यायले वडाबासीहरुको चाहना अनुसार नागरिकहरुको स्वास्थ्य प्राथमिकतामा राख्दै नियमित रुपमा शिविरहरुको आयोजना गर्ने बताए । अन्य शिविरहरुको आयोजना सहज भए पनि मुटु सम्वन्धि कार्यक्रम कठिन भएकाले लामो समय देखि शिविर गर्ने चाहना हुँदा हुँदै पनि सम्भव हुन नसकेको उनले बताए । विकास निर्माण जस्तै स्वास्थ्य र अन्य क्षेत्रको विकास पनि सहज रुपमा गर्न सकिने उनले बताए । 
    कार्यक्रममा शारदा बतासे स्वास्थ्य संस्था संस्थाका इन्चार्ज बलराम पौडेलले १ हजार ४ सय नागरिकमा नियमित स्वास्थ्य परिक्षण गराएर उच्च रक्तचाप सम्बन्धि औषधी लिनेहरुको संख्या करिब १ सय रहेको बताए । नागरिकहरुलाई स्वस्थ राख्न नियमित समन्वय र सहकार्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको उनले बताए । कार्यक्रममा धुलिखेल नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख सरोज थापा, वडा सचिव इश्वर सापकोटा, वडा सदस्यहरु, विद्यालयका शिक्षक तथा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । करिब १ हजार भन्दा धेरैले सुगर लगायतका परिक्षण गराएका थिए । कार्यक्रममा वडा सदस्य अशोक शाहले स्वागत मन्तब्य राखेका थिए । शिविरमा विशेषज्ञ चिकित्सक सहितको सहभागिता रहेको छ ।