धुलिखेल/सञ्जिवनी नमुना माध्यमिक विद्यालय धुलिखेलले आफ्नै प्रयासमा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै कार्यक्रम शुरु गरेको छ । विद्यालयले शुरु गरेको उक्त कार्यक्रम प्रभावकारी भए सँगै आसपासका विद्यालयका विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रमको अवलोकनका लागि खवर गरिएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले बताए ।
‘शुरुमा हामी ४१ जना विद्यार्थीहरुलाई विभिन्न क्षेत्रको पाँच दिनसम्म तालिम प्रदान ग¥यौं । केहि विद्यार्थीहरु कक्षा उर्तिण पछि विद्यालय बाहिर गए पनि काम गरिरहेका छन् । ३१ जना विद्यार्थीहरु अहिले पनि कमाउँदै पढ्दै कार्यक्रममा सहभागि भएका छन्’– प्रधानाध्यापक लोकेन्द्र ढकालले भने – ‘विद्यार्थीहरु माछापालन, पोल्ट्रिफार्म, कृषि, सिलाई, बुनाई, अचार बनाउने लगायतका कार्यक्रमहरु संचालन गरिएको छ । विद्यार्थीहरुले विभिन्न प्रकारका सिपहरु सिकेका छन् । सिपलाई ब्यवहारीक रुपमा प्रयोग गर्दै आयआर्जन गर्न थालेका छन् ।’ सरकारले ल्याउने कार्यक्रम निरन्तर नहुने भए पनि विद्यालय आफैले शुरु गरेको कार्यक्रम दिगो हुने प्रधानाध्यापक ढकालले बताए ।
विद्यार्थीहरुले विदाको समयमा तथा विद्यालय छुट्टी भए पछि सिपमुलक कार्यक्रममा सहभागि हुने गरेका छन् । कक्षा १२ को विज्ञान विषय लिएर अध्ययन गर्ने जोईस पुर्काेटी, स्वस्तिका तिमल्सिना, तुल्सी श्रेष्ठ, स्मृति सापकोटा, सपना क्षेत्री, सुप्रिया कोईराला र कञ्चन पराजुलीले वातावरणमा भईरहेको प्रर्दुषण र त्यसले स्वास्थ्यमा पारिरहेको असर, त्यसको रोकथाम र नियन्त्रणका उपाय, मुटु तथा फोक्सोको अवस्थाका बारेमा सचित्र बयान गरेका छन् । विदाको समयमा जाली रुमाल बुनेका कक्षा ९ का सृजना चौलागाई र विनिता विश्वकर्माले ६ वटा विक्री गरी ६ सय रुपैया प्राप्त गरिसकेका छन् । प्रर्दशनीमा राखिएका रुमालहरु विक्री नहुँदै उनिहरु हौसिएका छन् । शिक्षक र साथीहरुले रुमाल खरिद गरी हौसला बढाईदिएकोमा उनिहरु दंग छन् ।
सकारात्मक सोचले ब्यक्तिका हरेक क्षेत्रको सफलता प्राप्त हुने निश्कर्ष सहित सुत्ने कोठा तथा घरका विभिन्न भित्ताहरुमा सजावटका सामाग्रीहरु कक्षा ९ मा अध्ययन गर्ने कसुम पाठक, अमिधा तिमल्सिना र सफलता श्रेष्ठले तयार गरेका छन् । उक्त सामाग्री कोठामा राख्नाले गहिरो निद्रा र राम्रो सपना देख्न सकिने विश्वास छ । उक्त सामाग्रीको १ सय ५० देखि २ सय ५० रुपैयासम्म मुल्य पर्नेछ । त्यस्तै कक्षा १० मा अध्ययन गर्ने तेन्जिङ वाङमो तामाङ र अंशु जोडरीले लिम्बु भाषाको सिलम साक्मा उपहार दिने गरी सामाग्री तयारी गरेका छन् । मनले खाएको नजिकका ब्यक्तिहरुलाई दिईने त्यस्ता उपहारले ब्यक्ति प्रतिको माया र सद्भाव बृद्धि गर्ने लिम्बु समुदायको विश्वास रहेको विद्यार्थीहरुले बताए । त्यस्तै पुजा गर्ने समयमा आवश्यक हुने रुमाल कक्षा ९ अध्ययन गर्ने महिमा श्रेष्ठ र प्रवेश सापकोटाले तयार गरेका छन् । ५ सय रुपैयासम्म मुल्य पर्ने उक्त रुमालको माग धेरै छ । विदाको समयमा बुन्ने र विक्री गर्ने गरी उक्त सामाग्री तयार गरिएको हो । उनिहरुले भगवानका विभिन्न स्वरुप भएका तथा बालबालिकाहरुका लागि आर्कषक चित्रकला समेत तयार गरेका छन् । त्यस्तै बालबालिकाहरुले घरमा उत्पादन भएका सामाग्रीहरुको अचार बनाएर विक्री गरेका छन् भने सिलाई सम्वन्धीका सामानहरु पनि विक्रीमा राखेका छन् । विद्यार्थीहरुलाई उपलब्ध गराएको छोटो अवधीको तालिमबाट पनि कमाउन सक्ने गरी सिकेकाले थप तालिम उपलब्ध गराउँदै अन्य विद्यार्थीहरुलाई पनि यो कार्यक्रममा सहभागि गराउने तर्फ विद्यालयले योजना बनाएको प्रधानाध्यापक ढकालले बताए । उत्पादन पछि कमाउँदै पढ्दै कार्यक्रम मार्फत प्रर्दशनीमा राखिएका सामाग्रीहरुको अवलोकनका लागि १८ वटा विद्यालयका शिक्षक र विद्यार्थीहरु सहभागि भएका छन् । विद्यार्थीहरुले आफुले उत्पादन गरेका सामाग्रीहरुलाई १८ वटा स्टल मार्फत प्रर्दशन गरेका थिए ।









